दल दर्ता आज

काठमाडौं, १७ वैशाख । नेकपा एमालेले मंगलबार निर्वाचन आयोगमा दल दर्ता गर्ने भएको छ । रत्नपार्कस्थित शान्तिबाटिकाबाट पार्टीका शीर्ष नेतासहितको जुलुस निर्वाचन आयोग पुगेर दल दर्ता गर्ने तयारी एमालेको छ ।

निर्वाचन आयोगले आगामी चुनावका लागि दल दर्ता गर्न आह्वान गरेपछि एमालेले मंगलबार दल दर्ता गर्ने निर्णय गरेको हो । काठमाडौंमा उपलब्ध कार्यकर्ताको दलबलसहित दल दर्ताका लागि आयोग कार्यालय जाने प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले बताए ।
आयोगले मंगलबारदेखि १५ जेठसम्मको समयसीमा तोकेर दल दर्ता गर्न आह्वान गरेको छ । चुनावमा भाग लिन चाहने दलहरूलाई दर्ताका लागि पार्टीको नाम, केन्द्रीय कार्यालयको ठेगाना, केन्द्रीय समिति सदस्य तथा पदाधिकारी र पार्टीको विधान पेस गर्नुपर्ने मापदण्ड आयोगले तोकेको छ । दर्ता भएका दलले मात्रै चुनावमा भाग लिन पाउनेछन् ।
आयोगले दल दर्ताका लागि पार्टीको कोष तथा आयस्रोत खुलाउनुपर्ने व्यवस्था पनि गरेको छ । विगतको संविधानसभामा नरहेका दलहरूलाई भने दर्ताका लागि १० हजार मतदाताको हस्ताक्षर अनिवार्य ल्याउनुुपर्ने व्यवस्था छ । संविधानसभाको नयाँ चुनाव मंसिरमा गर्ने दलहरूबीच सहमति भए पनि सरकारले औपचारिक रूपमा चुनावको मिति घोषणा गरेको छैन । आयोगले दल दर्ताका लागि आह्वान गरेकै दिन एमाले दर्ताका लागि जान लागेको हो ।

प्रतिक्रिया