अवैध गिट्टी निकासी जारी

Gittiधनगढी, १५ वैशाख । कैलालीस्थित त्रिनगर भन्सार नाकाबाट अवैधरूपमा गिट्टी निकासी हुनेक्रम जारी रहेको छ । सिफारिसभन्दा बढी मात्रामा गिट्टी र प्रशोधित बालुवा भारत निकासी भएको तथ्यांकले देखाएपछि सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

जिल्ला विकास समिति (जिविस) कैलालीले गिट्टी र प्रशोधित धूलो निकासीका लागि दिएको सिफारिस परिमाणभन्दा बढी मात्रामा भारत निकासी भएको भन्सार कार्यालयको तथ्यांकले देखाएको छ । ढुंगा–बालुवा गिट्टी व्यवस्थापनसम्बन्धी समन्वय समितिको बैठकले गत ३ माघमा ६ हजार घनमिटर गिट्टी निकासीका लागि अनुमति दिने निर्णय गरेको थियो । महान्यायाधिवक्ताको कार्यालयले १३ फागुन ०६९मा अर्को आदेश नआएसम्म गिट्टी, बालुवामा रोक लगाएपछि भारत निकासी बन्द भएको थियो ।
सर्वोच्च अदालतमा परेको रिटको फैसलाले अर्घाखाँची र कपिलवस्तु बाहेकका अन्य जिल्लामा वातावरणमा प्रभाव मूल्यांकन गरी गिट्टी, प्रशोधित धूलो (बालुवा) निकासी गर्न सकिने जनाए पनि कैलालीमा त्यसको मूल्यांकन नगरी निकासी गरिँदै आएको छ ।
ढुंगा–बालुवा गिट्टी व्यवस्थापनसम्बन्धी समन्वय समितिका एक जना सदस्यका अनुसार हाल सरुवा भएर गएका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले निकासीमा हस्तक्षेप गरेका हुन् । उनले कस्तो हस्तक्षेप गरे भन्ने विषयमा बोल्न चाहेनन् । जिविस कैलालीका आलेप अधिकृत योगेन्द्रबहादुर चन्दले गत ३ माघमा बसेको समितिको बैठकले ६ हजार घनमिटर निकासी गर्न सिफारिस गरेको गिट्टी अहिले निकासी भइरहेको बताए ।
गत माघदेखि ३१ चैत सम्म ५ हजार १ सय ६१ घनमिटर गिट्टी, २ हजार सात सय ७७ घनमिटर प्रशोधित धूलो तथा १ देखि ११ वैशाखसम्म दुई हजार सात सय ८ घनमिटर गरी १० हजार ६ सय ४६ घनमिटर त्रिनगर भन्सार नाकाबाट भारत निकासी भएको भन्सार कार्यालयले जनाएको छ । जिविसले ६ हजार घनमिटर मात्र निकासीका लागि सिफारिस गरेकोमा ४ हजार ४ सय ४६ घनमिटर गिट्टी निकासी भइसकेको जनाइएको छ । जिविसले दिएको परिमाणभन्दा बढी गिट्टी, धुलो निकासी हुनु मिलोमतोको आशंका नेकपा एमालेका सचिव रणबहादुर चन्दले गरे । सो सम्बन्धमा अवैध रूपमा निकासी गरिएको भए क–कसको मिलेमतो छ तिनलाई कारबाही गर्नुपर्ने राष्ट्रिय उपभोक्ता मञ्च कैलालीका अध्यक्ष हरि रेग्मी बताउँछन् । स्थानीय रूपमा पाइने प्राकृतिक साधन स्रोत जथाभावी रूपमा बाहिरिने हो भने रित्तिने खतरा बढने रेग्मीको भनाइ छ ।
गिट्टीको चरम अभाव भइरहेकै बेला भारत निकासी हुनु उपभोक्ता अधिकार हनन् भएको बताउँदै रेग्मीले भने, ‘प्राकृतिक स्रोत साधनमाथिको पहिलो अधिकार स्थानीयवासीको हो ।’
कैलालीका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकले आफू भर्खर जिल्लामा आएकोले यस सम्बन्धमा के भइरहेको छ भन्ने कुरामा जानकारी लिने बताए । उनले सिफारिसभन्दा बढी गिट्टी भारत निकासी गरिएको पाइएमा कारबाही गरिनेमा जोड दिए ।
वातावरणलाई असर पर्ने गरी गिट्टी भारत निकासि हुन नहुने प्रमुख जिल्ला अधिकारी लेखकको भनाइ छ । ढुंगा–बालुवा गिट्टी व्यवस्थापनसम्बन्धी समन्वय समितिको संयोजक प्रमुख जिल्ला अधिकारी रहने व्यवस्था छ ।
सदस्यमा जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी सीमा सुरक्षा, जलउत्पन्न प्रकोप, जिल्ला भू–संरक्षण, वन, घरेलु तथा साना उद्योग, कैलाली भन्सार कार्यालयका प्रमुख तथा प्रतिनिधि रहने व्यवस्था छ । ढुंगा–बालुवा गिट्टी व्यवस्थापनसम्बन्धी समन्वय समितिको बैठकले भारत निकासीका लागि निर्णय गर्ने र सोही निर्णयका आधारमा जिल्ला विकास समितिले गिट्टी निकासीका लागि भन्सारलाई सिफारिस गरी पठाउनुपर्ने हुन्छ ।
चालु आर्थिक वर्षको साउनदेखि वैशाख ११ गतेसम्म ११ हजार ८ सय ९० घनमिटर गिट्टी भारत निकासी भएको भन्सार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गिट्टी निकासीबाट ३१ लाख ६२ हजार राजस्व संकलन भएको छ । ६५ लाख ७५ हजार मूल्यको गिट्टी भारत निकासी भएको छ ।

प्रतिक्रिया