प्रथम राष्ट्रिय खुला कुङफु जेठमा

Kung-Fuकाठमाडौं, २२ वैशाख । प्रथम राष्ट्रिय खुला कुङफु प्रतियोगिता जेठमा हुने भएको छ । नेपाल कुङफु शाखा उत्तरी भेग बूढानीलकण्ठले आयोजना गर्न लागेको प्रतियोगिता जेठ २३ देखि २५ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा करिब ५ सय खेलाडी सहभागी हुने शनिबार आयोजित पत्रकार सम्मेलनमा नेपाल कुङफु संघका उपाध्यक्ष एवं आयोजना अध्यक्ष प्रकाश श्रेष्ठले बताए । प्रतियोगितामा पुरुष र महिलामा समान २३–२३ गरी ४६ स्वर्णका लागि प्रतिस्पर्धा हुने प्रशिक्षक सुकमान तामाङले बताए । पहिलो दिनको खेल बूढानीलकण्ठस्थित बालविकास बोर्डिङ स्कुलमा हुनेछ भने अन्य दुई दिनको खेल मिलन चोकमा हुनेछ ।
प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख रुपियाँ खर्च हुने श्रेष्ठले जानकारी गराए
। श्रेष्ठले चाँडै इन्डो–नेपाल मैत्री तेक्वान्दो प्रतियोगिता पनि आयोजना गर्ने बताए । सोही अवसरमा आयोजकले नयाँ वर्ष ०७० सालको उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम पनि आयोजना गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बलका अत्तिरिक्त महानिरीक्षक कृष्णकुमार तामाङले खेलकुद मुलुकको प्रतिष्ठा अभिवृद्धि गर्ने मुख्य माध्यम भएको बताए । आयोजकका अध्यक्ष श्रेष्ठले बूढानीलकण्ठलाई सिंगो देशमा खेलकुदको माध्यमबाट चिनाउन यो प्रतियोगिता महत्त्वपूर्ण सावित हुने विश्वास व्यक्त गरे । उनले
विगतमा पनि उत्तर भेगले विभिन्न खेलका प्रतियोगिता आयोजना गर्दै आइरहेको अवगत गराए ।
अखिल नेपाल खेलकुद संघका अध्यक्ष एवं नेपाल बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष अर्जुन केसीले प्रतियोगिता आयोजनाले खेलाडीलाई उत्साहित तुल्याउने बताए । बक्सिङ मुख्य प्रशिक्षक ओम मास्केले उत्तर भेगले खेलप्रति देखाएको रुचिको
प्रशंसा गर्दै अन्यले पनि यसको अनुसरण गरे खेलकुदको विकासमा अझ टेवा
पुग्ने विचार व्यक्त गरे । कार्यक्रममा नेपाल कुङफु संघका महासचिव राजेश्वरमान स्थापित, समाजसेवी अच्युतराज लामिछानेलगायत उपस्थित थिए ।

प्रतिक्रिया