अपांग बालबालिकालाई तालिम

काठमाडौं : बिपी नेत्र प्रतिष्ठानले अपांगताका कारण प्रारम्भिक बालविकास केन्द्रमा अध्ययन गर्नबाट वञ्चित बालबालिकालाई सीप तालिम गराउन थालेको छ ।
प्रतिष्ठानले भक्तपुरस्थित बाल आँखा, कान अस्पताल एवं पुन:स्थापना सेवाबाट अपांगता भएका बालबालिकालाई बालविकास केन्द्रमा अध्ययन गर्नसक्ने बनाउन तालिम दिन थालेको हो । अस्पतालले पहिलो चरणमा ११ जना दृष्टिविहीन बालबालिकालाई दैनिक जीवनमा आवश्यक पर्ने सीप तालिम दिइरहेको छ । ६ जना त बालविकास केन्द्र/स्रोत कक्षामा भर्ना हुन योग्य भएको अस्पतालका कार्यकारी निर्देशक डा. सञ्जीवकुमार उपाध्यायले बताए । ‘अपांगता भएका बालबालिकाको भर्ना संख्यामा वृद्धि गर्ने/गराउने क्रममा दृष्टिविहीनको शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न हामीले सीप सिकाउन थालेका हौँ,’ उनले भने, ‘पूर्वबालविकास केन्द्र सञ्चालन गरी त्यस्ता बालबालिकालाई आवश्यक सीप सिकाएर प्रारम्भिक केन्द्रमा भर्ना हुन योग्य बनाउने कार्यको थालनी नेपालमा बिपी नेत्र प्रतिष्ठानअन्तर्गत बाल आँखा कान अस्पताल एवं पुन:स्थापना सेवामा पहिलोपटक भएको छ ।’
यस कार्यक्रमबाट तालिम र सीप प्राप्त गरिरहेका ११ जना दृष्टिविहीन बालबालिकामध्ये ६ जना प्रारम्भिक बाल विकास केन्द्र/श्रोत कक्षामा भर्ना भई पठनपाठनका लागि उपयुक्त भइसकेका छन् । यी बालबलिकाको ललितपुर, भक्तपुर, गोरखा र काभ्रेपलाञ्चोक जिल्लाका पायक पर्ने पाँच विद्यालय नमुना मच्छिन्द्र मावि लगनखेल, आदर्श शौल उच्चमावि बुंगमती, आदर्श उच्च मावि ठिमी, सञ्जीवनी उच्च मावि धुलिखेल र अमर ज्योति जनता उच्चमावि लुइँटेलमा अध्ययन गराइने निर्देशक उपाध्यायले जानकारी दिए । (सौस)

प्रतिक्रिया