कुटपिटको विरोधमा सडक अवरुद्ध

खोटाङ, २४ वैशाख । छिमेकीमाथि कुटपिट भएको विरोधमा नुनथलाका बासिन्दाले दिक्तेल–जयरामघाट सडक अवरुद्ध गरेका छन् ।
उदयपुरको कटारीबाट दिक्तेलतर्फ आउने क्रममा नुनथला–४ का ३७ वर्षीय राम राईलाई अपरिचित व्यक्तिको समूहले खोटाङको अर्खौलेस्थित नागीमा रोकेर निर्घात कुटपिट गरेका विरोधमा स्थानीयवासीले सडक अवरुद्ध बनाएका हुन् । कुटपिटमा संलग्न समूहको पहिचान गरी कारबाही र क्षतिपूर्तिको माग गर्दै स्थानीयवासीले सडक बन्द गरिएको बताएका छन् । स्थानीयवासीले सोमबार बिहानदेखि आह्वान गरेको बन्दका कारण सदरमुकाम दिक्तेलबाट तराईतर्फ जाने यात्रु मारमा परेका छन् ।
बा २ ख ५४१८ नम्बरको यात्रुबाहक बसमा यात्रु लिएर सदरमुकाम दिक्तेल आउने क्रममा गाडी मालिकसमेत रहेका राईलाई आइतबार राति करिब १४ जनाको समूहले भाला, खुकुरी र लाठीसहित आक्रमण गरेको उनीहरूको भनाइ छ । कुटपिटबाट शरीरका विभिन्न भागमा चोट लागेका राईको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । कुटपिटमा संलग्न समूहलाई कारबाहीको माग गर्दै स्थानीयवासीले सोमबारै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

प्रतिक्रिया