भ्रमणको महत्त्व

एमाओवादी अध्यक्ष अहिले भारत भ्रमणमा छन् । उनले केही समयअघि छिमेकी मित्रराष्ट्र चीनको पनि भ्रमण गरेका थिए । दुवै मुलुकको भ्रमणपछि नेपालले आर्थिक विकास गर्न सक्ने ठम्याइ दाहालको रहेको छ । तर, केमा स्पष्ट हुन जरुरी छ भने पेकिङ र दिल्लीमा झुठ र मीठा कुराले काम गर्दैन् । त्यहाँ कूटनीतिक मर्यादाअनुरूप स्पष्ट र पत्याउने कुराले मात्र काम गर्छ । दाहालले चीन र भारतको मित्रता बढाउने कुरा अथवा त्रिदेशीय सहकार्यका गफ गर्नुभन्दा पनि नेपालको जलस्रोत, भौतिक निर्माण र समग्र विकासका लागि छिमेकी मुलुकहरूलाई गुहार्नु सान्दर्भिक हुन्छ । त्यसमा पनि भौगोलिक, सांस्कृतिक तथा सामाजिक हिसाबले भारतले निकै ठूलो सहयोग गर्न सक्छ । यसमा राजनीतिक सहयोगभन्दा पनि आर्थिक विकासको क्षेत्रलाई प्रशय दिन गुहार माग्न सक्ने अवस्था छ । तीव्र गतिमा विकास गरिरहेका दुवै छिमेकीबाट नेपालले यथेष्ट सहयोग लिन सक्ने अवस्था पनि रहेको छ । तर, लगानीको क्षेत्र फराकिलो बनाउने, लगानी सुरक्षित हुने ग्यारेन्टी गर्ने, साथै आफ्ना नियम कानुन लगानी मैत्री बनाउने कार्य नेपालले गर्न सक्नुपर्छ । अन्यथा छिमेकीहरूको लगानी भित्रिन सक्तैन । केही समय अघिसम्म विस्तारवादी भारत भन्दै सुरुङ युद्धको थालनी गर्ने एमाओवादीले बिप्पा सम्झौतासमेत गरी सकेको छ । तर, सम्झौता गरिसकेपछि पनि एमाओवादीका कार्यकर्ताले विकास कार्यमा अवरोध, चन्दा आतंक र तोडफोड गरिरहेका छन् । यसर्थ, भारतले लागनी गर्ने वातावरण निर्माण गर्न पहिलो कुरा एमाओवादीको आचारणमा सुधार हुनै पर्छ ।
दाहालको यो भ्रमण राष्ट्र प्रमुख वा सरकार प्रमुखका रूपमा होइन एउटा पार्टीका नेताका रूपमा भइरहेको छ । कूटनीतिमा निकै खारिएका र विश्वमै विश्वास आर्जन गरिसकेका चीन र भारतले दलकै एक नेताको हैसियतमा मात्र दाहाललाई हेर्नेछन् । कति विश्वास गर्ने र दूरगामी प्रभाव पार्ने सहमति गर्ने वा नगर्ने भन्ने कुरा दिल्ली अथवा पेकिङले भ्रमण अगाडि नै तय गरिसकेका हुन्छन् । यसरी हेर्दा पहिला गरेका गल्तीप्रति क्षमा माग्नका लागि मात्र यो भ्रमण भएको हो भन्न सकिन्छ । तर, सहमति, सम्झौता र प्रत्यक्ष असर पुग्नेबाहेक विभिन्न विषयमा छलफल भने हुन सक्छ । साथै एमाओवादी अब उपरान्त बहुलवाद, लोकतन्त्र, सुशासन र कानुनी राज्यको पद्धतिप्रति विश्वास गर्छ भन्ने भावना छिमेकमा जगाउन यो भ्रमण सार्थक हुन सक्छ । अध्यक्ष दाहालले ठूला कुरा नगरी आफ्नो र मुलुकको वास्तविकतालाई ध्यानमा राख्दै वार्ता गरे भने निर्वाचनपछि बन्ने सरकारलाई छिमेकीहरूसँग व्यवहार गर्न सहज हुनेछ । हाम्रा दुवै छिमेकीको अहिलेको सोच भनेको आर्थिक विकास गर्नु नै हो । यसका लागि उनीहरू आफ्ना छिमेकीहरू पनि सम्पन्न बनून् भन्ने चाहन्छन् । यसबाट भने नेपालले फाइदा लिन सक्छ । दाहालको भ्रमण यसको सेरोफेरोमा रहन जरुरी छ ।
चीन नेपालमा स्थिर सरकार र दह्रो सहयोगीको खोजीमा छ । यता भारत भने नेपालप्रति केही भिन्न धारणा राख्छ । नेपालको राजनीतिमा भारत अप्रत्यक्ष रूपमा आफ्नो भूमिका स्थापित गर्न चाहन्छ । यस पक्षलाई नेपालीले पनि बुझेका छन् । खासमा नेपाली नेताले भारतसँग आफ्नो व्यक्तिगत र आफ्नै पार्टीको विषयमा मात्र कुरा गर्ने गरेको भारतको गृहमन्त्रालयले स्पष्ट पारिसकेको छ । जसले जतिसुकै गफ गरे पनि बिपी कोइराला, कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीबाहेक अन्य नेताले आफ्नो राष्ट्रको हितका लागि अहिलेसम्म भारतसँग कुरा नगरेको स्पष्ट भएको छ । एमाओवादीको राष्ट्रवादी बन्ने एक अस्त्र ठानिएको १९५० को सन्धि खारेजीको मुद्दा भारत पुगेर दाहाललगायत कसैले उठाउने गरेका छैनन् र यो भ्रमणमा पनि त्यो मुद्दा उठ्ने छैन । तसर्थ, योपटक भएको अध्यक्ष दाहालको भ्रमण आर्थिक मुद्दामै केन्द्रित हुन जरुरी छ । साथै उनले आफ्नो दल लोकतन्त्रमा विश्वास गर्छ भन्ने विश्वास पनि दिलाउन सक्नुपर्छ । त्यसो भएमा भ्रमण सफल ठहरिनेछ ।

प्रतिक्रिया