दीपकले संगत गरेका नायिका

dipak_shresthaकुनै बेला निकै व्यस्त निर्देशक मानिन्थे दीपक श्रेष्ठ । एक समय यस्तो थियो– उनी एकसाथ तीन चलचित्र निर्देशन गरिरहेका हुन्थे । अहिले उनको यो रफ्तारमा केही कमी आएको छ । उनी रोकिएका भने होइनन् । गत हप्तादेखि प्रदर्शनमा आएको ‘हिम्मत–२’ उनैको चलचित्र हो । उनी निर्देशित ‘चन्द्रसूर्य’ प्रदर्शनको तयारीमा छ । हालसम्म २० वटा चलचित्र निर्देशन गरिसकेका दीपक आफ्ना चलचित्रमा नयाँनयाँ नायिका भित्र्याइरहने निर्देशकका रूपमा पनि चिनिन्छन् ।

आफूले निर्देशकीय ब्रेक पाएको चलचित्र ‘गाउँले’ मा उनले दीपाश्री निरौलालाई पनि नायिकाका रूपमा ‘ब्रेक’ दिए । त्यसको ‘गोली सिसाको’ गीतबाट दीपा निकै चर्चित भइन् । ‘दीपाश्री मिलनसार र समझदार कलाकार हुन् । म गाउँलेमा नयाँ थिएँ, राम्ररी खुलेर काम गर्न सकिनँ । तर, कलाकारले भने साथ दिएकै हुन्,’ उनी पहिलो चलचित्रको अनुभव सुनाउँछन्, ‘गाउँलेमा बिपना थापा मुख्य भूमिकामा थिइन् । स्थापित नायिका भइसके पनि उनले मलाई कोअपरेटिभ नै लागिन् । कहिलेकाहीँ उनलाई रिजर्भमा राख्नुपर्दा कताकता असजिलो लाग्थ्यो । तर, भूमिकाअनुसार जमेर काम गरिन् उनले ।’
‘गाउँले’ सफल भएपछि आफँै निर्माताका रूपमा ‘भाइ’ चलचित्रको घोषण गरे उनले । त्यतिबेला जल शाह चल्तीकी हिरोइन थिइन् । दीपक पनि आफ्नो चलचित्रमा जललाई खेलाउन उनको घरै पुगे । ‘तर उनले मलाई पत्याइनन्,’ दीपकले भने,’ जलले पारिश्रमिक धेरै डिमान्ड गरिन् । उनको कुरा गर्ने स्टाइल पनि मन परेन । सायद मेरो फिल्म नखेल्ने मनसाय रहेछ, ठूल्ठूला कुरा गरिन् ।’ त्यसपछि उनी पुगे मेलिना मानन्धरकोमा, जहाँ उनले रित्तो हात फर्कनुपरेन । ‘मेलिनाले भनेको पारिश्रमिकमै काम गरिन्, सुटिङमा कुनै टेन्सन दिइनन्, त्यसपछि उनीसँग काम गर्ने मौका मिलेको छैन ।’
तेस्रो चलचित्र ‘जीवनसाथी’ मा उनले झरना थापालाई सोलो हिरोइन लिए । तर, झरनाको व्यवहार उनलाई अलि तीतो लागेछ । बैरेनीको बेसक्याम्पमा सेट लगाएर क्लाइमेक्स सुटिङ भइरहेको थियो । झरनाले आफू सोलो हिरोइन भएको फिल्म छोडेर काठमाडौंमा सुटिङ भइरहेको उगेन छोपेलको ‘बादलपारि’ चलचित्रको एउटा गीतको टुक्रामा नाच्न जान हतारो गरिछन् । त्यसकारण क्लाइमेक्स हतारहतार जोडजाड पारेर सिध्याउनुपर्ने बाध्यतामा दीपक आइपुगेछन् । सँगसँगै उनमा इख पलाएछ– म नयाँ भएकाले झरनाले यति साह्रो हेपेकी होलिन् । ‘म त उतिबेला भर्खर तेस्रो फिल्म बनाउँदै गरेको डाइरेक्टर, त्यही भएर झरनाले मलाई त्यसो गरेकी हुन्,’ दीपक ठम्याउँछन्, ‘हुन त उनी अहिलेजस्तो प्रोफेसनल पनि त भइसकेकी थिइनन् नि †’
‘अजम्बरी माया’ मा जब पहिलोपटक निरुता सिंहसँग काम गरे, त्यसपछिका केही चलचित्रमा दीपकले लगातार उनैलाई दोहोर्‍याइरहे । कारण, ‘निरुता सबै कुरामा पर्फेक्ट रहिछन् । मिलनसार, कलाकारिता बुझेकी, सिनीयरलाई रेस्पेक्ट गर्ने, Jharana-Thapaअभिनय पनि उत्तिकै राम्रो ।’ उनका आधा दर्जन चलचित्रमा निरुता नै देखिएकी छन् । निरुताको तारिफ गरेर थाक्दैनन् दीपक, ‘म त भन्छु, निरुता आजसम्मकै सबैभन्दा राम्री हिरोइन हुन् । उनका हरेक पक्ष पूर्ण छन् ।’ ‘अजम्बरी माया’ मै उनले अरुणिमा लम्साल र कादम्बिनी पाण्डेलाई पनि छोटो भूमिकामा प्रस्तुत गरेका थिए । अरुणिमा अहिले चर्चित नायिकाको कोटिमा पर्छिन् । कादम्बिनीले त्यसपछि ग्रहण चलचित्र खेलिन् अनि हराइन् । ‘अरुणिमामा त्यतिबेलै प्रचूर सम्भावना देखेको थिएँ मैले’, दीपक सुनाउँछन् ।
दीपकले ‘आफ्नोपन’ मा निरुताका साथ मुना कार्की र अनिता अधिकारीलाई पनि लिए । ‘मुना सहजतासाथा काम गर्ने अनि लामो लामो संवाद पनि एकैचोटिमा याद गर्न सक्ने खुबी भएकी नायिका हुन्,’ मुनाको सबल पक्ष केलाउँदै अनिताको दुर्बल पक्ष प्रस्ट्याए– ‘अनिताको अभिनयमा जीवन्तता कम थियो । नृत्य पनि कमजोर । त्यसैले होला, उनी स्थापित हुन सकिनन् ।’
दीपक हिट भने चलचित्र ‘दु:ख’ मा आएर मात्र भए । त्यसमा निरुताका साथ सौजन्य सुब्बालाई खेलाएका थिए । सौजन्यको प्रस्तुतिले उनलाई छोएको रहेछ– ‘त्यतिबेलै सबैले उनको पर्फमेन्सको तारिफ गरेका थिए । बीचमा कताकता सिरियलतिर लागिन् । उनी सम्भावना बोकेकी हिरोइन हुन् तर किन हो, चल्न सकिनन् ।’
‘रामलक्ष्मण’ चलचित्रमा निरुताका साथ उषा पौडेल थपे । उषालाई राम्रो रोल दिए पनि उनले त्यसलाई सहज किसिमले गर्न नसकेजस्तो लाग्दो रहेछ दीपकलाई, ‘उनले काममा ध्यान केन्द्रित सकिनन् ।’ त्यतिबेला उषाले बच्चाको जस्तो व्यवहार देखाएको बताउँछन्, ‘पोस्टरमा आफ्नो फोटो राखिएन भनेर मेरो बारेमा कुरा काट्दै हिँडिन् । पोस्टर त निर्माता–निर्देशकको बिजनेस पोलिसीको कुरा हो नि । त्यो कुरा उनले बुझिनन् । उनी प्रोफेसनल लागिनन्, त्यसैले अरू फिल्ममा लिइनँ ।’
नायिका सज्जा मैनालीसँग पहिलोचोटि ‘भाइभाइ’ मा काम गर्दा निकै प्रभावित रहेछन् दीपक, ‘कलाकारकी छोरी, सबैलाई उत्तिकै आदर गर्ने । अभिनय, नृत्य तथा संवाद सम्प्रेषण पनि अब्बल । पूर्ण व्यावसायिक ।’ अहिले सज्जा विदेशमा छिन्, त्यसैले उनको अभाव खट्किइरहने बताउँछन् दीपक– ‘उनी एउटी कुशल नायिका थिइन् ।’
‘आमाको आशीर्वाद’ उनले निर्देशन गरेका चलचित्रमध्ये सबैभन्दा कम व्यवसाय गरेको चलचित्र हो । निरुता त अझै उनकी फेवरेट हिरोइन थिइन्, यसपाली सञ्चिता लुइँटेललाई पनि लिए । ‘साह्रै नरम स्वभावकी हिरोइन । अभिनय, नृत्य, लुक्स सबै पर्फेक्ट,’ सञ्चिताबारे उनको अनुभव, ‘उनीसँग अहिलेसम्म पनि सौहार्दपूर्ण सम्बन्ध छ ।’
नायिका करिस्मा मानन्धरको त झन् प्रशंसा गरेरै थाक्दैनन् दीपक । जसलाई उनले पहिलोचोटि ‘पापी मान्छे’ मा खेलाए । ‘उहाँ मान्छे मात्र होइन, काम पनि उत्तिकै राम्रो । ड्ेरसअप सेन्स साह्रै गज्जब, आफ्नो लागि आफँै ड्ेरस डिजाइन गर्ने । कलाकारिताले भरिपूर्ण ।’ यति हुँदाहुँदै करिस्माका केही चित्त नबुझ्ने पक्ष पनि रहेछन्, ‘अलि मुडी टाइपकी । अरूको कठिनाइ नबुझ्ने । कुन बेला के जंग चल्छ, सुटिङमै नआइदिने ।’
‘तकदिर’ चलचित्रमा आउँदा उनले नायिका झरनालाई अघिल्लोचोटिभन्दा निकै फरक पाएछन् । एउटी परिपक्व नायिकाका रूपमा । सम्झन्छन्– ‘यतिबेला त उनी फ्रोफेसनल भइसकिछन्, निकै सौहार्द वातावरणमा काम गरियो । कुनै टेन्सन भएन ।’ यो चलचित्र निकै राम्रो चल्यो पनि । झरनाले यसैबाट बेस्ट हिरोइनको अवार्ड जितिन् । ‘झरनाको करिअरको टर्निङ प्वाइन्ट बन्यो त्यो फिल्म । उनले विगतका कमीकमजोरी सुधारिछन्, त्यसैले यो सम्भव भयो,’ दीपक मान्छन् ।
‘पर्खिबसेँ’ चलचित्रमा उनले बिल्कुलै नौली अनुहार यमुना उप्रेती (युना) लाई सोलो हिरोइन लिए । साइबर संसारमा फोटो हेरेर अडिसन लिई छनोट गरेका रहेछन् उनले । सुनाउँछन्, ‘युना अभिनय, नृत्य, संवाद सबै पक्षमा पूर्ण छिन् । हाइटले पनि साथ दिएको छ । देख्दै हिरोइन लाग्छिन् ।’ रोकिँदैनन्– ‘स्वरै मीठो छ । मिलनसार स्वभाव पनि । आफूले ल्याएको कलाकारको संरक्षण पनि गर्नुपर्छ भन्ने मान्यता मेरो छ । त्यसकारण उनलाई पछिल्ला प्राय: फिल्ममा खेलाएको छु । उनी योग्य छिन्, त्यसैले दिनदिनै सफलताउन्मुख पनि छिन् ।’ अहिले प्रदर्शनमा आएको ‘हिम्मत–२’ मा उनले युनालाई दोहोरो भूमिकामा प्रस्तुत गरेका छन् । ‘यसमा पनि उनको क्षमता देख्न सकिन्छ, द्वन्द्वका खतरनाक स्टन्टहरू गरेकी छिन् ।’
पुरानी नायिका तृप्तिसँग काम गर्ने दीपकको पुरानै धोको रे † ‘त्रिशूल’ चलचित्रमा आउँदा यो अवसर पनि जुरिहालेछ । तृप्ति अभिनीत ‘सम्झना’ फिल्म सानै उमेरमा हेरेका दीपकले आफू निर्देशक रहेको सेटमा तिनै तृप्तिको यथार्थ छवि यस्तो देखे– ‘एकदमै माइडिएर, हाँसीहाँसी काम गर्ने । अहिले पनि उत्तिकै चार्मिङ । रमाइलो स्वभावकी । साँच्चिकै हिरोइन लागिन् उनी ।’ ‘त्रिशूल’ मै हो, उनले नन्दिता केसीलाई पनि खेलाए । स्पटमा धेरै नबोल्ने, नखरा नपार्ने अनि सरल मिजास राम्रो लागेछ दीपकलाई नन्दिताको । अनि केही कमजोर पक्ष पनि याद गरेका रहेछन्– ‘क्षमताचाहिँ उनको औसत हो । कुनैकुनै संवाद प्रस्टसँग बोल्न नसकेको पाएको छु ।’
‘पापीमान्छे–२’ मा उनले पूजना प्रधानको क्षमता जाँचे । अनि उनलाई पर्फेक्ट पाए– ‘उनीमा नर्वसनेस, संकोच भन्ने कुरै छैन । कन्फिडेन्टसाथ अभिनय गर्छिन् । डाइलग डेलीभरी, डान्समा पनि त्यत्तिकै राम्रो ।’
‘हो यही माया’ मार्फत उनले एकदमै नयाँ अनुहार चलचित्र उद्योगमा भित्र्याए– जानकी केसी (जिया) । यी गोरी सुन्दरीको प्रशंसा निकै गर्थे उनी कुनै बेला । यतिसम्म भन्थे, ‘म त उनमा करिना कपुर र क्याट्रिना कैफको झल्को पाउँछु ।’ कमजोर पक्ष केलाउँथे– ‘आउटलुक, अभिनय राम्रो भए पनि नृत्यमा अझै मेहनत गर्नुपर्छ ।’ तर, आफैँले भित्र्याएकी नायिकाले पछिल्लो समय ‘एटीएम’ चलचित्रमार्फत भरमार अश्लीलता पस्किएर बदनाम कमाएपछि दीपकको उनीप्रतिको निर्देशकीय अनुराग कमजोर हुन पुगेको छ । यतिसम्म कि उनले आफ्नो पछिल्लो चलचित्रबाट जियाको नामै हटाएको घोषणासमेत गरे ।

प्रतिक्रिया