अग्निपीडितलाई थप चिन्ता

राजविराज, २३ वैशाख । सप्तरीको एक नम्बर योगिनियामा शनिबार भएको भीषण आगलागीले गाउँ नै खरानी भएपछि पीडितहरूको पिरलो थपिएको छ । खेतबारीमा रहेको सम्पूर्ण अन्न थन्क्याइसकेपछि आगलागी हुँदा वर्षभरका लागि छुट्याइएको खाद्यन्न जलेर खरानी भएपछि उनीहरूको पिरलो बढेको हो ।
स्थानीय ज्वाला वनवरियाको घरबाट विद्युत् सर्ट भई शनिबार बिहान करिब २ बजे सुरु भएको आगलागीले उक्त गाविसका ६ र ७ वडाका ४६ परिवारका १ सय २७ घर जलेका थिए । घरमा भएका लत्ताकपडा, फर्निचरलगायत सामग्रीसँगै वर्षभर खान राखेको धान, गहँुलगायत खाद्यान्नसमेत जलेर खरानी भएको छ । पीडितका अनुसार मंसिरमा धान थन्क्याएका किसानले फागुनअन्तिम सातादेखि वैशाखको पहिलो हप्ताभित्र गहुँसमेत थन्क्याइसकेका थिए । अगलागीले घरसँगै सम्पूर्ण अन्नपात जलेर
नष्ट भएपछि परिवार कसरी पाल्ने चिन्ताले सताएको पीडितले बताए । ‘विभिन्न संघ–संस्थाले दिएको राहतले केही दिन त बाचाँैला,’ रमेश माझीले भने, ‘तर, राहत बन्द भएपछि छोराछोरी कसरी पाल्ने ।’ आगलागी पीडितलाई अहिलेभन्दा भविष्यको चिन्ताले सताएको माझीले बताए ।
आगलागीबाट सबैभन्दा बदी क्षती अन्नबाट भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ । आगलागीमा करिब डेढ करोड क्षति भएको छ । पीडितका लागि उपयुक्त राहत सामाग्रीसमेत उपलब्ध हुन नसकेको स्थानीयले बताएका छन् । जिल्ला प्रशासन कार्यालय, सेभ द चिल्ड्रेनलगायतका विभिन्न संस्थाले वितरण गरेको राहत सामाग्री पर्याप्त नभएको र त्रिपाल, झुललगायतका सामाग्री अभावमा सुत्नबस्न समेत समस्या भएको उनीहरूले गुनासो गरे । आगलागीमा डम्बर सहनोजिया, रमेश माझी, वीरेन मुखिया, महादेव मुखिया, महिनारायण गोइत, पप्पु गोइत, जीतेन्द्र गोइत, रामानन्द वहडखेर, छेदी माझी, हरिनारायण माझी, भूपेन्द्र वनवरिया, रामवालक वनवारीया, अधिकलाल वनवरीया, जयकृष्ण वनवरिया, रामेश्वर वनवरिया, वेचन वहडखेर, लक्षमण वहडखेर, विमलादेवी रान, नन्दु रान, नन्दु गोइत, देवीप्रसाद गोइतलगायतको एक सय २७ घर जलेर नष्ट भएका छन् भने २ सय २० व्यक्ति प्रभावित भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया