चुनावको काम ७० प्रतिशत पूरा : गुरुङ

Dolakha-Bdr-Gurungभैरहवा, १८ वैशाख । निर्वाचन आयोगका आयुक्त दोलखबहादुर गुरुङले मंसिरमा संविधानसभा चुनाव गराउन आयोगले ७० प्रतिशत काम पूरा गरिसकेको बताएका छन् ।

भैरहवामा मंगलबार सरोकारवालासँगको अन्र्तक्रियापछि आयोजित पत्रकार सम्मेलनमा आयुक्त गुरुङले आयोगले चुनावको तयारी दु्रत गतिमा गरिरहेको जानकारी दिए । ‘चुनावको काम ७० प्रतिशत पूरा भइसक्यो,’ गुरुङले भने ।
राजनीतिक सहमतिविनाको चुनावले तात्विक अर्थ नराख्ने उल्लेख गर्दै उनले सबै दललाई चुनावमा भाग लिन आयोगले बारम्बार आग्रह गरेको पनि बताए । करिब २ करोड ६६ लाख जनसंख्यामध्ये चुनावमा १ करोड ५४ लाखले भाग लिने अपेक्षा आयोगले गरेको पत्रकार सम्मेलनमा जानकारी गराइको थियो । आयोगले १ करोड १३ लाख मतादातासँग प्रत्यक्ष साक्षात्कार गरी नामावली दर्ता गरिसकेको उनले बताए । साउनसम्ममा १ करोड २० लाख मतादाता नामावली संकलन हुने र बाँकी ३० लाख विदेशमा रहेको आयोगले जनाएको छ । विदेशमा रहेका नेपालीलाई पनि चुनावमा सहभागी गराउने उद्देश्यले फिलिपिन्स, दक्षिण कोरीयालगायतका मुलुकको अध्ययन प्रतिवेदन तयार भइसकेको आयोगका सहसचिव वीरबहादुर राईले जानकारी दिए ।
भैरहवामा आयोजित अन्र्तक्रियामा रुपन्देही, नवलपरासी, कपिलवस्तुबाट यसअघिको चुनावमा प्रतिनिधित्व गरेका दलका प्रमुुख एवं प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, बार पदाधिकारी, पत्रकार महासंघका पदाधिकारी, तीनै जिल्लाका निर्वाचन अधिकारीलगायत सहभागी थिए ।

प्रतिक्रिया