नेपाली चलचित्रको रूप विचित्र

Ram-g-Balamiनेपाली चलचित्र जगतमा बेलाबखत विभिन्न खालका विचित्र रूपहरू देखा पर्ने गरेका छन् । केही समयअघि रंग पत्रकार विजय आवाजले लेखेको समाचारको विषयलाई लिएर नायिका सुमिना घिमिरेले दिएको अभिव्यक्तिले पुन: एकपटक नेपाली चलचित्र जगतमा एउटा विचित्र रूप देखा परेको छ । घिमिरेले ‘टाउको झोलामा र खुट्टा खोलामा’ पारिदिने भन्दै धम्की दिएसँगै यसले चलचित्रकर्मी र समग्र चलचित्र उद्योगमाथि लाग्दै गरेको बादलमा टेको दिने काम गरेको छ । कमि–कमजोरी मानव जीवनको नियमितता नै हुन् । लेखन अधिकारमाथि नै ढावासरी यस्तो अभिव्यक्ति दिनु भनेको घिमिरेले चलचित्र पर्दालाई व्यवहारमा उतार्नु हो । यसको अर्थ पत्रकार हुँ भन्दैमा जे मन लाग्यो त्यही लेख्न पाउनुपर्छ भन्न खोजिएको भने होइन । आवाजको विश्लेषणमा पनि केही कमजोरी होलान् तर त्यसवापत कारबाही गर्ने सम्बन्धित निकाय चहार्नुभन्दा फोनमार्फत वितण्डा मच्चाउनु नायिकाको चर्चामा आउने उट्पट्याङ शैली सिवाय केही पनि होइन । नेपाली चलचित्र उद्योगमा यस्ता उट्पट्याङ शैलीहरू बारम्बार दोहोरी रहन्छन । चर्चा र चलचित्र एकअर्कामा सामिप्यताको सम्बन्ध रहने भए पनि चर्चाका लागि तान्डव नृत्य देखाउने प्रवृति विगतदेखि नै कायम हुँदै आएको छ ।

लभ अफेयर, मिलन–विछोद, आरोप–प्रत्यारोप, सेक्स अपिल, एकअर्काको सम्बन्ध इत्यादि कारण चलचित्रकर्मीहरू चर्चाको शिखर चुमिरहेका हुन्छन् । बहानाबाजीमा होस् कि आपसीवादमा नै किन नहोस् पत्रकार र दर्शकको आँखामा छारो हाल्न कै लागि चर्चाको बाटो खन्न निकै सिपालु हुन्छन् भन्ने कुरा छर्लंगै देखिन्छ । चर्चाविना प्रगति असंभव ठान्नेहरूले हेक्का राख्नुपर्ने कुरो के हो भने आफ्नो खुबी, प्रतिभा, क्षमता र कला पनि तिखार्नुपर्छ । सीमा नाघेर गरिएको प्रचार र नकारात्मक प्रचारले उकालो चढ्नेभन्दा ओरालो झर्ने सम्भावना धेरै हुन्छ । मान्छे कि राम्रो काम गरेर चर्चामा आउँछ कि नराम्रो काम गरेर । बेइजतपूर्ण तबरले चर्चामा आउनुभन्दा गुमनाम बस्नु सर्वाेत्तम उपाय हो । चर्चामा आउनुभन्दा लागेको दाग मेट्न कैयाँै गुणा गाह्रो हुन्छ । तर, नेपाली चलचित्रमा थुप्रै त्यस्ता नायक/नायिका छन् जो सेक्सलाई आधार बनाएर र अरूको नक्कल गरेर चर्चामा आइरहेका छन् । आफ्नो प्रतिभाविना मरिहत्ते गरेर चर्चामा आउनेहरू केही समयपछि नै खोलामा डुबेको डुंगाभैँm बन्न थाल्छन् । जो कहिल्यै आपैँm तैरिन सक्दैनन् । यस्ता पात्रहरूका कारण प्रतिभावान कलाकारहरू समेत धमाधम यो क्षेत्रबाट बाहिरिन बाध्य भएका छन् । नायिकालाई नंग्याउँदैमा चलेका फिल्महरू पनि यस्तै हुन भन्दा फरक नपर्ला । चलचित्रलाई अर्थोआर्जन गर्ने माध्यमका रूपमा मात्रै नहेरी समग्र समाज सेवाका रूपमा पनि हेरिनुपर्छ । चलचित्र ‘पल’सँगै एक्कासी उदाएका यस्ता चलचित्रहरूले नेपाली दर्शकलाई हालसम्म त तानेका छन् तर गर्लफ्रेन्ड र ब्वाइफ्रेन्ड लिएर समेत जान नसक्ने अवस्था आएको दर्शकहरू स्वयंले बताउँदै आएका छन् ।
जे होस् विगतलाई ध्यानमा राखी वर्तमानलाई सकारात्मक मार्गतर्फ डोर्‍याउन सक्नु नै मानवीय गुण हो र सफलताको आधार पनि हो । त्यसैले ती चलचित्रलाई पछ्याउँदै सोही परिवेशलाई आधार बनाएर अझ यौन दृश्य खुकुलो पार्दैमा चलचित्रले उत्कृष्टता हासिल गर्छ भनेर सोच्नु मुर्खता हो । चलचित्र केवल मनोरञ्जन प्राप्त गर्ने साधन मात्रै होइन । यसले समाजलाई सही दिशातर्फ लैजान समेत पहलकदमी गर्न सक्नुपर्छ । विडम्बना चलचित्र नै विकृतीउन्मुख बनाइन्छन् भने त्यसको कथावस्तु हेरेर दर्शकले कस्तो शिक्षा पाउलान ? अनि आम समुदायमा कस्तो छाप पर्ला ? पछिल्लो समय नेपाली चलचित्र क्षेत्रले बाटो बिराउँदै गन्तब्यहीन दिशातर्फ ओरालो लागेको छ । विशेषत: यही वर्षदेखि नेपाली चलचित्र क्षेत्रमा सेक्सपन हावी हुँदै गएको छ । ‘लुट’ र ‘चपली हाइट’ फिल्मको आगमनसँगै फिल्मी क्षेत्रको हाइटमा ठेस लागेको छ । यौन भन्ने कुरा चटनी हो नुन होइन । खानामा चटनी हुँदा स्वाद मात्रै थपिन्छ तर नुन नहुँदा खानाको अर्थ नै पूरा हँुदैन । यौन सबैका लागि आवश्यक छ तर खुल्न सकेको छैन । चलचित्र उद्योगले खुल्ने चेष्टा त गर्‍यो तर सीमा नाघेर । सञ्चार माध्यममा हुने यौन जिज्ञासा र जवाफले नै यौनलाई बुझ्न सजिलो पर्छ । नांगाबाबाको उत्ताउलोपन चलचित्रमा प्रदर्शन गर्दैमा यौन शिक्षा होइन यौनको भिक्षा माग्नेहरू बढ्ने संभावना हुन्छ । भर्खर टिनएजरमा प्रवेश गरेकाहरूले यस्ता चलचित्रबाट कस्तो शिक्षा प्राप्त गर्ला ?
‘चपली हाइट’ पछि बनेका चलचित्रहरूले आर्थिक रूपमा सम्पन्नताको पगरी पनि चुम्ला, निर्माताका लागि पनि सफल चलचित्र सावित बन्ला तर नेपाली चलचित्र उद्योगले त्यसलाई धिकार्न सिवाय स्वीकार्न सकिन्न । चलचित्र भनेको नायक/नायिकाको अंग प्रदर्शन गर्ने नभई सामाजिक यथार्थताको चित्र प्रस्तुत गर्ने माध्यम हो । सामाजिक विषयवस्तु उछिटेर बनाइएका चलचित्रलाई चलचित्रभन्दा पनि नीला फिल्मको लक्षणका रूपमा बुझ्दा अपच नहोला । यस्ता चलचित्रले न समाजलाई सकारात्मक प्रभाव पार्न सक्छ न त नायक/नायिकाको वास्तविक जीवनमै राम्रो छाप पर्छ । क्षणिक मनोरञ्जन र जोशलाई मस्तीमा रूपान्तरण गर्ने सिवाय यस्ता चलचित्रमा खेल्नुको कुनै औचित्य छैन भन्दा कसैको आपत्ति नहोला । जमानालाई पछ्याउने र समय अनुसार चल्ने बहानामा श्रीमान्/श्रीमतीसमेत सँगै बसेर हेर्न नमिल्ने चलचित्र बन्नु विडम्बना र दु:खद कुरो हो । यस्तो कुरा गर्दा विदेशी चलचित्रमा छाएको नांगोपनको कुरा उठ्न सक्छ । विकास र प्रगतिमा विकसित देशहरूको नक्कल गर्नु र उनीहरूको बाटो पछ्याउनु राम्रो कुरा हो तर नांगिने र होमिने जस्ता कार्यलाई नक्कल गर्नु कुनै हालतमा स्वभाविक मान्न सकिन्न । चलचित्र क्षेत्रमा कार्यरत चलचित्रकर्मीहरूको उद्देश्य पैसा कमाउनु मात्रै नभई समाजसेवा गर्नु पनि हो । समाज रूपान्तरणमा चलचित्रको ठूलो भूमिका रहन्छ । यदि, पैसा कमाउनकै लागि यो पेसामा होमिने हो भने भोलिका दिनमा सेक्सफिल्म सिवाय अरू चलचित्र बन्ने छैन । अनि कल्पना गरौँ नेपाली चलचित्र किन हेर्ने, कसरी हेर्ने ?
चलचित्रको भौतिक चित्रण अभिनय मात्रै भए पनि चलचित्रको सार यथार्थ नै हुनुपर्छ भन्ने मान्यता पनि छ । तर, नेपाली चलचित्रले यो मान्यतालाई कुल्चेको मात्रै छैन च्यातच्युत पारेर मिल्काउँदै छ । चलचित्र क्षेत्रको विकृतिलाई न्यूनीकरण गर्न कुनै आचारसंहिता नबनाउने र कसैले आवाज नउठाउने हो भने आगामी दिनमा नेपाली चलचित्र उद्योगबाट समाजले आस गर्न सकिने संभावना केवल सपनासावित नहोला भन्न सकिन्न ।
[email protected]

प्रतिक्रिया