जुम्ल्याहा दिदीबहिनीको कथा शरीर एउटै मन फरक

iving_a_conjoinedशरीर एउटै छ तर अनुहार र टाउको दुइटा । अनि नाम पनि फरकफरक– एब्बी हेन्सल र ब्रिट्नी हेन्सल । यी जुम्ल्याहा दिदीबहिनी एकसाथ काममा जान्छन्, साथीहरूसँग मोजमस्ती गर्छन्, छुट्टीमा घुम्न निस्कन्छन्, लामो ड्राइभिङमा जान्छन् अनि भलिबल खेल्छन् । यी सबै क्रियाकलाप छुट्टाछुट्टै शरीर लिएर आआफ्नै किसिमले गर्न त पाउँदैनन् पनि । जे गर्नु छ, दुवैले एउटै समयमा गर्नु छ । शरीर एउटै भए पनि दुवैका रुचि र चाहनामा केही भिन्नता छ । यो बाध्यताबीच पनि जिन्दगीलाई उमंगपूर्ण बनाउने प्रयास भने उनीहरू गरिरहेकै हुन्छन् । तर, दुई व्यक्तिले मृत्युपर्यन्त एउटै शरीर बाँडेर जिन्दगी बिताउन कत्तिको गाह्रो होला ?
२३ वर्ष उमेरका यी दिदीबहिनी अमेरिकाको मिनेसोटामा बस्छन् । अनि एउटा प्राथमिक विद्यालयमा टिचिङ पनि गर्छन् । एक शरीर अनि दुई अनुहारका यी दिदीबहिनीसँग टिचिङ लाइसेन्स त दुइटै छ तर तलब भने एक भाग मात्रै पाउँछन् । एब्बी भन्छिन्– ‘हामी दुवैसँग औपचारिक शिक्षाका फरकफरक डिग्री छन्, अनि दुइटा सर्टिफिकेट । किनकि हाम्रा दृष्टि र रुचि अलगअलग छन् । पढाउने तरिका पनि एकअर्काबाट भिन्न छ ।’ एब्बीलाई लाग्छ– उनीहरू दुई जना अन्य एउटै आमव्यक्तिले भन्दा बढी काम गर्न सक्छन् । उनीहरू क्लासमा छँदा एक जना बच्चाबच्चीलाई पढाइरहेकी हुन्छिन् भने अर्कीचाहिँ प्रश्नको उत्तर दिइरहेकी हुन्छिन् । विद्यार्थी बच्चाहरूमाथि नजर राखिरहेकी हुन्छिन् । एक समयमा यी सबै काम एकसाथ गर्न सक्नु कुनै एउटी मात्रै आमशिक्षिकाको वशको कुरा होइन । सहकर्मी करी होन्क उनीहरूको यो क्षमताको कदर गर्छन्– ‘उनीहरू दुई फरक केटी हुन् । पढाउने क्रममा जुन काम गर्न मलाई हम्मेहम्मे पर्छ, उनीहरू त्यसलाई सजिलै अनि अझ राम्रोसँग गर्न सक्छन् ।’ यी जोडिएका दिदीबहिनीले एकअर्कालाई निकै राम्रोसँग बुझेका छन् । समझदार छन् । एक जे भन्छिन् वा जसरी कुरा गर्छिन्, अर्कीको शैली पनि ठ्याक्कै त्यस्तै हुन्छ ।
जीवनका हरेक पल सँगसँगै जिउँदै आएका यी युवतीको शरीर जोकसैका लागि अनौठो छ । उनीहरूको फोक्सो, मुटु र पेट दुइटा छन् तर प्रजनन अंग, कलेजो र आँत एउटै छ । एब्बी र ब्रिट्नीले बाल्यकालदेखिको निरन्तर अभ्यासको बलमा शरीरसँग जोडिएका गतिविधिका लागि एकअर्कासँग तालमेल मिलाउन सिकिसकेका छन् । जसरी एब्बी दाहिने हातलाई नियन्त्रित गर्छिन्, देब्रे हातको जिम्माचाहिँ ब्रिट्नीको । उनीहरूको उचाइमा पनि अन्तर छ । एब्बी ६ फिट दुई इन्चकी छन् भने ब्रिटनी ४ फिट १० इन्चकी । दुइटा खुट्टाको लम्बाइ अलगअलग भएका कारण होची ब्रिट्नीले सन्तुलन बनाइराख्न बेलाबखत खुट्टाको पन्जाले मात्रै टेकेर उभिनुपर्ने हुन्छ । यसैखाले आपसी सन्तुलन उनीहरूले आफ्नो खानपानदेखि लिएर सामाजिक जीवन अनि पहिरनको छनोटमा पनि मिलाउनुपर्ने हुन्छ ।
एब्बी भन्छिन्– ‘तैपनि हाम्रो तौरतरिका एकदमै अलग छ । म हँसीमजाक, मस्ती अनि रमाइलो गरिरहने खालकी छु । ब्रिटनी सन्तुलित अनि गम्भीर स्वभावकी छ ।’ आफूहरूको स्वभावबारे ब्रिटनी पनि यसो भन्छिन्– ‘एब्बी अलि जिद्दी छ । कुनचाहिँ कपडा लगाउने भन्ने बहसमा ऊ मलाई सधैँ जित्छे । ऊ घरमा बसिरहन मन पराउँछे । मलाई चाहिँ बाहिर घुम्नफिर्न मन लाग्छ ।’ अरू पनि थुप्रै कुरा छन्, उनीहरूलाई भिन्न देखाउने । ब्रिटनी उचाइसँग डराउँछिन्, जबकि एब्बीचाहिँ अग्ला ठाउँमा घुम्न मन पराउँछिन् । एब्बीलाई गणित र विज्ञान विषय मजेदार लाग्छन्, ब्रिटनीको रुचि कलासम्बन्धी विषयमा छ । कफीको कुरा गर्ने हो भने यहाँ रुचि मात्र होइन, शारीरिक अवस्थाले पनि फरक अर्थ राख्छ यी दुई जुम्ल्याहाबीच । केही कप कफी पिउनासाथ ब्रिटनीको मुटुको धड्कन जोडले धड्किन थाल्छ, जबकि एब्बीलाई केही फरक पर्दैन । यी थुप्रै चाखलाग्दा पृथक्तापछि अर्को एउटा सबैभन्दा अचम्मलाग्दो कुरा छ । शरीरको आआफ्नोपट्टिको हिस्सामा उनीहरूको तापक्रम पनि फरकफरक हुन्छ, एकै समयमा । एब्बी सुनाउँछिन्– ‘शरीरमा मपट्टिको हिस्साको तापमान ब्रिटनीपट्टिको तापमानभन्दा एकदमै अलग हुन्छ । मेरो हातको तापमानका तुलनामा ब्रिटनीको हातको तापमान निकै बढी छ ।’
यी सहयात्री दिदीबहिनीलाई सामान्य पारिवारिक तथा सामाजिक जीवन बाँच्नुका अलावा एक युवती हुनुका कारणले काम तथा पढाइका क्रममा थुप्रै मुस्किल परिस्थितिको पनि सामना गर्नुपरिरहेको हुन्छ । जस्तो कि उनीहरूको निजी जीवन मानिसहरूका लागि सार्वजनिक चर्चाको विषय बनिरहेको हुन्छ । कत्तिले माहोल तताउन उनीहरूलाई उडन्ते गफको विषय बनाइरहेका हुन सक्छन् । हुन सक्छ, कतिले उनीहरूको वैवाहिक जीवनको अर्थहीन अनुमान गर्दै नानाथरी टोले विश्लेषण गर्दा हुन् । यस्तो सामाजिक शैली उनीहरूलाई पटक्कै मन पर्दैन । छुट्टीमा कतै टाढा घुम्न जाँदा पनि उनीहरूले दु:ख बेसाउनुपर्छ । उनीहरूका साथ पासपोर्ट त दुइटै हुन्छ, तर हवाइजहाजमा सिट एउटै मात्र हुन्छ । भीडभाडमा निकै सचेत हुनुपर्छ । जब मानिसहरू उनीहरूलाई देख्छन्, अर्कै ग्रहबाट आएको प्राणीलाई जसरी घुरेर हेरिरहन्छन् । मनाही गर्दा पनि फोटो खिच्न थाल्छन् ।
यी जुम्ल्याहाको शरीर जोडिनुमा खास वैज्ञानिक कारण रहेको चिकित्सकहरू बताउँछन् । यसखाले बच्चा एउटै अन्डाबाट विकसित हुन्छन् । यसकारण उनीहरूको लिंग अनि मुहार उस्तै हुन्छ । तर, अहिलेसम्म यो पत्ता लाग्न सकेको छैन कि किन यो अवस्थाका लागि जिम्मेवार भ्रूण जोडिएका दुई शरीरलाई अलग गर्ने गर्भान्तरिक प्रक्रियामा पछि पर्छ । पछिल्लो ५ सय वर्षको रेकर्डले भन्छ– यो अवधिमा यसरी जोडिएर जन्मने जुम्ल्याहा बच्चाको संख्या ६ सयभन्दा बढी छ । जसमा ७० प्रतिशत केटी छन् । आधुनिक चिकित्साविज्ञानले यति धेरै प्रगति गरिसक्दा पनि अपरेसनमार्फत यस्ता दुई शरीरलाई सकुशल अलग पार्नु असम्भव साबित हुँदै आएको छ ।
— प्रदीप (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया