लगानीकर्ता सुनबाट सेयर बजारतिर

share_non_movedकाठमाडौं, १५ वैशाख । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा अत्यधिक उत्तारचढाव आएको छ । विश्व सुन बजारमा कमोडेटी बजारका ठूला लगानीकर्ताले सुन बिक्री गर्नु तथा युरोपियन मुलुक साइप्रसमा देखिएको आर्थिक मन्दी न्यूनीकरण गर्न साइप्रस सरकारले ठूलो परिमाणमा सुन बिक्री गर्ने निर्णयसँगै बजारमा एकैचोटी सुनको मूल्य घट्न पुग्दा बजारमा अन्योलको वातावरण सिर्जना हुनपुग्यो ।

अन्तर्राष्ट्रिय बजारको कारण नेपाली बजारमा पनि तोलाको साठी हजार पुगेको सुनको मूल्य ४९ हजारमा झरेपछि सुन ब्यापारीले पसलमा तालाबन्दीसमेत गरे । यही अवस्था रहेको भए सुन ब्यापारी विस्थापित हुने थिए । तर, यो अवस्थाले लामो समय लिन सकेन । पुन: यसमा बढ्ने क्रम देखिएको छ । प्रतितोला ४९ हजार रुपियाँ पुगेको सुन अहिले ५२ हजार पुगेको छ ।
मागभन्दा आपूर्ति बढी भएको अवस्थामा एकाएक मूल्य बढ्नुपर्ने कुनै कारण नदेखिए पनि नेपालमा भने मूल्य बढ्नुमा सुन ब्यापारीको कार्टेलिङसमेत हुने आशंका गरिएको छ । जे होस् अब सुन बजार पनि सुरक्षित लगानीको क्षेत्रमा रहन सकेन । सुनको मूल्यमा पनि सेयरमा जस्तै अत्यधिक उत्तारचढाव आउने क्रमको सुरुआत भइसकेको छ । यो भनेको सुन बजार अन्योलमा छ भन्नु हो ।
अन्तर्राष्ट्रिय बजारको प्रभाव सबैभन्दा बढी नेपालमा परेको छ । हाम्रो बजार सबैभन्दा बढी संवेदनशील मानिन्छ । विश्वमा हुने सानोतिनो घटनाले पनि नेपाली बजार प्रभावित भइरहेको त्यस्ता घटनाले पुष्टि गर्दे आएको छ । योभन्दा केही समयअघि भने ग्रिसमा आएको आर्थिक संकटले सुनको मूल्य बढाएको थियो । सोही कारण युरोपियन युनियनले ग्रिसलाई पटकपटक गरी १ खर्व १५ अर्ब र १ खर्ब ५९ अर्ब डलर सहयोग गरे पनि सुनको मूल्य त्यतिखेर घटेको थिएन ।
तर, समस्या ग्रिसमा मात्र सीमित नरही युरोपका अन्य देशहरू जस्तो कि पोर्चुगल, हंगेरी, आयरल्यान्ड हुँदै इटालीसम्म पुग्यो । अमेरीकामा सत्तारूढ र विपक्षी दलबीच ऋण सीमा बढाउने विषयमा विवाद चुलिएपछि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अकासिएर अहिलेको अवस्थामा पुगेको हो ।
साधारणतया सुनको मूल्य बढेमा सेयरको मूल्य घट्छ र सेयर मूल्य बढेमा सुन मूल्य घट्ने सिद्धान्त छ । तर, हामीकहाँ सेयरमा हुने लागनी सुनमा गएको कारण सुनको मूल्य बढेको भने होइन । सेयरमा भन्दा सुनमा लगानी सुरक्षित हुने भन्दै सुनतर्फ केही लगानी बढे पनि आम नागरिकले भने सुनको मूल्य वृद्धिबाट खासै प्रतिफल लिन सकेनन् । अहिले सुनको मूल्य घटेपछि कारोवारमा अत्यधिक गिरावट आएको छ । सुन व्यवसायीले पसल बन्द गरेर बसिरहेको अवस्था छ । ०६२ सालसम्म गहनामा लगानी ९५ प्रतिशत र लगानीका रूपमा ढिका सुन किन्ने ५ प्रतिशत रहेकामा अहिले दैनिक बिक्री हुने सुनको ७० प्रतिशत गहनामा र ३० प्रतिशत लगानीका रूपमा ढिक्का सुन किन्ने गरेको नेपाल सुनचाँदी व्यवसायी संघले बताएको छ ।
सुनको मूल्य बढ्दै जाँदा ठूलो मात्रामा विदेशी मुद्रा विदेशिने कारणले नेपालको सोधनान्तर अवस्थामा असर गर्ने अर्थविद्हरूले टिप्पणी गरेको अवस्थामा अब भने सुनको मूल्य खासै नबढ्ने प्रक्षेपण गरिएको छ । सेयरको तुलनामा सुनको लगानी केही सुनिश्चित रहे पनि सबै लगानी एकै ठाउँ गर्नु उपयुक्त हुन सक्दैन । सुनको मूल्य घटेको कारण अब सेयरमा गरेको लगानीले सही प्रतिफल दिने अवस्थाको सुरुआत भएको छ ।
नेप्से ५ अंकले घट्यो
नेपाल स्टक एक्सचेन्जमा गत साता १ सय १३ कम्पनीको कारोबार भएको छ । जसमा ४ हजार १ सय ६ कारोबारबाट ३८ करोड २१ लाख ३८ हजार रुपियाँ बराबरका ११ लाख ८७ हजार ६ सय ७८ कित्ता सेयर खरिद बिक्री भएका छन् ।
यो भन्दाअघि १ सय ३ कम्पनीको कारोबार भएको थियो । जसमा ४ हजार ९१ कारोबारबाट ३६ करोड ६६ लाख ७६ हजार रुपियाँ बराबरका ११ लाख ७९ हजार २ सय ४६ कित्ता सेयर खरिद बिक्री भएका थिए । कारोबार रकममा गत साताको तुलनामा ४ दशमलव २२ प्रतिशतले वृद्धि भएको हो । कुल कारोबार मध्ये ‘क’ वर्गका कम्पनीहरूको मात्र २४ करोड २२ लाख रुपियाँ बराबरको कारोबार भएको छ । यो कूल कारोबारको ६३.३९ प्रतिशत हो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५ दशमलव ३३ अंकले ह्रास भई अन्तिम दिन ५ सय ८ दशमलव ३२ अंकमा पुगेको छ ।
त्यसैगरी ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १ दशमलव ५३ अंकले ह्रास भई १ सय २७ दशमलव ९२ अंकमा पुगेको छ । गत साता कारोबारको आधारमा ४ करोड ५१ लाख रुपियाँको सेयर किनबेच भई एभरेस्ट बैंक अग्रस्थानमा रहेको छ । त्यसै गरी कारोबार भएको सेयर १ लाख ३४ हजार ५ सय कित्ताको आधारमा सिद्धार्थ लगानी वृद्धि योजना अग्रस्थानमा रहेको छ । त्यसै गरी कारोबार संख्याको आधारमा ३ सय ९ वटाको आधारमा सिभिल बैंक अग्रस्थानमा रहेको छ ।
साताको उत्कृष्ठ कम्पनीमा एभरेस्ट बंैक, चिलिमे हाइड्रो पावर, नेपाल इन्भेस्टमेन्ट बैंक, नेपाल बंगलादेश बंैक र नेपाल एसबिआई बैंक रहेका छन्

प्रतिक्रिया