सुपरमार्केटसहितको सहकारी कृषि बजार

काठमाडौं, १९ वैशाख । नेपालमा पहिलोपटक सुपरमार्केटसहितको सहकारी कृषि बजार सञ्चालनको अन्तिम चरणमा पुगेको छ । सहकारी अवधारणमा सञ्चालन हुन लागेको उक्त तरकारी बजारमा सुपरमार्केटका साथै अर्गानिक तरकारीको समेत पसल रहनेछ । यस बजारमा किसान र उपभोक्ताबीच सिधै सम्पर्क कायम हुनेछ ।

ललितपुरको नख्खुमा सञ्चालन हुन लागेको उक्त सहकारी कृषि बजारमा एकीकृत कृषि विकास सहकारी संस्था, मकवानपुर र प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था, ललितपुरको लगानी रहेको कृषि बजार व्यवस्थापन समितिका प्रमुख कार्यकारी निर्देशक जगन्नाथ ढकालले बताए । ‘बिचौलियाका कारण उत्पादक र उपभोक्ता पीडित बन्दै आएका छन् ।’ ढकालले भने, ‘यस बजारबाट उपभोक्ता र किसान बिचौलियाबाट मुक्त हुनेछन् ।’ कृषकले उत्पादन गरेका वस्तु आफैँले बिक्री गर्ने हुँदा तरकारीको मूल्य तुलनात्मक रूपमा सस्तो पर्ने उनले बताए ।
सुपर मार्केट, अर्गानिक तरकारी, फलफूल, माछामासुका लागि छुट्टाछुट्टै भवन निर्माण गरेको छ । किसान र सहकारीले उत्पादन गरेका वस्तुहरू बिक्रीवितरणको उचित प्रबन्ध गरेर व्यवासायिक रूपमा उत्पादकहरूलाई प्रोत्साहित गर्ने उनले बताए । उपभोक्ताले उच्च गुणस्तर, उचित मूल्य र सही नापतौलका वस्तुहरू सहज ढंगले प्राप्त गर्ने अवस्था निर्माण गर्न सहकारी कृषि बजार सञ्चालनमा ल्याएर उत्पादक र उपभोक्ताको हितको लागि सहकारी सबैभन्दा महत्त्वपूर्ण प्रणाली रहेको उनको भनाइ छ । एक सय पसल स्टल रहने कृषि बजारमा मौसमी र बेमौसमी ताजा तरकारी तथा फलफूल, दूध र दूधजन्य पदार्थहरू, कृषकका उत्पादनहरू, माछा, मासु, अन्डा र सहकारीका अन्य उत्पादनहरू थोक तथा खुद्रा मूल्यमा पाइले जनाएको छ ।
दैनिक उपभोग्य वस्तुहरू ताजा तरकारी, फलफूल, दूध र कृषिजन्य वस्तुहरूमा हुने अस्वाभाविक बजार मूल्य नियन्त्रण गर्ने, ताजा तरकारी, फलफूल, दूध जस्ता अति संवेदनशील वस्तुहरूको गुणस्तर, मूल्य र नापतौलको सुनिश्चितता प्रदान गर्ने, सहकारी बजार प्रणालीको विकासका निमित्त अनुसन्धान र विकासको काम गर्ने, उपभोक्ताको स्वास्थ्य अनुकूल उत्पादन गर्न उत्पादक किसानलाई सचेत गरिने जनाएको छ । २ करोडको लगानी रहेको तरकारी बजार जेठको पहिलो हप्ताबाट सञ्चालनमा ल्याउने सञ्चालक समितिले जनाएको छ । सो बजारमा सात हजार २ सयदेखि १० हजार रुपियाँप्रति स्टल भाडा तोकिने पनि सञ्चालकले बताए ।

प्रतिक्रिया