क्रेजी फ्यान सुधीर बिहेभन्दा सचिन प्यारो

indianक्रिकेट दुनियाँका महान् हस्ती सचिन तेन्दुलकरले केही दिनअघि आफ्नो ४०औँ जन्मदिन मनाए । भारत तथा बाहिरी देशमा गरी उनका लाखौँ फ्यान छन्, जो उनलाई एक झलक हेर्नकै लागि घन्टौँ प्रतीक्षा गर्नुपर्दा पनि दिक्क मान्दैनन् ।
तिनैमध्ये एक फ्यान यस्ता पनि छन्, जसलाई सचिन आफैँ भीडबाट आफूसँग भेट्न बोलाउँछन् । उनलाई म्याचको टिकट उपलब्ध गराइदिन्छन् । यतिसम्म कि जब सन् २०११ मा भारतले विश्वकप जित्यो, सचिनले उनलाई बोलाए अनि वल्र्डकप उनको हातमा थमाइदिए । ती फ्यानको नाम हो– सुधीरकुमार गौतम ।
सचिनका यी ‘सुपरफ्यान’ भारतका हरेक ठूला क्रिकेटम्याचका दौरान प्राय: टिभी स्क्रिनमा देखिइरहेकै हुन्छन् । जहाँ उनी मुहारमा भारतको झन्डा पोतेर अनि छातीमा तेन्दुलकरको नाम र १० अंक लेखेर उत्साह जगाइरहेका हुन्छन् । म्याच मुम्बईमा होस् वा कोलकातामा, विहारनिवासी सुधीर साइकलमार्फत लामो यात्रा तय गर्दै त्यहाँ पुगिहाल्छन् । पाकिस्तान तथा बंगलादेशसम्म पनि उनी साइकलमै भारतको म्याच हेर्न पुग्छन् । सचिन तथा भारतीय क्रिकेटप्रति उनको समर्पण यति गहिरो छ कि उनले आजीवन बिहे नगर्ने फैसला गरेका छन् । ‘बिहेपछि म अरू जिम्मेवारीमा फसेर सचिन र क्रिकेटलाई बिर्सने पो हँु कि ? बरु बिहे नै गर्दिनँ’, दृढता सुनाउँछन् ।
सचिनसँग पहिलोचोटि प्रत्यक्ष भेट हुँदाको साल र तारिख उनलाई आज पनि कण्ठै छ । भन्छन्, ‘त्यो २८ अक्टोबर २००३ को दिन थियो । सचिन त्यो साँझ कुनै पार्टीका लागि एक होटलमा आफ्नी पत्नीसाथ आएका थिए । यो खबर पहिल्यै थाहा पाएकाले म साइकल हुइँक्याएर मुम्बई आइपुगिसकेको थिएँ । जब सचिन होटल प्रवेश गरेको हल्ला चल्न थाल्यो, म साइकल त्यहीँ छोडेर उनको खुट्टामा लम्पसार परेँ । तब उनले मलाई आफ्नो घरमा आउने निम्तो दिए । दोस्रो भेट उनकै घरमा भयो ।’
सचिनको जन्मदिनको मौकामा सुधीर पनि कोलकाता नै आइपुगेका थिए, जहाँ सचिन आइपिएल म्याच खेलिरहका थिए । सो क्रममा सुधीरले बताए, ‘सचिनले जारी आइपिएलमा एउटा शतक ठोकेर यो उत्सव मनाऊन् ।’ सचिन आइपिएल टिम मुम्बई इन्डियन्सको क्याप्टेनका रूपमा आफ्नो टोलीलाई आइपिएल कप दिलाउने रणनीति बुनिरहेका छन् । सचिनसँग जोडिएको कुनचाहिँ पल सुधीरका लागि सबैभन्दा बढी स्मरणीय छ त ? गर्वसाथ भन्छन्– ‘विश्वकप जित्नु सचिनको सपना थियो, मैले पनि त्यो म्याच हेरेँ । बंगलादेशमा भएको त्यो म्याच हेर्न म साइकलमै पुग्थेँ । फर्कंदा गांगुलीजीको घरमा साइकल राखेर भारतका अरू सहरमा पुग्थेँ । जब भारतले वल्र्डकप जित्यो, सचिनले मलाई आफ्नो ड्रेसिङ रुममा बोलाए । योभन्दा ठूलो सौभाग्य अरू के हुन सक्छ ? क्रिकेटका यी भगवान्ले मलाई वल्र्डकप उचाल्न दिए अनि आफूले ताली बजाए †’
महँगा सहरमा बसेर हप्तौँ म्याच हेर्दा खर्चपानीको जोहोचाहिँ कसरी गर्दा हुन् सुधीर ? भन्छन्– ‘म्याचको टिकट त सचिनबाट मिलिहाल्छ । यसबाहेक अरू कुरामा पनि मैले कुनै अभावको स्थिति सामना गर्नुपरेको छैन । चाहे त्यो भारत होस्, ढाका होस् वा लाहोर । हरेक ठाउँमा मलाई चिन्ने मान्छेले आफ्नोमा बस्न दिन्छन् । साइकलमा पाकिस्तान पुग्दा त्यहाँका ‘क्रिकेट काका’ कहाँ बस्थँे । ती काकासँग मेरो क्रिकेट क्रेजकै कारण चिनजान भएको थियो । खानपिनको व्यवस्था पनि तिनै मलाई चाहनेहरूले नै गरिदिन्छन् ।’ जतिखेर भारतको म्याच हुँदैन, त्यो महिना भने उनी केही न केही काम गर्छन्, ताकि खर्चपानीका लागि केही पैसा कमाउन सकून् । ‘साइकलमा यात्रा गर्दा जब रात पर्छ, कुनै पुलिस स्टेसनमा पुगेर सुत्छु । आफू सचिनको फ्यान भएको र उनीसँग जोडिएका रमाइला किस्सा सुनाउँदा पुलिस पनि दंग पर्छन् । उनीहरू मलाई सजिलै बस्न दिन्छन्’, सुधीर भन्छन् ।
सुधीर पहिले जागिर खान्थे तर सचिन अनि क्रिकेटकै खातिर उनले त्यो जागिर छोडिदिए । उनी विहारमा शिक्षक थिए । जब पाकिस्तान गएर म्याच हेर्नका लागि छुट्टी माग्दा स्कुलले अस्वीकार गरिदियो, उनले राजीनामै दिए ।
हालसम्म उनले २०४ वटा वानडे, ४० वटा टेस्ट, १७ वटा ट्वेन्टी–२० र आइपिएलका ४३ वटा म्याच हेरिसकेका छन् । सुधीर यसरी क्रिकेटमै लग्गू हुनु अनि बिहे नगरी बस्नुलाई उनका परिवारचाहिँ कसरी लिँदा हुन्् त ? सुधीर केही हिचकिचाए जसरी सुनाउँछन्, ‘घर त म यसै पनि कम जान्छु, उनीहरू मेरो व्यवहारप्रति दु:खी छन् । तर, म बिहेतिर सोच्न पनि सक्दिनँ ।’
सुधीरका अनुसार सचिनसँग आफ्नो नाम जोडिन थालेपछि उनलाई एउटा विशेषखाले जिम्मेवारी थपिएको अनुभूति हुन थालेको छ । नि:सन्देह सुधीर पहिले रेलमा बिनाटिकट पनि यात्रा गर्थे । तर, अहिले उनलाई लाग्न थालेको छ कि आफूसँग सचिनको नाम जोडिएको छ र उनले अब त्यसो गर्न हुँदैन । सचिनको आलोचना गर्ने व्यक्तिहरूसँग उनी पहिले झगडा गर्न तम्सिन्थे तर अहिले यस्ता झिनामसिना कुरालाई नजरअन्दाज गर्नु नै ठीक देख्न थालेका छन् । ‘सचिन यसै पनि यस्ता आलोचनाहरूभन्दा धेरै माथि छन्, चिन्ता लिने कामै छैन,’ उनलाई यस्तै लाग्छ ।
सुधीरका हिजोआजका दिन सचिनको ध्यान गर्दै उनकै वरिपरि घुमिरहेको छ । उनको जिन्दगीका हरेक बहाना सचिनमै पुगेर रोकिन्छन् । तर, एक दिन यस्तो पनि आउनेछ, सचिनले सबैखाले क्रिकेटबाट संन्यास लिएका हुनेछन् । त्यति बेला सुधीरको जिन्दगीको उद्देश्य के होला ? के उनी घर फर्किएर गृहस्थी जीवन सुरु गर्लान् ? ‘अँहँ गर्दिनँ,’ उनी दृढ आवाजमा सुनाउँछन्, ‘सचिनले संन्यास लिँदा पनि मलाई केही फरक पर्दैन, म सधैँ उनको समर्थन गरिरहनेछु । आज म छातीमा तेन्दुलकर र ढाडमा १० अंक लेखेर आइरहेको छु । पछि ‘मिस यु तेन्दुलकर’ लेखेर आउनेछु । जसरी पनि तेन्दुलकरको नाम आफूबाट अलग बनाउँदिनँ ।’ सुधीरको सचिनप्रतिको यो अगाध प्रेमभित्र एउटा दृढनिश्चय पनि छ– उनी सचिनबाट केवल म्याचको टिकट मात्रै लिनेछन्, पैसा र अन्य आर्थिक लाभ कहिल्यै लिने छैनन् ।
(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया