पैसा छ भन्दैमा तडकभडक गर्दिनँ

DSCI0414मलाई महँगो सपिङ गर्ने रहर कहिल्यै भएन । सपिङका मामिलामा म आवश्यकता हेर्छु, विलासिता होइन । तर, मानिसहरू सोच्दा रहेछन्– ‘राणा परिवारकी मान्छे पक्कै महँगा सामान नै खरिद गर्छे, महँगा मलभन्दा बाहिर त सपिङै गर्दिन होला ।’ यसै आधारमा मैले किनेका सस्ता कुरालाई पनि मान्छे महँगो होला भनी सोच्दा रहेछन् । जवानीमा त मलाई देखावटी रूपमा राम्रा महँगा सामानको मोह जागेन । अब त के जागोस्, बुढेसकाल लागिसकेपछि । नपुग्दो केही छैन । तर, सरल जीवनशैली नै राम्रो लाग्छ किन हो ।
ठकुरीकी छोरी भए पनि माइतीदेखि नै बुबाआमाले सरल जीवन जिउन सिकाउनुभयो । त्यही सरलतामा अभ्यस्त हुँदै गएँ । थुप्रै विकसित मुलुकको भ्रमण गरेको छु । राम्राभन्दा राम्रा विलासी वस्तु किन्न पाइने ठाउँमा पुगेँ । तर, यस्ता विलासिताप्रति मेरो कहिल्यै आकर्षण बसेन । गोजीमा पैसा र हैसियत छ भन्दैमा अनावश्यक तडकभडक गरेर हिँड्नु जरुरी छैन ।
म सोखले भन्दा पनि आवश्यकताका हिसाबले सपिङ गर्छु । आफूले लगाउने कपडा र गहना शरीर सुहाउँदो होस् भन्नेमा ध्यान दिन्छु । चिटिक्क परेर हिँड्न मन लाग्छ । तर, यसका लागि महँगा सामान चाहिन्छन् भन्ने छैन । पहिलापहिला न्युरोड पुग्थेँ सपिङ गर्न, अहिले पाटनकै स्थानीय बजार पूर्ण छ । पहिलेभन्दा अहिले निकै सजिलो छ । जताततै सपिङ सेन्टर खुलेका छन् ।
अहिलेका मान्छे ५०–६० हजार पर्ने साडी लगाउँछन् । मैले लगाउने सबैभन्दा महँगो साडी भनेको जम्मा चौध हजारको हो । धेरै जडीजडाउ भद्दा साडी मन पर्दैन, आफँैलाई नसुहाएजस्तो लाग्छ । हेर्ने मान्छेको पनि आँखै तिरमिराउलाजस्तो । फेरि सधैँ एउटै साडी लगाइरहने कुरा पनि भएन । मसँगका कतिपय साडी बीसौँ वर्षअघि किनिएका छन्, तर अझै नयाँ नै लाग्छन् । मैले प्रयोग गर्ने अन्य सामान पनि सामान्य मूल्यका नै हुन्छन् । दुई सयदेखि बाह्र सय रुपियाँसम्मका जुत्ता लगाउँछु । घडी, मोबाइल, क्यामेरा पनि सस्तै छन्, चार–पाँच सय डलरसम्मका ।
एकादुई सामान युरोप वा अन्य विकसित मुलुकका होलान् । नत्र प्राय: सबै इन्डियन छन् । नेपालगन्ज गइरहने भएकाले भारतको रुपैडिहा पुगेर किन्छु । त्यहाँ राम्रो अनि सस्तो पाइन्छ । कुर्तासुरुवाल, धोती, साडी, जुत्ता त्यहीँ किन्छु । रुपैडिहामा सात–आठ सयमा किनेको साडी काठमाडौंमा फ्रेन्स सिफन भनेर बेचिने साडीभन्दा कमको हुँदैन । किनकि यहाँ फेन्स सिफनका ओरिजिनल साडी भेट्नै मुस्किल छ । नाम मात्रको डुप्लिकेटलाई महँगो हाल्नुभन्दा इन्डियन नै राम्रो हुन्छ । छोरी आरजुले पनि भारत जाँदा मलाई साडी ल्याइदिन्छिन् । युरोपतिरबाट फर्कंदा चाहिँ ब्यागलगायत । सपिङमा केही सोख छ भने त्यो लुगामै हो । पहिलापहिला नाइटड्रेस पनि चिटिक्क परेको किन्थेँ, लगाउँदा सजिलो हुने खालको । राति लगाउने त हो नि भनेर जस्तो पायो त्यस्तो किन्दिनथेँ ।
संविधानसभा सदस्य भएपछि बैठकमा जाँदा धेरैले सोध्थे– ‘आहा, कति राम्रो साडी, कहाँ किनेको, कति पर्‍यो ?’ म सहज जवाफ दिन्थेँ– ‘सात सयमा ।’ पत्याउँदैनथे । मनमनै भन्थे– ‘यो राणाले ढाँटी ।’ कतिचाहिँ आफूलाई पनि किनेर ल्याइदिन भन्थे । ल्याइदिएँ पनि । वास्तवमा मलाई महँगा कपडाको सोखै छैन । यत्ति हो, जे लगाउँछु मिलाएर लगाँछु । बीस रुपियाँको चुरा लगाएर हिँड्छु । सबै जना राम्रो छ भन्छन्, तर मूल्य बताउँदा विश्वासै गर्दैनन् । म ठाउँ, अवस्था र मौसमअनुसारका पहिरन मन पराउँछु । निर्वाचनमा गाउँ जादाँ धोती लगाउँछु । त्यहाँ सिफनको साडी लगाएर जानुको अर्थ हुँदैन ।
मलाई लाग्छ– नेपालीहरूको खर्च गर्ने तरिका ठीक छैन । कुन ठाउँमा कति खर्च गर्ने भन्ने व्यावहारिक ज्ञान हामीसँग छैन । म अर्थशास्त्रको विद्यार्थी हुँ । विद्यार्थीकालमा भारतीयहरूको जीवनशैली पढेकी थिएँ । एउटा भारतीयले आफ्नो कमाइका आधारमा योजना बनाएर खर्च गर्छ । त्यसैले उनीहरूको जीवनशैली हाम्रो भन्दा विकसित छ । तर, हामीमा आज कमाएको आजै, भोलि कमाएको भोलि सक्ने बानी परेको छ ।
कि त मान्छे सामान चिन्दैनन्, कहाँ के पाइन्छ भन्ने थाहा छैन । कि त मिलाएर लाउन जान्दैनन् । मैले पाटनमा २० रुपियाँमा किनेको चुरालाई मानिसहरू सय रुपियाँभन्दा बढीको अनुमान गर्छन् । म बुटिक त जाँदै जान्नँ । सुन्छु– अहिले बजारमा ४०–५० हजारका साडी त सामान्य रे † तर, म आफूचाहिँ सानसौकतका नाममा त्यस्ता महँगा कपडामा अनावश्यक खर्च गर्नतिर लाग्दिनँ । हुन त अहिले सपिङ पनि उति धेरै गर्दिनँ । पहिले किनेका सामानै धेरै छन् । उमेरका कारणले होला, उस्तो मोह पनि छैन । अलि महँगो हालेका साडी पार्टीहरूमा मात्र लगाउँछु । दैनिक प्रयोगका लागि त सामान्य नै हो । तर, यस्तो साडी पनि निकै सोचविचार गरेर किन्छु । डिसकलर नहुने, धागो नतानिने । यसका लागि ब्रान्डेड खोजिरहन पर्दैन । सामान्य पसलमा पाइने पनि राम्रो र टिकाउ हुन्छ । हिजोआज लोडसेडिङको समस्या भएकाले आइरन गर्नुनपर्ने साडीतिर ध्यान दिन्छु ।
हाम्रा लागि युरोप धेरै महँगो बजार हो । हङकङ, बैंकक, मलेसियाचाहिँ ठीकै छन्, हाम्रो खल्ती सुहाउँदो । त्यहाँ पुग्दा कोट, ब्याग किन्छु । तर, विकसित मुलुकमा बार्गेनिङ हुँदैन । भारतमा चाहिँ खुलेर बार्गेनिङ गर्न पाइन्छ । त्यहाँ सुरुमा जति भन्यो उति हाल्यो भने नराम्ररी ठगिइन्छ पनि । बजारअनुसार गर्नै पर्‍यो । नेपालमा उति धेरै बार्गेनिङ गर्दिनँ । अलि बढी सामान किनेको छ भनेचाहिँ अलिअलि घटाइदिन भन्छु । भारतीय बजारमा दिल्ली, कलकत्ता जाँदा केही महँगा सामान किनिन्छन्, बिहेपार्टीमा लगाउन मिल्ने साडीहरू । नत्र त रुपैडिहा छँदै छ ।
विदेश जाँदा ड्युटी फ्रीमा मोबाइलजस्ता इलेक्ट्रिकल सामान पनि किन्छु, कहिलेकाहीँ । तुलनात्मक रूपमा महँगो भए पनि राम्रा हुन्छन्– ल्यापटप, क्यामेरा, घडी, मोबाइल । हुन त विदेश सपिङका लागि भनेर गइँदैन । घुम्न वा कार्यक्रमका लागि जाने हो । कहाँ के पाइन्छ, खोज्दै हिँड्ने कुरो पनि भएन । मौका मिल्दा र आफूलाई उचित लाग्दासम्म किन्ने न हो । हिजोआज सपिङ गर्न सजिलोचाहिँ निकै भएको छ  । एउटै पसलमा छिर्‍यो, सबै थोक पाइन्छ । पहिला सामानैपिच्छेका अलगअलग पसल चहार्नुपथ्र्यो । काठमाडौंमै पनि भनेजस्ता ब्रान्डेड सामान पाइन्छन् ।
सपिङ एक्लै जान मन लाग्दैन । जिम्मेवारी धेरै छ, फुर्सद पनि हुँदैन । बजारमा यो आयो रे भनेको सुनेकै भरमा दौडिने कुरा पनि भएन । आवश्यकता हेर्ने हो । बजार जाँदा छोरीबुहारी साथमै हुन्छन् । वर्षौं भयो पतिसँग सपिङ नगएको त, युवा छँदा त निकै गइन्थ्यो । बजार गएर आफूलाई मात्रै किन्ने कुरा हुँदैन । परिवारमा आफूले हेर्नुपर्ने धेरै छन् । नातिनातिना, छोरीबुहारी सबैका लागि विचार गर्नुपर्छ । देशभित्र वा बाहिर जहाँबाट फर्कंदा पनि आफन्तलाई केही न केही उपहार ल्याउँछु । आफ्ना लागि पनि त छोरीबुहारीले ल्याइरहेका हुन्छन् नि †
करिब बीस वर्ष पहिला पतिसँग घुम्न निस्किएकी थिएँ । हिँड्दै जाँदा एउटा गहना साह्रै मन पर्‍यो । साथमा पैसा भएर पनि त्यो किन्न पाइनँ । सामानअनुसार मूल्य पनि ठिकै थियो । तर, उहाँले किन्न पर्दैन भन्नुभयो । त्यो गहना आज पनि सम्झन्छु । फेरि त्यस्तो गहना बजारमा भेटिनँ । टर्की जाँदा पनि त्यस्तै भयो । एउटा सामान साह्रै मन पर्‍यो । साथीहरूले भने– ‘अहिले के हतार ? भर्खर घुम्न आएका छौँ, घुमौँ न । पछि किनौँला ।’ होस् त भनेर घुम्नतिरै लागेँ । यता नेपालमा पार्टी फुट्यो । लौ भोट हाल्न आइज भनेर ताकेता गरे । कताको सामान किन्नु † दौडिएँ यतै । त्यो सामान किन्न नपाएकोमा साह्रै थकथक लाग्यो ।
हिजोआज बजार जाँदा धेरैले चिन्छन् । बार्गेनिङ गर्न थाल्यो भने पसलेहरू हाँस्दै भन्छन्– ‘म्याडम पनि बार्गेनिङ गर्ने †’ चिन्नेहरूले गर्ने व्यवहार आजसम्म राम्रै छ । चाडबाडमा आफन्तहरूकोमा राम्रै जमघट हुन्छ । तर, धेरैजसो पार्टीमा राजनीतिक बैठकहरूबाटै सीधै पुग्नुपर्ने हुन्छ । कताको सुटेडबुटेड हुनु भ्याउनु । बिहान जसरी हिँडियो, त्यस्तैमा पुगिन्छ । मलाई हेरेर कसैले अनौठो मान्दैनन् । ‘ऊ नेता आई’ भन्छन् । सबैलाई थाहा छ मेरो पेसा र परिस्थिति । सानो छँदा हामीलाई कुन लुगा कहाँ लगाउने भनेर सिकाइएको हुन्थ्यो । स्कुल ड्ेरस र घुम्न जाँदा लगाउने लुगा मिलाएर नलगाउँदा आमाले गाली गर्नुहुन्थ्यो । भन्नुहुन्थ्यो– ‘माल पाएर चाल नपाएको भनेको यही हो ।’ उतिबेला लाग्थ्यो– के भनेकी होलिन् यी बूढीले † अहिले बुझियो ।
घरायसी सामान मासिक रूपमा मगाउँछौँ । फ्रेस तरकारी भने कहिलेकाहीँ म आफँै किन्न जान्छु । पति र बुहारीले पनि ल्याउँछन् । हाइफाइ होइन, सरल जीवनै ठीक लाग्छ । कहिलेकाहीँ परिवारका सदस्य वा अन्य चिनजानका व्यक्तिले आफ्ना उत्पादनको सामान प्रदर्शनीमा बोलाउँछन् । केही किनिदिऊँ जस्तो लाग्छ । तर, त्यस्तो बेलामा चाहिँ अलि महँगोमै परिहाल्छु ।
प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया