शर्माले गरे उम्मेदवारी घोषणा चलचित्र क्षेत्रलाई जोगाउने दाबी

ashokकाठमाडौं : कलाकार, निर्माता, निर्देशक अशोक शर्माले चलचित्र निर्माता संघको अध्यक्ष पदका लागि उम्मेदवारी दिने भएका छन् । संघको आगामी शनिबार हुन लागेको निर्वाचनमा उनले उम्मेदवारी दिन लागेका हुन् । बुधबार अनामनगरस्थित मण्डला थिएटरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा शर्माले गिर्दाे चलचित्र व्यवसायलाई जोगाउन आफूले उम्मेदवारी दिन लागेको बताए । उनले भने, ‘निर्माताकै हकहितका खातिर उनीहरूकै सल्लाहअनुसार आफू अध्यक्षमा उठ्न लागेको हो ।’
तपाईंको उम्मेदवारी केका लागि भनी कार्यक्रममा पत्रकारले सोधेको प्रश्नको जवाफमा शर्माले भने, ‘चलचित्र क्षेत्र अहिले अप्ठ्यारोमा छ । अवस्था प्रतिदिन धराशयी हँुदै गइरहेको छ । चलचित्र क्षेत्र यो अवस्थामा रहेको समयमा आफू पनि यही क्षेत्रको सिपाही भएको नाताले यसलाई टुलुटुलु हेर्नुभन्दा केही गर्नुपर्छ भनेर उम्मेदवारी दिन लागेको हुँ ।’ आºनो उम्मेदवारीले गिर्दाे चलचित्र व्यवसायलाई जोगाउने शर्माको दाबी थियो ।
शर्मालाई हिन्दी चलचित्रका दलालको आरोप पनि लाग्ने गरेको छ । यसको खण्डन गर्दै उनले भने, ‘हिन्दी चलचित्रको दलाल भनेर मलाई आरोप लगाउने भित्री रूपमा गरेको राष्ट्रिय चलचित्रविरुद्धको घातक क्रियाकलाप हो ।’
डिसिएन नेपाली चलचित्रको हकहितका खातिर होइन भन्ने भ्रमलाई चिर्दै शर्माले निर्मातालाई यसले शोषण नगरेको र उल्टै फाइदा दिलाएको तथ्य बुँदागत रूपमा प्रस्तुत गरे । डिसियनले चलचित्र सम्वद्र्धन गर्दैन भन्नु आफैँमा गलत मानसिकताको सिकार हुनु हो भन्दै शर्माले थपे, ‘नेपाली चलचित्र बन्द भयो भने सबैभन्दा पहिलो असर पर्ने डिसियनलाई नै हो ।’
संघको स्थापनाकालदेखि ६ वर्ष महासचिव र तीन वर्ष अध्यक्षका रूपमा संघको सेवा गरेको आºनो पृष्ठभूमि भएकाले अहिले संघलाई सही तरिकाले अगाडि बढाउने व्यक्ति आफू मात्र भएको दाबी गर्दै उनले व्यक्तिगत रहर भन्दा पनि समयको मागअनुसार संस्थाप्रतिको दायित्व एवं जिम्मेवारी बोध गर्न आफूले उम्मेदवारी दिने बताए । उम्मेदवारीपूर्व आफूले सबै पक्षसँगको सल्लाह गरेको जानकारी गराएका थिए । उनले भने, ‘चुनावजस्तो प्रजातान्त्रिक अभ्यासलाई कसैले नाघ्ने प्रयत्न गर्‍यो भने त्यसको प्रतिवाद गरिन्छ ।’
सोही अवसरमा शर्माले ६ बँुदा र ती ६ बँुदाभित्र पनि विभिन्न उपबुँदा बनाउँदै आफूले संघको अध्यक्ष भएपछि गर्ने काम एजेन्डाका रूपमा समेत सार्वजनिक गरे ।
उनले सार्वजनिक गरेका एजेन्डामा संघको आन, वान र सान कायम राख्दै संघलाई नेपाली चलचित्र क्षेत्रकै मियो संस्थाका रूपमा स्थापित गर्न कुनै कसर बाँकी नराख्ने, निर्माताका भिपिसी चार्जका कम गराउने, भिपिसी होलिडे लागू गर्ने, अन्तर्राष्ट्रिय मापदण्डअनुसार वैज्ञानिक तवरले बक्स अफिस लागू गर्ने, चलचित्र क्षेत्रलाई मनोरञ्जन प्रदान गर्न सांस्कृतिक उद्योग बनाउने, चलचित्र निर्माण परामर्श डेस्क स्थापना गर्ने, चलचित्र निर्माण, पढेका र परेका दुवै खालका चलचित्रकर्मीका ज्ञानलाई समायोजन गर्ने, गुणस्तरीय चलचित्र कलेज खोल्न पहल गर्ने, चलचित्र र चलचित्र घरको वैज्ञानिक वर्गीकरण गर्नेलगायत छन् । (सौस)

प्रतिक्रिया