नौवर्षे काराबासपछि पनि अपराधमै

Kedar-Kshetriकाठमाडौं, १६ वैशाख । पत्नीको हत्यापछि नौ वर्ष कारावास बसाइले पनि ललितपुरको इमाडोल–९ का ३२ वर्षीय केदार खत्री क्षत्रीको आपराधिक मनोवृति बदल्न सकेन । बरु अपराध गर्ने शैली अझ परिष्कृत र संगठित पो बनेको पाइएको छ । कारागारमै भेटेका व्यक्तिहरूलाई सजाय भुक्तानपछि संगठित बनाई क्षत्री आपराधिक कार्यमा सक्रिय भएको खुल्न आएको छ ।

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले ४ वैशाखमा गरेको क्षत्रीको विषयमा अनुसन्धानका क्रममा अपराध गर्ने शैलीमा उनको ‘छलाङ’बारे खुलेको हो । साइबर अपराधमा संलग्नताको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । क्षत्रीको धन्दामा सघाएको अभियोगमा नाइजेरियाली नागरिक ३५ वर्षीय फेमी इमान्युवल अजवेदे पनि समातिएका छन् । प्रहरीका अनुसार अजवेदेले बंगलादेशस्थित चटगाउँ विश्वविद्यालयबाट ‘डाक्टर पास’ गरेका छन् । २००५ देखि नेपाल बस्दै आएका अजवेदेले नेपाल प्रहरीकै असईसँग बिहे गरेका छन् ।
महाशाखा प्रमुख एसएसपी विजयलाल कायस्थका अनुसार खत्री र अजवेदेसहितको टोलीले २० लाख अमेरिकी डलर जितेको भन्दै महाराजगन्जका राजकुमार श्रेष्ठको मोबाइलमा एसएमएस गरे । उनीहरूले एसएमएसमार्फत नै ‘१२ कल–मोबाइल थाइल्यान्ड मोबाइल अवार्ड’ जितेकामा श्रेष्ठलाई बधाई दिए र उक्त रकम पठाउन सबै विवरण खुलाइएको पत्र मागे । उनीहरूले १० चैतमा एसएमएस गरेको पाइएको प्रहरीले जनाएको छ ।
२० लाख अमेरिकी डलर जितेको एसएमसपछि चकित खाएका श्रेष्ठले त्यही दिन आफूले एसएमएस पाएको ‘कन्फर्मेसन’सहित उनीहरूलाई इमेल पठाएको पाइएको एसएसपी कायस्थले बताए । उनका अनुसार १२ चैतमा उनीहरूले श्रेष्ठलाई इमेलमार्फत नै जितेको सबै रकम थाइल्यान्ड बैंकको टेम्पोररी एकाउन्टमा जम्मा भइसकेको खबर गरे । त्यसका लागि खबर गर्न उनीहरूले फेरि अर्को इमेल दिए । १४ गते प्रशासनिक कामबापत लाग्ने रकम पठाउन भने । श्रेष्ठले सोहीअनुसार २९ गतेसम्म पटक–पटक गरी २३ लाख ६७ हजार दुई सय ६२ रुपियाँ पठाए । उनीहरूको माग अझै रोकिएन । श्रेष्ठसँग पुन: १० लाख रुपियाँ माग भयो । त्यसपछि मात्रै उनलाई आफू फसिएको महसुस भएछ । उनले त्यसपछि भने तत्कालै प्रहरीमा उजुरी गरे ।
प्रहरीले तत्काल उक्त घटनाको अनुसन्धान अघि बढायो । श्रेष्ठलाई पठाउने गरेको इमेलको आइपी खोजियो । सोही आइपीकै आधारमा अन्तत: खत्री पक्राउ परे । उनैको बयानका आधारमा अजवेदे पनि समातिए । प्रहरीलाई दिएको बयानअनुसार अजवेदेले १४ लाख रुपियाँ लिइसकेका छन् ।
‘साइबर अपराधको यो पछिल्लो उदाहरण हो । यस्तो अपराध अचेल बढ्दै गएका छन्,’ एसएसपी कायस्थले भने, ‘यस्तै प्रकृतिका झुटा एसएमएस मलाई पनि आएको थियो । अरूलाई पनि आएको हुन सक्छ ।’
प्रहरीबाट प्राप्त रेकर्डअनुसार क्षत्रीले पत्नी सरस्वती केसीलाई इमाडोलस्थित घरमै हत्या गरी कखुराको खोरमुनि गाडेका थिए । ललितपुर जिल्ला अदालतले २ असोज २०५३ मा आठ वर्ष नौ महिनाको कारावास सजायको फैसला सुनाएको थियो । उनले सबै सजाय एकान्तकुनास्थित नक्खु जेलमा भुक्तान गरेका थिए । प्रहरी स्रोतका अनुसार क्षत्रीले लागुऔषध कारोबारमा सजाय भुक्तान गरिरहेका एक नाइजेरियालीलाई जेलमै भेटेका थिए । उनैमार्फत क्षत्रीले अजवेदेलाई भेटेका थिए । जेलबाट छुटेपछि उनीहरूबीचको सम्बन्ध अझ नजिकिन थाल्यो । त्यसलगत्तै डाँका गर्न लागेका क्षत्रीले त्यसबेला अजवेदेलाई प्रयोग गरेका थिएनन् ।
‘क्षत्रीले सबै डकैतीका घटनामा स्थानीय आपराधिक समूहलाई पनि परिचालन गरे । पटक–पटक पक्राउ परेपछि भने उनी अपराधलाई नयाँ तरिकाले सञ्चालन गर्ने सोचमा पुगे,’ प्रहरी स्रोत भन्छ, ‘त्यसपछि मात्रै उनले अजवेदेलाई प्रयोग गरेको देखिन्छ ।’
प्रहरीका अनुसार उनी डकैतीसम्बन्धी पाँचवटा घटनामा पक्राउ परिसकेका छन् । केही वर्षअघि राजकुमार नगरकोटीसहितको टोलीले बानेश्वरस्थित विष्णु पाण्डेको घरमा डकैती गरेको थियो । ७ लाख ७० हजार डकैत गरेका उनीहरूले पाण्डेको अमेरिकाको भिसा पनि लगेका थिए । भिसाका लागि डाँका समूहले रकमको बार्गेनिङ गरेको थियो । कलंकीस्थित एक होटलमा पाण्डेलाई बोलाई उनीबाट रकम असुले पनि भिसा भने पानीमा भिजाई च्यातेर फालिदिएका थिए ।
उनको समूहले १ पुस २०६७ मा राजेश गुरुङको घरबाट ४ लाख ९८ हजार रुपियाँ, २३ असार २०६७ मा मैया कार्कीको घरबाट १२ लाख ६७ हजार रुपियाँ डाँका मारेको थियो । केही वर्षअघि पुन: पक्राउ परेका उनी ५० हजार धरौटीमा छुटेका थिए । त्यसबेला उनलाई ६ महिना केन्द्रीय कारागारमा राखिएको थियो ।

प्रतिक्रिया