स्ववियु चुनाव २३ जेठमा

TUकाठमाडौ, २२ वैशाख । त्रिभुवन विद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको नयाँ मिति तोकेको छ । त्रिवि कार्यकारी परिषद्को शनिबार बसेको बैठकले १३ जेठमा हुने भनिएको स्ववियु चुनाव १० दिन पर सारेर २३  जेठमा गराउने निर्णय गरेको हो ।
सर्वोच्च अदालतले हालै त्रिविले स्ववियु चुनावसम्बन्धी कानुन बनाई कार्यान्वयन गर्नसक्ने भन्दै त्रिविको पक्षमा फैसला गरेपछि नयाँ मिति निर्धारण गरिएको हो । नयाँ मिति तोकेसँगै चार वर्षदेखि हुन नसकेको स्ववियु चुनाव अब पक्का भएको छ ।
त्रिविका रेक्टर गुणनिधि न्यौपानेले विद्यार्थी संगठनको सहमतिमा २३ जेठका लागि चुनावको नयाँ मिति तोकिएको जानकारी गराएका छन् । यसअघि २३ चैतमा बसेको त्रिवि सभाले स्ववियु नियमावली संशोधन गरी १३ जेठमा चुनाव गराउने तयारी गरेको थियो । सर्वोच्चले चुनावका लागि कानुनी बाटोसमेत खोलिदिएकाले विद्यार्थी संगठनको सहमतिमै नयाँ मिति तोकिएको रेक्टर न्यौपानले बताए । सर्वोच्चले शुक्रबार त्रिविको पक्षमा फैसला गर्दै चुनावसम्बन्धी अन्तरिम आदेश दिएको थिएन । चुनावको समयमा लोकसेवा आयोग र शिक्षक सेवा आयोगको परीक्षा परेका कारण पनि विद्यार्थी संगठनको आग्रहमा त्रिविले नयाँ मिति घोषणा गरेको हो ।
त्रिवि विद्यार्थी कल्याण शाखा प्रमुख गंगाबहादुर थापाले चुनावको समयमा विभिन्न परीक्षा भएकाले नयाँ मिति घोषणा गरिएको बताए । ‘चुनाव समयमा परीक्षा परेकाले विद्यार्थीले मिति सार्न आग्रह गरेका थिए,’ थापाले भने, ‘सर्वोच्चबाट पनि चुनावका लागि कानुनी बाटो खुला भयो । अनि नयाँ मिति घोषणा गरिएको हो ।’
त्रिविले यसअघि नै नयाँ मिति तोक्ने तयारी गरे पनि सर्वोच्चमा रिट परेका कारण सम्भव भएको थिएन । नेपाल ल क्याम्पसका स्ववियु सभापति गुणराज आचार्य, पद्मकन्या क्याम्पसकी स्ववियु सभापति लालकुमारी पोखरेललगायत ११ सभापतिले नियमावली संशोधनप्रति असन्तुष्टि जनाउँदै  उमेरको हदबन्दी र चुनाव प्रणाली खारेजीको माग
गर्दै सर्वोच्चमा रिट हालेका थिए । त्यस्तै, चुनावको समयमा परीक्षा परेकाले विद्यार्थी संगठनले ९ वैशाखमा त्रिविलाई चुनाव सार्न आग्रह गरेका थिए । शिक्षक सेवा आयोगको ९ जेठदेखि र लोक सेवा आयोगको १३ जेठदेखि लगातार तीन दिन परीक्षा हुने भएपछि  विद्यार्थी संगठनले नयाँ मिति घोषणा गर्न आग्रह गरेका थिए ।
अनेरास्ववियुका संयोजक माधव ढुंगेलले चुनावताका लोकसेवा र शिक्षक सेवा आयोगको परीक्षामा धेरै विद्यार्थी सहभागी हुने भएकाले सहमतिमै चुनाव सारिएको जानकारी गराए । ‘धेरैजसो विद्यार्थी दुवै आयोगको परीक्षामा व्यस्त हुने भएकाले चुनावमा उनीहरूको सहभागिता नहुने देखियो,’ ढुंगेलले भने, ‘त्यसैले विद्यार्थीलाई चुनावमा सहभागी गराउन चुनाव सारिएको हो ।’
अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले नयाँ मिति घोषणासँगै अब विद्यार्थी संगठनहरू चुनावमा लागेको बताए । त्रिवि केन्द्रीय क्याम्पसका स्ववियु सभापतिसमेत रहेका शर्माका अनुसार त्रिविका आंगिक क्याम्पस ६० र सम्बन्धनप्राप्त आठ सय ९२ तथा नेपाल संस्कृत विश्वविद्यालयका आंगिक १४ र सम्बन्धनप्राप्त १२ क्याम्पसमा एकैदिन चुनाव हुनेछ ।
स्ववियुको संशोधित नियमावलीअनुसार चुनाव मिश्रित प्रणालीमा हुनेछ । जसअनुसार अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५० प्रतिशत सदस्य प्रत्यक्ष तथा उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिकबाट चयन हुने भएका छन् । उपाध्यक्ष र सहसचिवलाई कार्यसमितिले चयन गर्नेछ भने निर्वाचित पदाधिकारीको पदावधि सैद्धान्तिक परीक्षासँगै समाप्त हुनेछ ।
गर्मी बिदा सर्‍यो
त्रिविले २३ जेठमा चुनाव तोकेपछि गर्मीबिदा पनि सरेको छ । परिषद्ले १५ जेठदेखि हुने गर्मीबिदालाई १ असारदेखि दिने निर्णय गरेको छ । एक/दुई दिनभित्र नै चुनावको तालिका सार्वजनिक गरिने त्रिविले जनाएको छ । त्रिविका रेक्टर न्यौपानेको संयोजकत्वमा २५ सदस्यीय केन्द्रीय स्ववियु चुनाव समन्वयन एव निरीक्षण समिती गठनसमेत गरिएको छ । समितिले आइतबार नै बैठक बसी स्ववियु निर्वाचनसम्बन्धि निर्देशिका र तालिका बनाउने समितिका सदस्यसचिव थापाले जानकारी गराए । ‘भोलि (आइतबार) नै बैठक बसी निर्देशिका र चुनावको तालिका सार्वजनिक गर्छौं । त्यही अनुसार क्याम्पसहरूलाई पनि सर्कुलर गर्छौं,’ थापाले भने ।

प्रतिक्रिया