नेपाली र जापानिज निर्देशकका चलचित्र भिड्दै

Sujata_Koiralaकाठमाडौं : फ्राइडे रिलिजअन्तर्गत लामो समयदेखि दुई वा सो भन्दामाथि संख्याका चलचित्र सार्वजनिक प्रदर्शनमा आउने गरेका थिए । तर, पछिल्ला केही सातायता यो क्रम परिवर्तित भएर दुई चलचित्रमा
झरेका छन् अर्थात् केही सातायता फ्राइडे रिलिजअन्तर्गत दुई चलचित्र मात्र प्रदर्शनमा आउने गरेका छन् । यो साता अर्थात आज शुक्रबारबाट दुई नयाँ चलचित्र सार्वजनिक हँुदै छन् । ती हुन्– मञ्जरी र शिरीषको फूल । मञ्जरीका निर्देशक गणेश देव पाण्डेको निर्देशनमा तयार भएको चलचित्र हो भने शिरीषको फूललाई जापानी नागरिक डा. तोसिआकी इतोहले निर्देशन गरेका हुन् ।
मञ्जरी गत ९ चैतमा सार्वजनिक प्रदर्शन हुन नसकेको चलचित्र हो । बुटवलको एक सत्य घटनालाई चलचित्रको मुख्य विषयवस्तु बनाइएको निर्माण पक्षले जानकारी गराएको छ । चलचित्रमा नवनायक­­/नायिका गौरव पहारी र सुजाता कोइरालाको रोमाञ्चक प्रेमकथा पनि समेटिएको छ ।
टुका इन्टरटेन्मेन्टको ब्यानरमा नरेश देव पाण्डे, महेश चालिसे र प्रदीपकुमार उदयको संयुक्त निर्माणमा तयार भएको यस चलचित्र मञ्जरीमा सुजाता र गौरवका साथ टीका पहाडी, विष्ण्ुा रिजाल, सरिता भण्डारी र कोपिला थापाको मुख्य भूमिका छ । ४ दर्जन हलबाट एकसाथ रिलिजमा आउने यस चलचित्रको गत सोमबार बुटवलमा च्यारिटी सो गरिएको थियो । यसमा कालिप्रसाद बाँस्कोटाको संगीत छ ।
‘शिरीषको फूल’ विश्वप्रसिद्ध साहित्यिक कृति ‘शिरीषको फूल’ मै आधारित रहेर निर्माण गरिएको फिल्म हो । चर्चित साहित्यकार पारिजातको यो कृतिमाथी जापानी नागरिक डा. तोसिआकी इतोहले चार वर्ष लगाएर चलचित्र तयार गरेका हुन् । चलचित्रमा कृतिको कथा जस्ताको तस्तै उतार्ने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ । प्रेम अमर हुन्छ र प्रेम मुटबाट सुरु भएर मन–मस्तिष्क र आत्मासम्म पुगी त्यो मानवतावादमा परिणत हुन्छ भन्ने प्रसंग चलचित्रमा देखाउन खोजिएको छ ।
अमेरिकाको मेरिल्यान्ड विश्वविद्यालयको पाठ्यक्रममा समेत समावेश गरिएको ‘शिरीषको फूल’ को कथामा द्वितीय विश्वयुद्धबाट भागेका सिपाही सुयोगवीर तथा मध्यमवर्गीय परिवारका साकम्बरी, मजुरा मुख्य पात्र छन् । चलचित्रमा गणेश लामा, शर्मिला गुरुङ र सौजन्य सुब्बाको अभिनय छ ।
चलचित्र प्रदर्शनको पूर्वसन्ध्यामा चलचित्रमा लगानीसमेत हालेको जमिन फिल्मस्का सुरज मिश्र र उत्तम खत्रीले चलचित्रमा नाम उल्लेख नगरेको र लगानी डुब्ने अवस्था रहेको भन्दै प्रदर्शन रोक्न पुनरावेदन अदालत पाटनमा केही दिनपहिले रिट दायर गरेका थिए । तर, उक्त रिटकर्तालाई बिहीबार मिलाएर चलचित्र प्रदर्शनको व्यवस्था मिलाइएको चलचित्रका सह–निर्देशक विजयरत्न तुलाधरले जानकारी दिए । (सौस)

प्रतिक्रिया