कार्यान्वयन भएन शिक्षा कार्यालयको निर्देशन

राजविराज : जिल्ला शिक्षा कार्यालय सप्तरीले विना दर्ता सञ्चालनमा रहेका संस्थागत विद्यालयलाई कक्षा बन्द गर्न दिएका निर्देशनको बेवास्ता भएको छ । शिक्षा कार्यालयले सात दिनको समय तोकी १५ वैशाखमा निर्देशन जारी गरेको थियो । कार्यालयले अनुमतिविना सञ्चालनमा रहेका विद्यालय बन्द गर्न निर्देशन जारी गरे पनि त्यस्ता विद्यालय हालसम्म पनि सञ्चालनमा रहेको जनाइएको छ । कार्यालयले सार्वजनिक सूचनामार्फत समेत त्यस्ता विद्यालय तत्काल बन्द गर्न आह्वान गरेको थियो । सप्तरीमा पाँच दर्जनभन्दा बढी निजी विद्यालय अनुमतिविना सञ्चालनमा छन् । सदरमुकाम राजविराजलगायत जिल्लाका मुख्य बजार र राजमार्ग आसपासमा खुलेका यस्ता विद्यालयले विद्यार्थी र अभिभावकलाई ठगी रहेको तथा शैक्षिक गुणस्तरसमेत राम्रो नभएको जानकारहरू बताउँछन् । दर्ताविना सञ्चालनमा रहेका विद्यालयले करसमेत छली गरिरहेको उनीहरूको भनाइ छ ।
यता जिल्ला प्रशासन कार्यालय सप्तरीले दर्ताविना सञ्चालनमा रहेका पाँचवटा विद्यालयको नाम तोकेरै १६ वैशाखमा ती विद्यालय बन्द गर्न जिल्ला शिक्षा कार्यालय सप्तरीलाई लिखित निर्देशन दिइसकेको छ । कानुनी राज्यको खिल्ली उडाउँदै सञ्चालित ती विद्यालयको नाममा उजुरी परेपछि बन्द गर्न निर्देशन गरिएको जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत विष्णुरञ्जन बरालले जनकारी दिए ।

प्रतिक्रिया