भान्से भनेर हेप्नेहरू अहिले सम्मान गर्छन्

Ratnabahadur-Thapaमैले होटलमा काम सुरु गर्दा मान्छेहरू हेलाको दृष्टिले हेर्थे । हियाएर कुरा काट्थे– ‘कुनचाहिँ हो होटलमा काम गर्छ रे †’ धेरैलाई लाग्दो रहेछ– होटलमा भाँडा माझ्ने काम मात्र हुन्छ । हुन त याक एन्ड यती होटलमा प्रवेश गरेपछि मैले हन्डी माझेकै हुँ । टेबुल पुछ्ने काम पनि गरेँ । घरको आर्थिक अवस्था कमजोर थियो, पढाइ धेरै थिएन । बाँच्नका लागि केही न केही त गर्नै पर्‍यो । बाध्यताले होटलमा प्रवेश गरेँ । त्यही बाध्यताले कुक बनायो ।
उतिबेला थोरै पढे पनि पाइने काम कुककै थियो । पाँचतारे होटल भए पनि सुरुआती दिन सजिला थिएनन् । याक यन्ड यतीको भवन निर्माण हुँदादेखि नै त्यहाँ काम गर्थें, निर्माण सहयोगीका रूपमा । त्यही क्रममा त्यहाँका मान्छेसँग चिनजान बढ्यो । होटल सुरु गर्दा विदेशबाट कुकहरू आउँदै थिए । मलाई पनि त्यहाँको किचन डिपार्टमेन्टमा छिर्न मन लाग्यो । सुरुमा भाँडा माझ्नेदेखि आइपर्ने सबै काम गरेँ । मैले मात्र होइन, होटलको जनरल म्यानेजरले पनि भाँडा माझेको हुन्छ । आकस्मिक रूपमा पाहुना आइपुग्दा यो गर्छु, त्यो गर्दिनँ भन्नै मिल्दैन ।
सन् १९७७ मा याक एन्ड यती खुलेको हो । त्यतिबेला अहिलेजस्तो कुक तालिम सेन्टर छ्यासछ्यास्ती थिएनन् । एउटा मात्र थियो, त्यसले थोरै कुक उत्पादन गथ्र्याे । सबैको पहुँच हुँदैनथ्यो । हेल्परका रूपमा कुकलाई सहयोग गर्ने मेरो काम थियो, होटलमा । उनका लागि भान्छामा आवश्यक सम्पूणर््ा सामग्रीको जोहो गरिदिनुपर्ने । कुकको नजिक भएर काम गर्दा विस्तारै मैले पनि त्यो काम सिकेँ । मेहनत र काममा निपुणता देखेर मलाई कुकको जिम्मेवारी दिए, पछि । सुरुमा २ सय ५० रुपियाँ तलब थियो । सँगै काम गर्ने विदेशीले साठी हजार रुपियाँ मासिक बुझ्थे । उत्ति काम गरे पनि हामी नेपाली भएकाले उनीहरूको मोटो तलब टुलुटुलु हेरेर बस्नु पथ्र्यो । अहिले त समय धेरै फेरिइसक्यो । नेपालमै एक लाख रुपियाँभन्दा बढी तलब खाने सेफ थुप्रै भइसके ।
उसबेला मानिसहरू नाक खुम्च्याउँदै सोध्थे– ‘के गर्छस्, होटलमा भात पकाउँछस् ?’ त्यस्ता हेपाइको म वास्तै गर्दैनथेँ । बुझेको थिएँ– चोरेर, ठगेर पो खानु हुँदैन त, मेहनत गरेर खानुपर्छ । अहिले पनि सानले भन्छु– ‘हो म होटलमा काम गर्ने कुक हुँ । कुनै हीनताबोध छैन ।’ जतिबेला यो पेसामा लागेँ, त्यो बेलाभन्दा पनि बढी गर्व अहिले लाग्छ ।
याक एन्ड यतीमा बाह्र वर्ष काम गरेँ । पद वृद्धि हुँदै किचन सुपरभाइजर भएँ । त्यही दौरान दिल्लीको ह्यात रिजेन्सी होटलमा तालिम लिन जान पाएँ । सीप अझ निखारियो । सोच्न थालेको थिएँ– अब विदेश जान पाए सीप र पैसा अझ बढी कमाइन्थ्यो होला । सोचेजस्तै भयो, कुकको तालिमका लागि ओमान जान पाएँ । त्यहाँ दुई वर्ष सिकेपछि त्यहीँ राम्रो काम पाएँ । ओमानको ‘सुल्तान विशेष फोर्समा’ चौध वर्ष काम गरेँ । त्यो ठूलो कम्पनी थियो । नेपालमा भन्दा फरक वातावरण । जे काम गरे नि सम्मानले हेर्थे । मेहनतका कारणले होला, त्यहाँ नाम र दाम दुवै चित्तबुझ्दो पाएँ । ओमन सरकारबाट थुप्रै सम्मानसमेत पाएँ । ती सम्मान नेपालको गोदबाभन्दा कम लाग्दैनन् । त्यहाँ म विशेष सेफको पदमा थिएँ ।
ती अवधिमा मैले ओमनबाट अरू पनि विभिन्न देश पनि घुम्ने मौका पाएँ । कम्पनीले फरकफरक देशमा पठाइरहन्थ्यो । आफ्नो खर्चमा घुम्न पथ्र्याे त ती देश कहिले पुग्दो हुँ र † सिरिया, इन्डोनेसिया, मलेसिया, साउदी अरेबिया, बहराइनजस्ता देशमा पुगेर खाना पकाएँ । त्यहाँ हुने विशेष कार्यक्रममा मेरो कमान्डमा कुक खटिन्थे । विश्वका नाम चलेका व्यक्तिहरूलाई खाना खुवाउन पाएकोमा औधी खुसी लाग्दो रहेछ ।
सोह्र वर्षपछि नेपाल फर्कंदा प्रशस्तै अनुभव बटुलिसकेको थिएँ । त्यही अनुभव र पुरानो सम्बन्धका आधारमा फेरि याक एन्ड यती प्रवेश गरेँ । त्यहाँ किचन एक्टिभिटी पदका लागि पुरानो र अनुभवी कामदारको खोजी भइरहेको रहेछ । पछिल्लो ६ वर्षदेखि यहीँ कार्यरत छु । हिजो फलानो त होटलमा भात पकाउँछ रे भन्नेहरू अहिले सम्मानले हेर्छन्, पाँचतारे होटलमा काम गर्छ भनेर । यो समयसँगै मान्छेको सोचमा आएको परिवर्तनका कारण सम्भव भएको हो ।
हिजोको कुरा त के गर्नु र ? मान्छे घृणा गर्थे । ‘ए होटलको भान्से’ भन्दै हेप्थे । नेपालमा यो पेसालाई हेर्ने दृष्टिकोण राम्रो थिएन । तर, अहिले सम्मानित पेसा भएको छ । त्यसैले होटलतर्फ नेपालीहरूको पनि आकर्षण बढिरहेको छ । हुन त पाँचतारे होटलबाटै काम सुरु गरेकाले मैले अरूको जति अपमान त सहनुपरेन । नेपालमा ब्रिटिसहरूसँग काम गरेँ । भारतमा पनि त्यहाँका विशिष्ट सेफसँग सिक्न पाएँ ।
पहिले नपढेका र काम नपाउनेले गर्ने पेसा भनेर बुझिन्थ्यो कुकिङ । अहिले त पढ्नेले पनि यही विषय रोज्न थालेका छन् । यसका लागि पनि पढ्नुपर्ने भएको छ । देशमा होस् वा विदेशमा, होटल व्यवस्थापनको राम्रो सम्भावना छ । तर, सीप जान्नुपर्छ, भाषाको ज्ञान हुनुपर्छ । हावाको भरमा हुँदैन ।
ओमनमा रहँदा त्यहाँका सुल्तानलाई आफ्नै हातले खाना पकाएर खुवाएँ । केही समयअघि संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुन नेपाल आउँदा याक यन्ड यती होटलमा बसेका थिए । उनलाई खाना खुवाउने अवसर पाएँ । तत्कालीन राजा वीरेन्द्रले पनि मेरो हातबाट बनाएको खाना निकै खाएका थिए । एकपटक मुमा बडामहारानी रत्नको जन्म दिन रहेछ । पार्टी होटलमै गर्ने भन्ने अर्डर आयो एक्कासि । राजपरिवारको पार्टी, जस्तो पायो त्यस्तो गरेर भएन । होटलको इज्जत पनि राख्नै पर्‍यो । एक घन्टाको बीचमा सबै तयार पार्‍यौं । बलिउडका नाम चलेका कलाकार आउँदा याक एन्ड यतीमै बस्छन् । सधैँ पर्दामा मात्र देखिएका कलाकारलाई प्रत्यक्ष आफ्नै अगाडि देख्न पाउँदा साह्रै रमाइलो लाग्छ । एकपटक त अमिताभ बच्चनले पनि मैले बनाएको खाना खाए । विदेशी पाहुना आउँदा उनीहरूलाई नेपाली खाना पनि चखाउनुपर्छ भन्ने मलाई लाग्छ । त्यसैले आफू गएको ठाउँमा कुनै न कुनै नेपाली परिकार पनि राख्छु । अरबी, इन्डियन, इटालियन, चाइनिज, फ्रेन्चलगायत परिकार सबै बनाउँछु म । तर, एउटा मनोविज्ञान कस्तो हुँदो रहेछ भने आफूले जतिसुकै मीठो पकाए पनि मान्छेलाई आनन्दचाहिँ अरूले पकाएर दिएको खाँदा नै हुँदो रहेछ । मलाई पनि त्यस्तै लाग्छ ।
अहिले यो क्षेत्रमा आत्मविश्वास र सीप लिएर आउनेले धेरै गर्न सक्छ । मेरो छोरो पनि यही पेसामा छ । अस्ट्रेलियामा कुकको काम गर्छ । मैले ३७ वर्षमा गरेको प्रगति उसले सातै वर्षमा गरेर देखायो । नेपाली भएर विदेशमा धेरैलाई खाना खुवाउँछ । नाम र दाम दुवै कमाएको छ । त्यहाँको सरकारबाट सम्मान पाएको छ । अहिलेको अध्ययन टेक्नोलोजीले धेरै प्रगति गराएको छ । जो पढेर यो पेसामा आउँछ, उसले रित्तो हात रहनुपर्दैन । मैले पनि लामो अनुभवका आधारमा हजारौँलाई सिकाएँ, लाखौँलाई खाना बनाएर खुवाएँ । तर, पनि अध्ययनको अभाव भने खड्किइरहँदो रहेछ । सोच्छु– अलि अध्ययन गरेर आउन पाएको अझ धेरै राम्रो गर्न सक्थँे कि †
म होटलमा मात्र होइन, बेलाबखत घरपरिवारमा पनि खाना पकाउँछु । पारिवारिक जमघट हुँदा पकाउने जिम्मेवारी मेरै हो । होटलमा पकाउने मान्छे, कस्तो पकाउँदो रहेछ त भन्ने कौतूहल पाउँछु सबैमा । तर, पाँचतारे होटलमा पाइने विभिन्न विदेशी परिकारको तुलनामा मलाई चाहिँ नेपाली खानाको स्वाद नै सबैभन्दा उत्कृष्ट लाग्छ । अहिले व्यस्तता निकै बढेको छ मेरो । दिनहुँ तालिम दिन गइरहनुपर्छ । सेफहरूको संगठनको अध्यक्ष भएका नाताले त्यसका कामलाई पनि प्राथमिकता दिइरहेको छु ।
प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया