छोरीहरूलाई ओबामाको घुर्की

Obamasछोराछोरी बिग्रेलान् भन्ने चिन्ता सबै बाबुआमालाई हुन्छ । छोराछोरीको हर्कतका कारण दुनियाँको टोकसो सुन्नुपर्ने परिस्थिति आउन नदिन मातापिता सानै उमेरदेखि उनीहरूलाई सुधारेर हुर्काउन चाहन्छन् । त्यसै अनुकूलको वातावरण निर्माण गर्न उद्यत रहन्छन् । प्राय: बाबुआमाको मनोविज्ञान एउटै हुन्छ– आफ्ना सन्तानको सबैले प्रशंसा गरिदिऊन्, उनीहरूबारे कहिल्यै कुनै गुनासो सुन्नु नपरोस् । पदीय हिसाबले जतिसुकै उच्च र सम्पन्न हैसियतको परिवार किन नहोस्, विश्वभरिकै मातापिताको साझा चुनौती हो, छोराछोरीलाई असल मार्गमा हिँडाउनु । तर, छोराछोरीको जातै बैगुनी । मातापिताको मायालु आग्रह अनि वात्सल्यपूर्ण चिन्तालाई उनीहरू आफ्नो स्वतन्त्रतामाथिको अंकुश सम्झन्छन् । किशोरावस्थाले पखेँटा हाल्नासाथ उनीहरू स्वतन्त्रताको आकाशमा उड्न चाहन्छन् । परिणामबोध गर्न सक्ने क्षमता विकास भइसकेकै हुँदैन, तैपनि आफूखुसी गर्न चाहन्छन् । यसमा मातापिताबाट अलिकति पनि अवरोध हुन थाले आफ्नो ल्याकतले भ्याएसम्मको सानोतिनो ‘पारिवारिक विद्रोह’ गर्न तम्सन्छन्, भुराभुरीहरू ।
अहिले यस्तै अप्ठ्यारोमा परेका छन्, अमेरिकी राष्ट्रपति बाराक ओबामा । उनका छोरीहरू शरीरमा ट्याटु खोपाउने इच्छा व्यक्त गरिरहेछन् । छोरीहरूको यो इच्छा राष्ट्रपति–दम्पतीका लागि टाउको दुखाइ बनिरहेको छ । यद्यपि ओबामाले एउटा चाल भने चलिसकेका छन्, जसले छोरीहरूको मन बदल्न रामवाणको काम गर्ने विश्वास उनले लिएका छन् । उनले छोरीहरूसँग घुर्की लगाएका छन्– ‘तिमीहरूले शरीरमा ट्याटु खोपायौ भने हामी (बुबाआमा) पनि आफ्नो शरीरको त्यही स्थानमा ट्याटु खोपाएर युट्युबभरि भिडियो हालिदिन्छौँ के †’
एनबीएससँगको अन्तर्वार्तामा ओबामाले भने– ‘सायद पूरै परिवारले ट्याटु खोपाउने यो धम्कीले परिवारमा भाँडभैलो मच्चाउन उद्यत मेरा छोरीहरूको मन बदलिदिनेछ ।’ उनी आफ्ना छोरीहरू क्रमश: १४ र ११ वर्षीया मालिया र सासालाई ट्याटु खोपाउन नदिन मनाइरहेका छन् ।
चेल्सी क्लिन्टनपछि ह्वाइटहाउस प्रवेश गर्ने पहिलो किशोरी हुन् मालिया र सासा । पिता बिल क्लिन्टन अमेरिकी राष्ट्रपतिका रूपमा सन् १९९३ मा ह्वाइटहाउस प्रवेश गर्दा चेल्सी १२ वर्षकी थिइन् ।
आफ्नी पत्नी मिचेलले हालै ‘आफू व्यस्त एकल आमा’ रहेको भनी गरेको टिप्पणीको बचाउ पनि ओबामाले एनबीएससँगको अन्तर्वार्तामा गरे । एक स्थानीय टिभीसँगको अन्तर्वार्ताका क्रममा त्यस्तो प्रतिक्रिया दिएलगत्तै आफ्नो मुखबाट गलत वाक्य निस्किएकोमा प्रथम महिला मिचेल चुकचुकाएकी थिइन् । पश्चिमा समाजमा एकल आमा अर्थात् ‘सिंगल मदर’ भन्नाले तिनलाई बुझिन्छ, जसले पतिबिना नै सन्तान लालनपालनको बोझ उठाउँछन् । ‘खासमा उनको आशय गलत होइन, जिब्रो चिप्लिएको मात्र हो’, ओबामाले पत्नीको बचाउ गरे, ‘जब म राष्ट्रपति पदको उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएको थिएँ, त्यतिबेला उनले एक्लै सबै काम गर्नुपर्‍यो, छोरीहरूको देखभालको जिम्मेवारी पनि उनी एक्लैको थाप्लोमा थियो । खासमा उनले यही कुरा बताउन खोजेकी हुन् ।’ (एजेन्सी)

प्रतिक्रिया