क्षयरोग केन्द्रका उपकरणमा खिया लाग्दै

काठमाडौँ, १९ वैशाख । क्षयरोगको नियन्त्रणका लागि काम गर्दै आएको सरकारी संस्था राष्ट्रिय क्षयरोग केन्द्रमा लाखौँ मूल्यका उपकरणहरू बिग्रिएर थन्किएका छन् । अत्यावश्यक उपकरण मर्मत नहुँदा सेवाग्राही प्रभावित बनेका छन् ।

क्षयरोगका बिरामीको बहिरंग र प्रयोगशाला परीक्षण कार्य गर्दै आएको केन्द्रमा लाखौँ मूल्य पर्ने २२ वटा माइक्रोस्कोप, ५ वटा अटोक्लेभ, एक इसिजी मेसिन र एक एक्सरे मेसिन वर्षांदेखि बिग्रिएर थन्किएका छन् । ती उपकरण मर्मतसम्भार गर्न केन्द्रले पनि चासो देखाएको छैन ।
साधारण मर्मतसम्भार गरेर बन्ने अवस्थामा रहेका उपकरण लामो समयसम्म मर्मत नगरी थन्काइँदा धूलो र खियाका कारण थप बिगँदै गएको केन्द्रका कर्मचारीहरूले बताए । पुराना समान मर्मतमा भन्दा नयाँ सामान खरिद गर्दा बढी कमिसन आउने भएकाले केन्द्रका पदाधिकारीहरूले साधारण समस्या भएर बिग्रिएका उपकरणहरू मर्मत गर्नेतर्फ ध्यान नदिएको स्रोतको
भनाइ छ । ‘मर्मत गर्नेभन्दा पनि बिग्रियो भन्दै तुरुन्त नयाँ किन्ने प्रवृत्तिका कारण केन्द्रमा पुराना समानहरू थन्किने क्रम बढिरहेको छ’, स्रोतले भन्यो ।
बिरामीको खकार परीक्षणका लागि अत्यावश्यक माइक्रोस्कोप वर्षौंदेखि बिग्रिदा मर्मत नगर्ने बरु नयाँ किन्दै जाने प्रवृत्तिले अहिले केन्द्रमा २२ वटा माइक्रोस्कोप बिग्रिएर थन्किएका छन् । एक कर्मचारीका अनुसार ६ महिनाअघि केन्द्रमा खकार परीक्षणका लागि नयाँ प्रविधिको उपकरण आएकाले मात्र माइक्रोस्कोपको अभाव टरेको छ । त्यसअघि केन्द्रमा सधैँ माइक्रोस्कोपको अभाव हुने गरेको थियो ।
केन्द्रमा भएका फोहोरको वैज्ञानिक ढंगले निर्मलीकरण गर्ने सबैभन्दा महत्त्वपूर्ण उपकरण अटोक्लेभ पनि पाँच वटा थन्किएका छन् । १० देखि ५० लाख रुपियाँ सम्म पर्ने यस्ता उपकरण मर्मत नगरी थन्किएपछि केन्द्रमा फोहोरको निर्मलीकरणमा समेत समस्या परिरहेको छ ।
स्वास्थ्य संस्थाबाट निस्कने फोहोरको वैज्ञानिक निर्मलीकरणका लागि अटोक्लेभ अनिवार्य रूपमा गर्नुपर्दछ । अटोक्लेभमा बाफबाट फोहोर निर्मलीकरण गरिन्छ । यस प्रविधिमा एक सय ४० डिग्री सेल्सियस तापक्रममा फोहोर निर्मलीकरण गरिन्छ । यो प्रविधिबाट निर्मलीकरणपश्चात् सो फोहोरलाई सामान्य फोहोरजस्तै फाल्न सकिन्छ ।
त्यस्तै, केन्द्रमा बिरामीको छातीको अवस्था परीक्षण गर्ने एक्सरे मेसिन र मुटुको चालको अवस्था पत्ता लगाउने इसिजी मेसिन पनि बर्षौंदेखि मर्मत गरिएका छैनन् । अत्यावश्यक उपकरण बिग्रिएर मर्मत नगरी थन्किएको विषयमा महालेखा परीक्षकको कार्यालयले समेत चासो व्यक्त गरेको छ । महालेखाले गत चैतमा सार्वजनिक गरेको प्रतिवेदनमा लामो समयदेखि बिग्रिएर प्रयोगहीन अवस्थामा रहेका केन्द्रका लागि अत्यावश्यक हुने यस्ता मेसिनरी सामान मर्मत सम्भार गरी प्रयोगमा ल्याउनुपर्ने उल्लेख छ ।
केन्द्रका निर्देशक डा. राजेन्द्र पन्तले पनि लाखौँ मूल्यका थुप्रै उपकरणहरू मर्मत नहुँदा थन्काउनु परेको बताए । आफू केन्द्रमा आउनु अगाडिदेखि नै यी उपकरणहरू मर्मत नगरी थन्किएको उनले बताए । ‘म केन्द्रमा आएको एक वर्ष हुँदै छ, तर यी उपकरणहरू लामो समयदेखि बिग्रिएर पनि मर्मत नगरी राखिएको थियो’, उनले भने । लामो समयसम्म मर्मत नगरी त्यसै थन्किएका ती उपकरण अब मर्मतसमेत गर्न नमिल्ने अवस्थामा पुगेको उनले बताए ।
समयमै मर्मत नगरेका कारण काम नलाग्ने भएका भन्दै केन्द्रले ती उपकरण लिलामी गर्ने तयारी गरेको छ । ‘मर्मत गरेर सञ्चालनमा ल्याउने सम्भावना निकै कम छ, लामो समयदेखि बिग्रिएर थन्किएकाले ती उपकरण मर्मतमा भन्दा लिलामी गर्नु उत्तम हुन्छ’, निर्देशक डा. पन्तले भने । उपकरणबाहेक बिग्रिएर थन्किएका अन्य सामग्रीहरूको समेत एकमुष्ट लिलामी गर्ने उनले बताए ।

प्रतिक्रिया