कैलाली उसुमा सरस्वती क्वान च्याम्पियन

धनगढी, १७ वैशाख । यहाँस्थित क्षेत्रीय रंगशालामा आइतबार सम्पन्न आठौँ जिल्लास्तरीय उसु प्रतियोगितामा सरस्वती उसु क्वान च्याम्पीयन भएको छ । प्रतियोगितामा भएका सान्सौ र थाउलोतर्फ गरी १० स्वर्ण ३ रजत र २ कास्य पदकसहित १५ पदक जितेर सरस्वती टिम च्याम्पीयन बनेको हो । त्यस्तै, आयोजक सिअ उसु क्वानले दोस्रो स्थान हासिल गरेको छ । सिअले ७ स्वर्ण ४ रजत र ७ कास्यसहित १८ पदक जित्यो ।

एक सयभन्दा बढी खेलाडीले भाग लिएको प्रतियोगितामा जुगेडा उसु क्वानले ६ स्वर्ण ७ रजत र ९ कास्यसहित २२ पदक जितेर तेस्रो स्थानमा रहँदा कैलाली उसु क्वान ५ स्वर्ण ५ रजत र ३ कास्यसहित १३ पदकसहित चांैथो भयो । अत्तरीया उसु क्वानले ४ स्र्ण ४ कास्य र २ रजतसहित १० पदकसहित पाँचौं स्थानमा रहन सफल भयो ।
तीन दिनसम्म धनगढीको क्षेत्रीय रंगशालामा आयोजना भएको प्रतियोगितामा जुगेडा उसु क्वानकी हिरा थापा महिलातर्फ र कैलाली उसु क्वानका राजेश चौधरी पुरुषतर्फ उत्कृष्ट खेलाडी भए । त्यस्तै जुगेडा उसु क्वानकी निशा विक र कैलाली उसु क्वानका खगेन्द्र पाण्डेयले अनुशासित खेलाडीको पुरस्कार प्राप्त गर्दा अत्तरीया उसु क्वानकी सरीता चौधरी र सरस्वती उसु क्वानका विक्रम पार्कीले उदयमान खेलाडीको उपाधि जिते ।
कार्यक्रमका प्रमुख अतिथि कैलालीका स्थानीय विकास अधिकारी केदार बोगटी, विशिष्ठ अतिथिद्धय सिअ उसु क्वानका संस्थापक नारदमुनी राना र दिलबहादुर छत्याललगायतले विजयी खेलाडीलाई पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया