निर्वाचन आयोग घेराउ

33-Dal-n-Maoकाठमाडौं, २१ वैशाख । नेकपा–माओवादीसहित आन्दोलनरत ३३ दलले शुक्रबार निर्वाचन प्रक्रियामा सहभागी नहुने भन्दै निर्वाचन आयोग घेराउ गरेका छन् । चुनावमा सहभागी हुन आग्रहसहित आयोगले दल दर्ताको प्रक्रिया अघि बढाइरहेका बेला आन्दोलनरत दलहरूले घेराउ गरेका हुन् ।
उनीहरूले सरकार गठनका समयमा भएको प्रमुख चार दलको सहमति तथा प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारको विरोध गर्दै आएका छन् । चुनावका सम्पूर्ण कार्यक्रम खारेजी गरिनुपर्ने तथा राष्ट्रपतिद्वारा जारी २५ बुँदे बाधाअड्काउ फुकाउ आदेश खारेज गरिनुपर्ने उनीहरूका माग छन् ।
कान्तिपथस्थित आयोगको गेटमा बिहान ९ बजेदेखि ११ बजेसम्म उनीहरूले नाराबाजीसहित धर्ना दिए । आन्दोलनकारी दलहरूले अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीको राजीनामा माग गर्दै राष्ट्रिय स्वाधीनताका लागि गोलबन्द हुन आमनेपालीलाई आह्वान पनि गरेका छन् ।
विरोध प्रदर्शनका कारण त्यस क्षेत्रको सवारी आवागमन तीन घन्टाभन्दा बढी प्रभावित भएको थियो ।
आयोगले भने त्यसलाई सामान्य रूपमा लिँदै वार्ता र संवादबाट सबै समस्या समाधान गर्नुपर्ने र समस्याको समाधान आयोगमा धर्ना बसेर नहुने बताएको छ । ‘विरोध प्रदर्शन गर्ने, हडताल गर्नेजस्ता कार्यबाट होइन, वार्ता र संवादका माध्यमबाट समस्या समाधान गरिनुपर्छ,’ आयोगका आयुक्त अयोधिप्रसाद यादवले भने, ‘यसका लागि अन्य ठूला राजनीतिक दलहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ ।’

प्रतिक्रिया