चुनावी रणनीति बनाउँदै निर्मलनिवास

Nirmal_niwasकाठमाडौ, २१ वैशाख । आउने संविधानसभा चुनावमा पूर्वराजा ज्ञानेन्द्र शाह पनि अप्रत्यक्ष रूपमा होमिने भएका छन् । जानकार स्रोतहरूको दाबी छ, दरबार अहिले चुनावी रणनीति बनाउन व्यस्त छ ।
सरकारले चुनावको मिति नतोके पनि दरबार आगामी चुनावको रणनीति बनाउन जुटेको हो । दरबारका ‘विश्वासिला’ केही व्यक्तिले आगामी चुनावमा दरबारको भूमिका के हुने र कसलाई सहयोग गर्ने भन्ने विषयको रणनीति ड्राफ्ट गरेका छन् । जसलाई अन्तिम रूप दिन पूर्वराजा ज्ञानेन्द्र कहाँ पठाइएको छ ।
स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्रले ड्राफ्टमा समर्थन जनाउँदै अन्तिम रूप दिएपछि त्यसलाई कार्यान्वयनमा ल्याइनेछ । ‘चुनावी रणनीतिक समावेश गरेर तयार गरिएको ड्राफ्टलाई मूर्तरूप दिन निर्मल निवास पठाइएको छ, प्यालेसले अन्तिम रूप दिएपछि कार्यान्वयनमा आउनेछ,’ स्रोतले सौर्यसँग भन्यो ।
अघिल्लो संविधानसभा चुनावमा मौन बसेको दरबार आगामी चुनावमा भने अप्रत्यक्ष ढंगले चुनावी मैदान उत्रिने लगभग पक्का भएको स्रोतको भनाइ छ । ‘पूर्वराजा र उनको परिवार प्रत्यक्ष रूपमा निर्वाचनमा आउने कुरा त भएन तर अप्रत्यक्ष रूपमा चुनावमा आउने निश्चित छ,’ स्रोतले भन्यो, ‘कुन शक्तिलाई कसरी सहयोग गर्ने अहिले त्यही विषयमा छलफल भइरहेको छ ।’
स्रोतका अनुसार राष्ट्रियता र हिन्दु राज्यको मुद्दा लिएर चुनावमा जाने दललाई दरबारले अप्रत्यक्ष तर सक्रिय रूपमा सहयोग गर्ने रणनीति लिँदै छ । दरबार लिने रणनीतिको संकेत पाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीले एकीकरणपछि हिन्दूराज्यलाई आफ्नो मुद्दा बनाउने सार्वजनिक अभिव्यक्ति दिएका छन् ।
पूर्वराजपरिवारले सहयोग गर्ने भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र शिवसेना नेपालले तालमेल गरी चुनावमा जाने योजना बनाएको पनि स्रोतको दाबी छ । राप्रपा नेपालले निर्वाचन आयोगमा दल दर्ता गरे पनि शिवसेना नेपालले भने अहिलेसम्म दल दर्ता गरेको छैन । ‘हामी दल दर्ता गर्ने तयारीमा छौँ, छिट्टै गर्छौँ, आगामी निर्वाचनमा राष्ट्रियता र हिन्दूराज्य नै हाम्रो प्रमुख मुद्दा हुनेछ, जो दरबारको पनि इच्छा छ,’ शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतले भने ।
राष्ट्रियता र हिन्दू राज्यको मुद्दालाई दरबारले अप्रत्यक्ष तर सक्रिय रूपमा सहयोग गर्ने संकेत गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा प्रत्यक्ष निर्वाचनको उम्मेदवार नबन्ने लगभग तय भएको स्रोतको दाबी छ । दरबारले बनाएको रणनीतिलाई सफल बनाउन उनी देशभर चुनावी सभामा पुग्ने तर आफू समानुपातिक उम्मेदवार बन्ने सम्भावना रहेको राप्रपा नेपालका एक केन्द्रीय सदस्यले बताए । ‘देशभर माहोल बनाउन अहिले अध्यक्ष प्रत्यक्ष निर्वाचनमा नउठ्ने कुरा छ, त्यसका लागि गृहकार्य पनि भइरहेको छ,’ ती केन्द्रीय सदस्यले भने ।
राजनीतिक दलदेखि दरबारसम्म चुनावी रणनीति बनाउन जुटिसको भए पनि सरकारले चुनावको मिति भने घोषणा गर्न सकेको छैन । मिति तय गर्न प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकार अलमलमा परिरहेको छ ।

प्रतिक्रिया