हावाहुरीका कारण विद्यार्थी भर्ना अवरुद्ध

रोल्पा, १६ वैशाख । नयाँ शैक्षिक सत्र शुरु भएसँगै देशभरका अधिकांश निजी तथा सामुदायिक विद्यालयहरुमा पठनपाठन सुरु भइसके पनि रोल्पाको एक विद्यालयमा भने भर्ना कार्यक्रम समेत शुरु भएको छैन ।
जिल्लाको कोटगाउँ गाविस वडा नंं.–६ दारबोटस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको छानो हावाहुरीले उडाइदिएपछि विगत दुई सातादेखि विद्यालय भर्ना कार्यक्रम अवरुद्ध भएको हो । विद्यालयको नौ कोठे भवनको जस्ता पाताको छानो हावाहुरीले उडाएको दुई साता बितिसक्दा समेत सरोकारवाला निकायबाट मर्मतसम्भार हुन सकेको छैन भने विद्यार्थी भर्ना तथा पठनपाठन अवरुद्ध छ ।
‘विद्यालय मर्मतका लागि सरोकारवाला निकायहरुले चासो नदेखाएकै कारण विद्यालय र बालबालिकाहरुको पठनपाठन सुचारु हुन सकेको छैन’–शिक्षिका रैमा घर्तीको भन्छिन्–‘विद्यालयको मर्मत नहुँदा विद्यालयमा अध्ययनरत झण्डै तीन सय बालबालिकाहरुको पठनपाठन अवरुद्ध भएको छ, यो बालबालिकाको भविष्यमा खेलवाड भइरहेको छ ।’
विद्यालयको छानो मर्मतका लागि सरकारी तथा गैरसरकारी सरोकारवाला संघसंस्थासँग माग गर्दा समेत कुनै सुनुवाई नगरिएको विद्यालय व्यवस्थापन समितिको गुनासो छ । समयमै पठनपाठन सञ्चालन नहुँदा बालबालिकाहरु मर्कामा परेका छन् ।

प्रतिक्रिया