धर्मगुरुको गाउँ

sachit-rai-copyमन्दिरै–मन्दिरको सहर काठमाडौं । यसलाई विश्लेषण गरेर भन्ने हो भने विद्यालयभन्दा मन्दिर धेरै भएको देशका नागरिक तपाईं–हामी † ‘धर्मगुरुको गाउँ’ भन्ने सुन्दा/पढ्दा पक्कै अनौठो नलाग्ला । इलाम र पाँचथर जिल्लाको सीमावर्ती रविदेखि माङ्मालुङ हुँदै लारुम्बा (माङ्सेबुङ) क्षेत्र ‘धर्मगुरुको गाउँ’का रूपमा चिनिन थालेको उहिलेदेखि नै हो । यसो भनौँ कि ‘धर्मगुरुको गाउँ’ यस क्षेत्रको बदलिँदो परिचय हो । ‘शाकाहारी गाउँ’ पनि भन्ने सुनिएको छ । त्यही परिचयलाई यस लेखमा थोरै ‘केलाउन’ मात्र खोजिएको छ । निफन्ने काम त छँदै छ ।
‘धर्मगुरुको गाउँ’, ‘उदाहरणीय बनेका रविका सन्त राईहरू’, ‘माङ्मालुङको धार्मिक पर्यटन’लगायत समाचार सामग्री पनि प्रकाशनमा ल्याएको थिएँ । त्यतिले मात्रै कहाँ चित्तबुझ्दो रहेछ र † त्यहीमाथि आफू जन्मेको गाउँठाउँ न पर्‍यो । थारै भए पनि विषयगत अध्ययन नगरी त चित्तै नबुझ्ने । हुन त गाग्रामा पानी आधा भयो भने बोक्दा छचल्किन्छ । त्यही आधा पनि नपुग्ला मभित्र ‘विषयगत पानी’ तर तपाईंलाई पानीको प्यास मेटाउन भने बाटो खुला । त्यसो हो भने अब तपाईंलाई लाग्ला, ‘यो क्षेत्रलाई धर्मगुरुको गाउँ नै किन भन्ने ?’
नामकरणको सन्दर्भ
राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द, अहिंसोपासक गुरु महाप्रभु ज्योतिनन्दको जन्मभूमि मात्र होइन, यो क्षेत्र उनीहरूको तपस्यास्थल पनि हो । महागुरु फाल्गुनन्दको जन्मस्थान इलामको इभाङ–५ चुक्चिनाम्बा हो भने इभाङ गाविसकै वडा नम्बर ४ पावा महाप्रभु ज्योतिनन्दको जन्मस्थान हो । महागुरु र महाप्रभुले तपस्या गरेको स्थल माङ्मालुङ हो भने माङ्मालुङको उत्खनन कार्यचाहिँ ज्योतिनन्दले गरेका थिए । ज्योतिनन्दकै पालादेखि (करिब साढे तीन दशकयता) माङ्मालुङमा उँधौली र उँभौली गरी वर्षमा दुईपटक धार्मिक मेला लाग्दै आएको छ । यसको उत्पत्ति तीन सय वर्षअघि भएको हुनसक्ने अनुमान गरिएको छ ।
फाल्गुनन्द र ज्योतिनन्दपछि किरात धर्मगुरु आत्मनन्द लिङ्देन, सचितानन्द, ओमनन्द (गड एन्जल), बलिभक्तलगायत गुरुले यस क्षेत्रमा आफ्नो अनुयायीका साथ उपस्थिति दर्ज गराएका छन् । यी गुरुले पनि माङ्मालुङमा तपस्या गरेको पाइन्छ । त्यसका साथै रवि क्षेत्रमा प्रभुदासी (विश्व शान्ति एकता परिवार)का नामबाट पनि धर्म प्रचार भएको छ । यसतर्फका धर्मावलम्बीको पनि उपस्थिति यस क्षेत्रमा छ । यीलगायत अन्य ससाना समूहमा पनि गुरुहरूको उदय हुने र त्यससँगै भक्तजन थपिने क्रम अझै उस्तै पाइन्छ ।
त्यसैगरी, यस क्षेत्रमा जोसमनी सम्प्रदायका धर्मावलम्बीको बाहुल्य छ । जोसमनी धर्मावलम्बीलाई स्थानीय तहमा मार्गदर्शन गराउने ‘पञ्जागुरु’हरू उल्लेख्य मात्रामा छन् । साँझ–बिहान धार्मिक नित्यकर्म गर्नु उनीहरूको दैनिकीमा पर्छ । यसो भन्दैमा यस क्षेत्रमा साधुहरू मात्र होलान् भन्ने कल्पनाचाहिँ नगर्नुस् ।
जोसमनी सम्प्रदायको प्रभाव
पाँचथरको दक्षिणी क्षेत्र रविमा पहिलोपटक नारायण दासले जोसमनी धर्म (सम्प्रदाय)को प्रचार गरेका थिए । पाँचथरको इमसावाका नरवीर राई ‘नारायण दास’ बनेर रविको हिकुनाम्बास्थित चिहानघारीमा आएर बसेपछि जोसमनी पन्थको प्रचार भएको हो । खासगरी राई समाज जोसमनी सन्त परम्परा अँगाल्नेमा अगाडि देखिन्छ । ‘जाँडरक्सी र मासुमंसविना कुलपितृ नचल्ने’ भनिएको अवस्थामा राई समाजका धेरैले जोसमनीमा लागेर ‘सात्विक बाटो’ अँगालेका हुन् । नारायणदासपछि रवि हुँदै इलामको पश्चिमी भेग बाँझो, इभाङ, सागफारालगायत क्षेत्रमा यो धर्म विस्तार भएको पाइन्छ ।
१८१५ सालमा रेसुंगामा जोसमनी मतको कल्पना गरेका शशिधरले पृथ्वीनारायण शाहसँग सम्पर्क भएपछि प्रचारमा टेवा पुग्ने देखेर १८२० तिर यसको स्थापना गरेका थिए । वल्लो र माँझ किरातबाट पूर्वतर्फ विस्तार हुँदै यस क्षेत्रका राईहरूले पनि त्यही धर्मको अनुसरण गरेका हुन् ।
वैरागी काइँलाले एक लेखमा उल्लेख गरेका छन्– ‘प्रारम्भमा जोसमनी मतमा लाग्ने सन्तहरू ब्राह्मणकुलका देखिए पनि निरषदिलले अडेसदिललाई दीक्षित गराएपछि राई जातिभित्र यो मत लोकप्रिय हुन पुग्यो ।’ उनले त्यही लेखमा ‘विजित राज्यका मानिसको पराजित मनस्थितिबाट पलायन तथा मुक्तिका लागि उत्तम मार्ग जोसमनी धर्म भएको हुनसक्ने’ तर्क गरेका छन् । सुगौली सन्धिपछि खस नेपाली साहित्य भक्ति धारामा प्रवेश गरेको इतिहासले यो तर्क बलियो मान्न सकिन्छ । यद्यपि, यही तर्कलाई मात्र आधार मानेर विश्लेषण गरिनु न्यायसंगत भने नहुन सक्छ । किनकि, राज्यसत्ताले नै ‘एक भाषा, एक भेष’को नीतिअनुसार आदिवासी जनजातिका भाषिक, धार्मिक तथा सांस्कृतिक पक्षलाई नामेट पार्न पनि यस्तो रणनीति अपनाएको पनि हुनसक्छ । यो खोजीकै विषय हो ।
पाँचथरको लालीखर्कमा जन्मिएर रवि क्षेत्रमा लामो समय बिताएका डा. स्वामी प्रपन्नाचार्यले महागुरु फाल्गुनन्दसमेत जोसमनी भएको तर्क गरेका छन् । बर्मा पल्टनमा रहँदा ‘फलामसिंह ध्यानी’का नामले चिनिएका फाल्गुनन्द त्यहीँ जोसमनी गुरुबाट दीक्षित भएको उनका कृतिहरूमा उल्लेख छ । प्रपन्नाचार्यको मत मान्ने हो भने किरात धर्मगुरु मानिएका आत्मनन्द लिङ्देन, सचितानन्दलगायत गुरुहरू जोसमनीबाट प्रभावित छन् । यसो भन्नु सरासर उनीहरू ‘हिन्दू धर्मका प्रचारक’जस्तै हुन् । किनकि, जोसमनी हिन्दू सनातन धर्मअन्तर्गतको हो ।
प्रपन्नाचार्यको यस्तो तर्कमा वैरागी काइँलाको स्पष्ट फरक मत नरहे पनि यसतर्फ संकेत भने मान्न सकिन्छ । उनका अनुसार ‘सत्यहाङ्मा पन्थी’ले जोसमनी साधुले झैँ एकतारे बोक्ने, झोलीतुम्बी भिर्ने, चिम्टा बोक्ने, शब्दी लिने–दिने तथा माला र वस्त्र पहिरिने गर्छन् । अर्को समानता के हो भने सत्यहाङ्मा पन्थीहरू पनि निर्गुणवादी हुन् । तर, यो निर्गुणवाद लिम्बू जातिको धार्मिक परम्पराबाट आएको हो । त्यसो त उनको शब्दमा जोसमनीमा लागेका लिम्बूहरू पनि फाल्गुनन्दको उदयपछि सत्यहाङ्मा बने ।
धार्मिक विविधताको पाटो
खासगरी किरात राई समाजमा जोसमनी धर्म तथा सम्प्रदायको प्रभाव बढी देखिन्छ । त्यसमा पनि राई जातिमा जस्तो धार्मिक विविधता अन्यमा कमै होला । धार्मिक विविधता हुनु नराम्रो भने पक्कै होइन । तर, राई जातिमा यस्तो प्रवृत्ति किन देखापर्‍यो त ? भाषाशास्त्री डा. नोबलकिशोर राईको शब्दमा पनि राई समाजमा आएको धार्मिक विविधता अनौठो नै लाग्छ । यो परिवेशलाई नकारात्मक र सकारात्मक दुवै किसिमले लिन सकिन्छ । हुन त विश्व सन्दर्भमै हामी मान्छे ‘धर्मान्ध’ देखिएका छौँ । त्यसमा पनि नेपाली समाज हुँदै किरात राई जातिसम्म पुग्दा यसको स्पष्ट संकेत पाउन सकिन्छ । खासमा भन्ने हो भने हामीले धर्मको अपव्याख्या गरेको अवस्था छ । समाजमा धर्मले समूह–समूहको रूप धारण गरेको छ । धर्मका नाममा समाज विभक्त छ । धर्मको सही व्याख्या/विश्लेषण हुने हो भने धार्मिक विविधता लाभसिद्ध नै हुन्छ ।
सत्यहाङ्मा र किरात धर्मको कुरा
महागुरु फाल्गुनन्दले सत्यहाङ्मा धार्मिक समूहको स्थापना गरेको सन्दर्भ त आइसकेको छ । तर, किरात धर्मको सन्दर्भ भने यसबीच आउन सकेको छैन । सत्यहाङ्मालाई आधार मान्दा फाल्गुनन्दका अनुयायीले किरात धर्म तथा उत्थान संघको नाममा २०३६ सालतिर औपचारिकता प्रदान गरेको देखिन्छ । त्यसपछि सत्यहाङ्मा ‘किरात धर्म’को नाममा प्रचारमा आउन थालेको भन्दा दुईमत नहोला ।
किरात धर्मलाई ‘त्यति’मै मात्र सीमित राख्नु भने न्यायोचित हुँदैन । किनभने, किरात येले संवत् (किरात संवत्)ले नै पनि किरात सभ्यताको इतिहास पाँच हजार वर्षभन्दा बढी भएको देखाउँछ । किरात संवत् ५०७३ चलिरहेको छ । अहिलेसम्म प्राप्त स्रोतले पनि किरात सभ्यताको विकासक्रम लामो रहेको स्पष्ट पार्छ । यस अर्थमा किरात धर्मलाई सीमित घेरामा राखिनु जायज होइन । किरात धर्म किरात सभ्यता भएका जातिहरूको जीवन पद्धति हो । संस्कार र संस्कृति हो । किरात धर्मको व्याख्या तथा विश्लेषण आआफ्नो ढंगले गर्ने गरिएको भए पनि यसको सारतत्त्वमा फरक छैन । एकमुष्टमा किरातहरू प्रकृति तथा पितृपूजक भएका कारण व्यक्ति र मूर्तिपूजक होइनन् भन्ने बुझ्नुपर्छ । किरातहरूको मुन्धुमी संस्कार मौखिक परम्परामा रहे पनि यसको अपव्याख्या गरिनुहुन्न ।
यहाँ सत्यहाङ्मा र किरात धर्मको चर्चापछि जीवनपद्धतिको संक्षिप्त कुरा उठाऔँ । जोसमनी साधु राईहरू हिन्दू धर्मपद्धतिअनुरूप अगाडि बढे पनि उनीहरूले किरात संस्कृति र परम्परालाई चटक्क माया मारेको भने भन्न मिल्दैन । किरात संस्कार उनीहरू सात्विक तवरले गर्छन् । किरात संस्कार र संकृतिलाई उनीहरूले ‘पण्डित पद्धति’सँगै निर्वाह गर्दै आएको देखिन्छ । अझ यसो भनौँ कि ‘खिँचडी संस्कृति’ (सकारात्मक अर्थमा) को निर्माण भएको छ । आत्मनन्दलगायत अन्य धर्मगुरुका अनुयायीले पनि यसैगरी नै आफ्नो जीवनपद्धति चलाएको देखिन्छ । फाल्गुनन्दले लिम्बू भाषा, धर्म तथा संस्कृतिको पक्षमा धेरै काम गरेका थिए । तत्कालीन समाजमा उनले पुर्‍याएको योगदान अतुलनीय नै छ । उनको ‘सत्यधर्म मुचुल्का’ले पनि यही कुराको पुष्टि गर्छ ।
छुवाछुतको अवस्था
धार्मिक दृष्टिले समाज सकारात्मक बाटोमा रहे पनि यहाँका धर्मावलम्बीमा अझै छुवाछुतको अवस्था रहनु नकारात्मक पक्ष हो । यसको आलोचना गर्दा सम्बन्धित विज्ञहरू ‘भातेमुद्दा’को प्रसंग उप्काएर टार्ने गर्छन् । सन्त ज्ञानदिल दासपछि चलेको खाकी र त्यागीबीचको ‘भातेमुद्दा’का कारण फाल्गुनन्द जोसमनी सम्प्रदायबाट सत्यहाङ्मा भएर अलग भएको प्रपन्नाचार्यले दाबी गरेका छन् । त्यहीँबाट ‘चुला बार्ने’ परम्परा बसेको यस क्षेत्रका सम्बन्धित जानकारहरू बताउँछन् । खासगरी, जोसमनी धर्मावलम्बीले अन्यले पकाएको ‘दालभात’ नचलाउने गरेका छन् । भोजभतेरलगायत सार्वजनिक समारोहमा अन्य धर्मावलम्बीले पनि चुला बार्ने गरे पनि उनीहरू जोसमनीजति कट्टर अवस्थामा चाहिँ देखिँदैनन् ।
र, अन्त्यमा
किरात समुदाय प्रकृति तथा पितृपूजक भएकाले ‘व्यक्ति र मूर्ति–पूजा’ अवश्य पनि यो जातिको धर्ममा पर्दैन । किरात धर्म प्रकृति र पितापुर्खाको पूजा र सम्मानमा आधारित छ । किरातहरूसँग आआफ्नै प्रकारको मौलिकता छन् । जुन मौलिकतालाई परिष्कृत र परिमार्जित गर्दै अगाडि बढ्नु जरुरी छ । संस्कार र संस्कृतिका नाममा गलत प्रवृत्तिले ठाउँ पाउनुहुँदैन ।
मुलुक संघीयतातर्फ लागेको बेला भाषा, धर्म तथा संस्कृतिहरूको संरक्षण मात्र होइन, अब विकास अत्यावश्यक छ । किरात धर्मको नाममा ‘गैरकिरात’ काम नगरौँ भन्ने मेरो आग्रह हो । तपाईं भन्नुहोला– ‘मुलुक धर्मनिरपेक्ष बनिसकेको छ । यस्तो अवस्थामा किरात धर्मकै मात्र कुरा गर्नु जायज हुन्न ।’ पक्कै धर्म, भाषा, संस्कृति अँगाल्ने कुरा व्यक्तिगत मामला हुन् । यद्यपि, आफ्नो पहिचान नामेट पारेर अरूको अँगाल्न सकिन्न भन्ने मेरो ठम्याइ छ । तर, अरूको कुराको सम्मानचाहिँ चाहिन्छ नै । हिजो राज्यसत्ताले राज्यका अन्य भाषा, धर्म तथा संस्कृतिलाई दमन गर्नाले हिन्दू परम्पराप्रति धेरै आक्रोश पोखिएकै हो । आज धर्मनिरपेक्ष मुलुकका नागरिक बनिसकेका छौँ । अब त्यस्तो नहोस् ।
चबष्कबअजष्त२नmबष्।िअयm

प्रतिक्रिया