विद्यालयको ‘विकास खर्च’ पनि अभिभावकको थाप्लोमा

काठमाडौं, २० वैशाख । निजी विद्यालयहरूले विद्यार्थीबाट ‘विकास खर्च’को नाममा पनि रकम असुलिरहेको पाइएको छ । विद्यालय भर्नामा चर्को शुल्क असुल्दै आएका उनीहरूले अभिभावकको ढाड सेक्ने गरी विद्यालयको विकास खर्च शीर्षकमा पनि रकम उठाइरहेको खुलेको छ ।

जिल्ला शिक्षा कार्यालय काठमाडौंले गरेको अनुगमनका क्रममा बानेश्वरस्थित रोजबर्ड स्कुलले विकास खर्चको नाममा २५ हजारसम्म असुलेको पाइएको हो । काठमाडौंका जिशिअ वैकुण्ठ अर्यालले रोजबर्डले प्रतिविद्यार्थी विकास खर्चको नाममा ठूलो रकम लिएको पाइएको जानकारी गराएका छन् । नियममै नभएको विकास खर्चको नाममा विद्यालयहरूले चर्को शुल्क लिइरहेको अर्यालले बताए । ‘शिक्षाको कुनै नियममा विद्यालयको विकास खर्च रकम लिन पाइन्न,’ उनले सौर्यसँग भने, ‘तर लिएका छन् । यस्ता विद्यालयलाई कारबाही गरिन्छ ।’
शिक्षा कार्यालयले १८ वटा विद्यालयमा विद्यार्थी भर्ना शुल्कको विषयमा अनुगमन गरिसकेको छ । अनुगमनका क्रममा अधिकांश विद्यालयले सरकारले तोकेभन्दा बढी शुल्क लिएको पाइएको उनले जानकारी गराए । विद्यालयले दुई महिनाको मासिक शुल्क बराबर पाँच हजार मात्र भर्ना शुल्क लिन पाउने प्रावधान भए पनि विभिन्न शीर्षक राखी चर्को शुल्क लिने गरेका छन् । काठमाडौंका ‘ख’ वर्गका विद्यालयले शिक्षा कार्यालयमा एउटा प्रस्ताव पठाउने र शुल्क फरक लिने गरेको पनि पाइएको उनले जानकारी गराए । उनका अनुसार बानेश्वरस्थित अवार्डनेस र तिलगंगास्थित गुरुकुल विद्यालयको प्रस्तावित र लिने शुल्क फरक पाइएको छ । ‘ख’ वर्गका ती दुवै विद्यालयले ‘क’ वर्गको शुल्क लिइरहेका छन् । नक्सालस्थित वृहस्पति विद्यालयले भर्ना शुल्कमा ‘क्यापिटलाइजेसन’ शुल्क भनेर तीन हजार रुपियाँ लिएको पाइएको छ । शिक्षा कार्यालयले उक्त शीर्षकमा किन रकम असुलेको हो भनेर सात दिनभित्र स्पष्टिकरण सोधेको छ । बानेश्वरस्थित चेल्सी स्कुलले स्टेसनरी शुल्क भन्दै विद्यार्थीबाट पाँच हजार रकम असुलेको छ । स्टेसनरीको नाममा शुल्क उठाउन नपाइने अर्यालले बताए ।
अनुगमनका क्रममा बानेश्वरस्थित नोबेल एकेडेमी, कालोपुलको जेभियएर इन्टरनेसनल, नक्सालको मल्पी इन्टरनेसनल, युरो स्कुलले मासिक शुल्क ठिकै लिएको देखिए पनि भर्ना शुल्क बढी लिएको पाइएको छ । अर्यालले निर्देशिकामा उल्लेख गरिएभन्दा बढी शुल्क लिने ती विद्यालयलाई स्पष्टिकरण सोधिएको बताए ।

प्रतिक्रिया