डेटोनेटर खेलाउँदा विस्फोट भएर बालकको मृत्यु

धनगढी, २२ वैशाख । बैतडीमा घरमा राखेको डेटोनेटरलाई खेलौना सम्झेर चलाउँदा विस्फोट भई एक बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
बासुलिङ–२ ग्वानीका किसन विस्टका ११ वर्षीय छोरा ईश्वरले शनिबार साँझ ६ बजेतिर घरमा राखेको डेटोनेटर ल्याएर घरनजिकैको बाटोमा सलाईले जलाउँदा विस्फोटन भई ईश्वरको मृत्यु भएको हो । बैतडी प्रहरीका अनुसार विस्फोटमा परी सोही ठाउँका जयबहादुर विस्टका ६ वर्षीय छोरा दीपक घाइते भएका छन् । दीपकको बैतडी जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
ईश्वरका बुबा किसन भारतमा सडक खन्ने काम गर्ने र उनले त्यहीबाट डेटोनेटर ल्याएर घरमा राखेको र ईश्वरले खेलौना ठानी सलाई कोरेर खेल्ने क्रममा विस्फोट भई मृत्यु हुन पुगेको बैतडी प्रहरी प्रमुख डिएसपी कमलप्रसाद खरेलले बताए । विस्फोटको खबर सुन्नासाथ घटनास्थलतर्फ प्रहरी निरीक्षक मनोज शाहीको नेतृत्वमा एक प्रहरी टोली खटाइएको डिएसपी खरेलले जानकरी दिए ।

प्रतिक्रिया