निर्वाचन आयोगको तयारी पूरा : प्रमुख आयुक्त

nilkantha upretiबाग्लुङ, २० वैशाख । प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले सरकारले तत्काल निर्वाचन मिति घोषणा गर्नुपर्ने बताएका छन् । निर्वाचन आयोगले आवश्यक तयारी पूरा गरिसकेको जनाउँदै उनले ८/१० दिनभित्र चुनावको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएका छन् ।

निर्वाचनको वातावरण तयार गर्न बिहीबार धवलागिरीका सरोकारवालाबीच बाग्लुङमा गरिएको अन्तक्र्रियात्मक कार्यक्रममा उप्रेतीले निर्वाचनको महिना मात्र नभई दिन नै तोक्न सरकारले विलम्ब गर्न नहुने बताए । निर्वाचनका लागि आयोगले कार्यतालिकासमेत बनाइसकेको उल्लेख गर्दै उनले बाग्लुङ, म्याग्दी र पर्वतबाट सहभागी हुन आएका जिल्ला नेता, श्रोत व्यक्ति र पत्रकारलाई कार्यतालिका सुनाएका थिए । ‘अबको ८/१० दिनमा मिति तोक्ने, जेठ भित्र फोटोसहितको मतदाता नामावली संकलन गरिसक्ने, संकलित नामावली अन्तिम प्रकाशनका लागि गाउँमा पठाउने र यी सब काम असार मसान्तसम्म सक्नेगरी काम अघि बढाउने उनले बताए । ‘जेठ मसान्तपछि हामी गाउँ जादैनौँ,’ उनले भने, ‘तर जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालयमा निर्वाचनको मितिभन्दा ७५ दिन अघिसम्म नामावली दर्ता गर्न सक्ने व्यवस्था गरिसकेका छौँ ।’
केही ऐनका विषयमा सहमति गर्नेबाहेक अरूमा समस्या नरहेको स्पष्ट पार्दै उनले सबै दललाई आ–आफ्ना विचार र कार्यक्रम लिएर जनतामाझ जान सुझाव दिए । केही दल निर्वाचनप्रति असन्तुष्ट रहेकोप्रति संकेत गर्दै उनले ‘गिभ एन्ड टेक’का आधारमा दलहरूबीच बुद्धिमतापूर्ण समझदारी आवश्यक रहेको बताए । निर्वाचन क्षेत्र निर्धारणबारे राखिएको जिज्ञासामा प्रमुख आयुक्त उप्रेतीले दुई सय पाँच क्षेत्र नघटाउने संवैधानिक व्यवस्था रहेकाले तत्काल यसलाई नचलाउँदा राम्रो हुने बताए ।
एक करोड १३ लाखको मतदाताको फोटोसहितको नामावली संकलन गरिसकेको जानकारी दिँदै उप्रेतीले जेठसम्ममा करिब १० लाख मतदाता नामावली संकलन गर्ने बताए । विदेशमा रहेका नेपालीलाई भने मताधिकारको व्यवस्था गर्न नसकिने उप्रेतीले स्पष्ट पारे । उनले एकैसाथ देशभर निर्वाचन गर्न जनशक्ति र स्रोत साधनका कारण जटिल रहेको बताए ।

प्रतिक्रिया