खोजखबर

व्यर्थै एमाओवादीलाई भोट हाल्न लगाएछु

सौर्य अनलाइन २०७० वैशाख १६ गते २:१६ मा प्रकाशित

Rameshदेशमा पञ्चायती शासनको दबदबा थियो । त्यतिबेला हाम्रो सांगीतिक आवाज जनताका बीच जाने गतिलो माध्यम बनेको थियो । ‘गाउँगाउँबाट उठ, बस्तीबस्तीबाट उठ’ भन्दै गाउँगाउँ पुग्थ्यौँ । परिवर्तनका लागि जनतालाई जागृत गराउने सशक्त माध्यम बनेका थिए, हाम्रा सांस्कृतिक कार्यक्रम ।

०२४ सालमा पारिजातको नेतृत्वमा सांगीतिक समूह ‘राल्फा’ बनायौँ । ‘राल्फा’ कुनै पार्टीको नजिक थिएन । हामी आफ्नै किसिमले देश र जनताप्रति प्रतिबद्ध थियौँ । समाजका अन्याय, अत्याचार, असमानता, विकृतिविरुद्ध जनतामा जागरण ल्याउने उद्देश्य थियो । हाम्रा गीतमा श्रमजीवी जनताको भोको पेट र नांगो आङका दारुण कथा हुन्थे । असमानता हटाउनुपर्ने युगीन सन्देशहरू गुन्जिन्थे ।
सबैको रगत रातो हुन्छ, जातिपातीका आधारमा भेदभाव हुनुहँुदैन भन्दै गाउँबस्ती पुग्थ्यौँ । उति बेलाका कम्युनिस्टहरू पनि त्यसै भन्थे । अन्तर्राष्ट्रिय भाषा र जातिको वकालत गर्थे । तर, अहिले आएर जातीय राजनीतिको वकालत भएको देख्दा दु:ख लाग्छ । हाम्रै गीतका कारण आजको लोकतान्त्रिक नेपालको आधारभूमि तयार भएको हो । उतिबेला हामीले समानताको गीत गाउँदा गाउँका जालीफटाहरू भन्थे– ‘दमाईं, कामी उचाल्ने यिनीहरूलाई खेद्नुपर्छ ।’ हामी डटिरहन्थ्यौँ, वर्गविभेद गर्न पाइँदैन भन्दै ।
अहिले लाग्छ– हामीलाई पार्टीहरूले प्रयोग गरेछन् । खासमा त हामी जनताका लागि उपयोग हुन चाहन्थ्यौँ । तर, कसरी–कसरी पार्टीका लागि हुन पुगेछौँ । जनताको जीवन उकास्न आन्दोलनमा होमिएका हामी । आज हेर्दा त जनता होइन, नेता पो उकासिएछन् । उतिबेला हाम्रा गीत समाज परिवर्तनको लक्ष्य बोकेर हिँडेका पार्टीहरूका लागि सहयोगी बनेका थिए । परिवर्तनको मुख्य शक्ति पार्टी हो भन्ने हामीलाई लागेको थियो । तर, आज त पार्टीहरू मैलिइसकेछन् । त्यसैले त हाम्रा सपना अधुरै रहे । हिजो राणाहरूले जे गर्थे, कांग्रेस त्यही बाटोमा हिँड्यो । कांग्रेसकै बाटो एमालेले पछ्यायो । एमालेको पछि एमाओवादी लाग्यो । जनताको अवस्थामा केही सुधार भएन । तत्कालीन अवस्थामा माले पार्टी बनाउन अग्रणी भूमिका खेलेका थियौँ हामीले । यसैकारण हामीलाई कलाकार होइन, ‘झापाली, टाउको कटुवा’ भन्ने पनि थिए । गीतमार्फत जनताको साथ नजितेको भए पञ्चायतले हामीलाई उतिबेलै सकिसक्थ्यो । उर्दी त जारी गरेकै थियो– यिनीहरूलाई गोली ठोकेर मार्नू †
पार्टीहरू जनताका बीच जान सक्ने अवस्था थिएन । नेता–कार्यकर्ता कोही जेलमा त कोही भारततिर । कोहीचाहिँ कम्युनिस्ट सिध्याउन सघाउँछौँ भन्दै पञ्चायततिरै मिलिरहेका थिए । यो स्थितिमा हामी गितार र हार्मोनियम बोकेर गाउँगाउँ पुग्थ्यौँ । जनताबीच जाने भरपर्दो माध्यम हाम्रा लागि त्यही आवाज नै थियो । कठिन अवस्थामा राजनीतिबाट पलायन हुनेहरू नै आज ठूल्ठूला कुरा गरिरहेका देखिन्छन् । हामीले पनि आफ्ना लागि मात्रै सोचेका भए अवसरहरू नदेखेका होइनौँ । तर, अध्ययन र अनुभवले एउटै कुरा सिकाएको छ– मानवजातिको सेवा । जीवनभर यसैलाई पछ्याउँदै हिँड्यौँ ।
‘उठ हे जाग भोका नांगा, जाग हे संसारका श्रमजीवी’ गीत उतिबेला निकै लोकप्रिय भयो । खासमा यो अंग्रेजी शब्दलाई मैले नेपालीमा अनुवाद गरेको हुँ । आज सबै कम्युनिस्टले गाउँछन् । तर, त्यसको भावना कत्तिको व्यावहारिक हुँदै छ, उनीहरूलाई थाहा छैन । माले पार्टीका लागि बनाइएको थियो त्यो गीत । गीत गाउँदागाउँदै धेरैपटक प्रहरीले गिरफ्तार प्रयास गर्थे । प्रहरीबाट जनताले उम्काइदिन्थे । एकातिरबाट प्रहरीले तान्ने, अर्कोतिरबाट जनताले तान्ने अवस्था धेरैपटक भयो । ०२७/ ०२८ तिर थुप्रै गाउँमा कार्यक्रम गरियो । प्रहरी आएको सुइँको पाउनासाथ बत्ती निभाएर जनता हामीलाई लुकाउँथे । रातभरि हिँडाएर सुरक्षित स्थानमा पुर्‍याउँथे । कता पुग्यौँ, आफँैलाई थाहा हुदैनथ्यो । धेरै ठाउँमा सरकारी कर्मचारीले पनि बचाएका थिए ।
भोजपुरमा ‘कोही त भने जहाजमा हरर, कोहीको भने पसिना तरर हाम्रो नेपालमा’ गीत गाउँदा प्रहरीले पक्राउ गर्‍यो । जनताले प्रतिकार गरिदिए– ‘यही गीत गाउँदा यिनीहरूलाई थुन्ने भए राजा महेन्द्रलाई पनि थुन । ‘काहीँ छ पेट खाली काहीँ छ सुनको थाली’ बोलको गीत उनले पनि त लेखेका छन् नि † त्यो गीतमा पनि समानता नारा छ ।’ त्यसपछि हामीलाई छोडिदियो ।
०२८ सम्म राल्फाको ‘चार्म’ निकै थियो । तर, नेपालका कम्युनिस्ट पार्टीमा आएको विभाजनको प्रभाव हामीमा पनि पर्‍यो । पारिजातको नेतृत्वमा एउटा समूह चौथो महाधिवेशन भन्ने पार्टीतिर लाग्यो । हामी मालेमै रह्यौँ । समयसँगै म पनि पार्टीमा रहन सकिनँ । नेताहरूको त्याग–निष्ठाको भावनामा ह्रास आउन थालेपछि हामीले विरोध गर्‍यौँ । हाम्रै आवाजका कारण पार्टीमा लाखौँ जनता समेटिएका थिए । देशमा मन्डलेहरूको जगजगी थियो । जनताको माया जति पाउँथ्यौँ, जाली–फटाहहरूको घृणा र अपमान पनि उत्तिकै खेप्नुपथ्र्यो । नेताहरू भागाभागको अवस्थामा रहँदा पनि पार्टीको प्रचार गर्‍यौँ । तर, त्यही पार्टीले ०३९ सालमा हामीलाई निकालिदियो ।
त्यसपछि हामी एउटै विचारका राल्फालीहरू पार्टीमा लागेनौँ । ०४६ सालको आन्दोलनमा आफ्नो किसिमले सहयोग गर्‍यौँ । पक्राउ पर्‍यौँ । सोही क्रममा रायनलगायतसँग जेलमा भेट भयो । हिजो पनि सँगै थियौँ, आज पनि सँगै हिडौँ भनेर फेरि हात मिलायौँ । युवावस्थाको त्यो जोस आज ६९ वर्षको उमेरमा पनि कायमै छ । जबसम्म जनताको माया र साथ पाइन्छ, जोस रहिरहनेछ । र, हामी पनि सँगै छौँ ।
०००
टाढाटाढाबाट जनता हाम्रा गीत सुन्न आइपुग्थे उतिबेला । उनीहरूको चाहना पूरा गर्न हामी कहिलेकाहीँ दिनभरि भोकभोकै गाउँथ्यौँ । जनताले हामीलाई मन पराउनुमा हाम्रो आनीबानी पनि मुख्य थियो । हाम्रो चालचलन, व्यवहार नियाल्थे । सबैलाई माया र सम्मान गथ्र्यौं, बदलामा आफूले पनि त्यही पाउँथ्यौँ । एकपटक भोजपुरमा कार्यक्रमका लागि जाँदा बिरामी परेर साहै्र थलिएको थिएँ । नजिकैका औषधिपसलेले औषधि र भिटामिन ल्याएर दिए, स्वत:स्फूर्त रूपमा । लुगा फाटेका हुन्थे, पैसा हुँदैनथ्यो । तर, जनतासँग केही माग्दैनथ्यौँ । खानेकुरा जे दिन्थे, त्यसैले भेट भथ्र्यौं ।
हुन त म सम्पन्न परिवारकै मान्छे हुँ । वैभवमा हुर्किएँ । चाहेको भए व्यक्तिगत हितका लागि धेरै गर्न सक्थेँ । तर, आफ्नो सीप, क्षमता र समय सबै जनतामै समर्पण गर्न मन लाग्यो । अहिलेको राजनीतिक परिणाम देख्दा दु:ख त लाग्छ तर आफूले समय बर्बाद गरियो कि भन्ने पछुतो पटक्कै छैन । प्राप्त उपलब्धिको उपयोग हुन पाएन, एउटा पाटो हो । तर, त्यो उपलब्धिप्राप्तिका खातिर आफ्नो पनि केही भूमिका रहेकोमा गौरव लाग्छ । ‘आमा, दिदीबहिनी हो, कत्ति बस्छाँै दासी भई सुखको सधैँ प्यासी बनेर,’ ‘छोरीको यो जुनीलाई हेला गरी हिँड्नेलाई आफ्ना शक्ति देखाउछौँ अब तिनैलाई’ जस्ता गीत गाउँदा सुन्ने महिला निकै कम हुन्थे पहिले तर आज सामाजिक नेतृत्वमा महिलाहरू पुगेका छन् । सन्तुष्टि लाग्छ । भरिया, हली, महिला, ज्यामीलगायत थिचोमिचोमा परेका सबैको प्रतिनिधिपात्र भएर गीत गायौँ । जे गर्‍यौँ ठीक गर्‍याँै, एउटा नागरिक भएका नाताले हामीले गर्नुपर्ने त्यही थियो ।
पछिल्ला दिन मुलुकमा आएको राजनीतिक परिवर्तनसँगै हामी जनताबीच जानुपरेका छैन । ३२ वर्ष भयो, साथीहरू मिलेर स्कुल खोलेका छौँ । त्यहीँ पढाउँछु, संगीत सिकाउँछु । उतिबेला विद्रोहको गीत गउँथेँ, अहिले बालाबालिकालाई जीवन जिउने गीत सिकाउँछु । आज पनि हाम्रा गीतको उत्तिकै महत्त्व छ । तर, सत्तामा पुगेपछि सबै उस्तै हुँदा रहेछन् । उति बेलाको सत्तासीन पञ्चायतले हाम्रा गीत दबाउन खोज्यो । समयसँगै सत्तामा पुग्ने अरूले पनि दबाउन खोज्दै छन् । तर, संगीतको शक्ति उनीहरूले सोचेभन्दा धेरै बलियो हुनेछ, जनताका बीच गए थाहा पाउनेछन् ।
हाम्रा गीतलाई टेकेर माथि पुगेकाहरू नै आज ती गीतसँग झस्किँदै छन् । देशमा बहुदल आएपछि ‘बलिदान’ फिल्ममा ती गीत घन्किए तर एकाएक रोक लगाइयो । झलनाथ खनाल सञ्चारमन्त्री थिए, उनलाई गएर भनेँ– ‘यिनै गीतहरूले तपाईंहरू स्थापित हुनुभयो, आज यिनैलाई रोक लगाउने †’ मालेमा हामी सँगै थियौँ । उनले सहयोग गर्छु भने ।
पछिल्लो समय एमाओवादीलाई सहयोग गरेँ । उनीहरूले केही गर्लान् कि भन्ने आशा थियो । आफू जमानी बसेर माओवादीलाई भोट दिन जनतासँग आग्रह गरेँ । आखिर ऊ पनि उस्तै रहेछ । यो सत्ता भन्ने चिजै यस्तो हो कि के हो ? जजसलाई भोट दिन आग्रह गरेको थिएँ, उनीहरू आज मैलाई सोध्छन्– ‘यो पनि उही त रहेछ नि ? किन भोट दिन लगाउनुभयो ?’ पीडा हुन्छ यस्तो सुन्दा, व्यर्थै भोट हाल्न लगाएछु । राणाको नेपाल, साहको नेपाल, काग्रेसको नेपाल, एमालेको नेपाल र एमाओवादीको नेपाल हेरौँ । अब जनताको नेपाल हेर्नु पर्छ । ‘उहिलेजस्तो छैन है अब नेपालमा, तिम्रो विश्वास छैन है हाम्रो नेपालमा’ भन्ने गीत गाउन मन लाग्छ, बेलाबेला ।
प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय