पहिलो कमाइले कोठाभाडा तिरेँ

Tikaram-Bhattaraiपढाइ सिध्याएर वकिलको लाइसेन्स लिएपछि मनमा कौतूहल थियो– मेरो पहिलो बहस कस्तो होला ? अन्यायमा परेकालाई न्याय दिलाउन कत्तिको सफल होउँला ? यही उत्सुकताबीच ०४८ सालमा पहिलोचोटि वकालत गरेँ । काठमाडौं जिल्ला अदालतमा । टोखाका बुद्धिनारायण डंगोलका दाजुभाइबीचको अंशमुद्दा थियो । त्यो पहिलो मुद्दा हात पार्न मलाई उति गाह्रा भएको थिएन । सिनियर अधिवक्ता अग्नि खरेलको ल फर्ममा प्राक्टिस गर्थें । उहाँहरूले त्यो मुद्दामा बहस गर्न भन्नुभयो । पहिलो प्रयास, यसै पनि चुनौतीमूलक नै हुन्छ । अंशमुद्दा धेरै अध्ययन गर्नुपर्ने विषय होइन । तर, सजगताका लागि चारपाँच दिन अध्ययन गरेँ । पहिलो बहस राम्रो गरेर देखाउनु थियो ।
अदालत छिर्नुपूर्व लागेको थियो– कस्तो रहला मेरा प्रस्तुति ? श्रीमान् (न्यायाधीश) ले कस्ता प्रश्न सोध्नुहोला ? आफ्नो पक्षले जित्ला कि हार्ला ? जे होस् भित्र छिरेँ अनि आधा घन्टा बहस गरेँ । कलेज पढ्दा राजनीतिमा सक्रिय थिएँ । मासमा भाषण गर्ने बानी परेकाले त्यहाँ पनि खासै गाह्रो भएन । मैले तर्कमाथि तर्क प्रस्तुत गरिरहेपछि श्रीमान् आफैँले भन्नुभयो, ‘ल तपाईंको कुरा सुनियो, अब अर्को पक्षको कुरा सुनौँ ।’ मलाई अझै धेरै बहस गर्न मन थियो । बोल्दै जाँदा आत्मविश्वास बढेको थियो– पक्कै जितिन्छ । तयारी राम्रो गरेको थिएँ । श्रीमान्ले सोधेका सबै प्रश्नको उचित जवाफ दिएँ । पहिलो मुद्दा जितेपछि आत्मविश्वास बढ्यो । सोचँे– राम्रो बहस गर्न सक्ने भएछु । पहिलो मुद्दा जितेको भोलिपल्टै सर्वोच्चमा अर्को बहस गर्न पठाउनुभयो । सहजै गरेँ । फैसला हुने मुद्दा थिएन त्यो । पहिलो बहसबाट रू. ११ सय फिस लिएँ । त्यतिबेला त्यो राम्रो रकम थियो । पहिलो कमाइ हात पर्दा दंग थिएँ । त्यसले कोठाभाडा तिरेँ ।
वकालती पेसामा अन्यायमा परेकालाई न्याय दिन पाउँदा असीम आत्मसन्तुष्टि हुन्छ । विशिष्ट व्यक्तिहरूको मुद्दामा बहस गर्न पाउँदाको आनन्द अझ अर्कै । अहिले त मैले वकालती जीवन सुरु गरेकै २२ वर्ष भइसकेछ । यो अवधिमा मुलुकका थुप्रै विशिष्ट व्यक्तिहरूको पनि मुद्दा हेर्ने अवसर पाएको छु । कुनै बेला राष्ट्रपतिको वकिल भएर वकालत गरेँ । पूर्वप्रधानसेनापति रुक्मांगत कटवाल, पूर्वप्रहरीप्रमुखहरू अच्युतकृष्ण खरेल, धु्रवबहादुर प्रधान, पूर्वप्रधानमन्त्री माधव नेपालजस्ता उच्च पदस्थ व्यक्तिहरूको मुद्दा पनि हेरेँ । मुलुकका ठूला पार्टीका प्रमुखहरूको कानुनी सल्लाहकारका रूपमा काम गरेँ । आफ्नो उमेर, व्यवसायी पृष्ठभूमि र अनुभवका तुलनामा मैले जस्ता केस पाएँ, त्यो अवसर कमैले पाउँछन् । आफैँले आफ्नो मूल्यांकन गर्नुपर्दा औसत क्षमताको वकिल लाग्छु । मेरो वकालत पैसासँग होइन, मुख्यत: न्यायसँग सम्बन्धित हुन्छ । यसबीच केही यस्ता मुद्दामा पनि बहस गरेँ, गौरव लाग्छ । मुलुकको संवैधानिक र राजनीतिक अभ्यासका महत्त्वपूर्ण मुद्दामा बहस गर्ने अवसर पाएको छु ।
कानुनी अनुसन्धानका क्रममा पीडितले भनेका सबै कुरा सार्वजनिक गर्नुपर्छ भन्ने हुँदैन । हाम्रो पनि आचारसंहिता हुन्छ । अध्ययनका सिलसिलामा उनीहरूका गुह्यभन्दा गुह्य कुरा पनि थाहा पाइन्छन्, ती सबै बहसका क्रममा भनिन्छन् भन्ने छैन । मुद्दाको प्रकृति हेरेर आवश्यकताअनुसार ती कुरा अभिव्यक्त गरिन्छन्, अनावश्यक कुरा गोप्य नै राखिन्छन् । हुन त हामीले अदालतमा बहस गरेको विषयलाई लिएर कसैले उजुरी गर्न पाउँदैन ।
पहिलोपटक कालो कोट लगाएर अदालत छिर्दा आफूमा जिम्मेवारी बढेको अनुभूति भएको थियो । हुन त हरेक सिकारु वकिललाई यस्तै लाग्छ– राम्ररी बहस गर्न सक्छु वा सक्दिनँ, मेरो बहसले आफ्नो पक्ष सन्तुष्ट होला कि नहोला ? चाहे मुद्दा किन नहारियोस्, आफ्नो बहसले आफ्नो पक्ष सन्तुष्ट भयो भने त्यही नै वकिलको सबैभन्दा ठूलो आत्मसन्तुष्टि हुँदो रहेछ । मुद्दा हार्दा पनि पक्षले आफ्नो बहसको प्रशंसा गरिदिँदा आनन्द लाग्छ ।
सरकारले रुक्मांगद कटवाललाई हटाएर कुलबहादुर खड्कालाई सेनापति बनायो । त्यो मुद्दामा राष्ट्रपतिका तर्फबाट बहस गरेँ, जसबाट राज्यका थुप्रै आन्तरिक कुरा थाहा पाएँ । माधव नेपाल प्रधानमन्त्री छँदा भएको संवैधानिक परिषद्को एउटा निर्णयविरुद्ध पुष्पकमल दाहालले मुद्दा हाले । त्यो केसमा माधवको पक्षमा वकालत गर्दा थाहा पाएँ– संवैधानिक परिषद्मा कस्ताकस्ता विषयमा कसरी निर्णय हुँदो रहेछ ।
थुप्रै केस सित्तैमा पनि लडेको छु । अन्यायमा परेकालाई न्याय दिलाउन पाउँदा खुसी लाग्छ । कतिपय न्यायाधीशले केस राम्ररी नबुझी वा अरू विविध पक्षबाट प्रभावित भएर फैसला गरिदिँदा कहिलेकाहीँ जित्नुपर्ने केस पनि हारिन्छ । त्यस्तो बेला साह्रै दु:ख लाग्छ । अहिले त अभ्यस्त भइसकियो । तर, सुरुसुरुमा आफूले बहस गरेका कतिपय केस हार्दा पीडित पक्षलाई भन्दा बढी पीडा आफूलाई हुन्थ्यो ।
– चमिना

प्रतिक्रिया