निराशाजनक डाक्टरी नतिजा

नेपाली जनता भरसक आफ्ना छोराछोरीले प्राविधिक शिक्षा हासिल गरून् भन्ने चाहन्छन् । त्यसमा पनि डाक्टर बनिदिए हुने थियो भन्ने चाहना उनीहरू राख्छन् । वास्तवमा हाम्रो शिक्षा काम लाग्दो छैन । थोरै रोजगारी दिलाउने शिक्षा भनेको प्राविधिक शिक्षा नै हो । तर, अभिभावकले उच्च लगानी गर्नुपर्ने हँुदा जेहेन्दार विद्यार्थी पनि यो शिक्षा लिनबाट बन्चित हुनुपर्ने अवस्था छ । त्यसमा पनि गरिब तथा मध्यम वर्गीय परिवारले चाहेर पनि आफ्ना सन्तानलाई डाक्टर वा इन्जिनियर पढाउन सक्ने अवस्था छैन । सीमित सरकारी कोटा, त्यसमा पनि ठूलाबडाको नाजायज हस्तक्षेप र पहँुचवालाको दबदबाका कारण पहँुच नहुने गरिबका छोराछोरी जतिसुकै जेहेन्दार भए पनि कोटाभित्र पर्न सक्तैनन् । यिनीहरू मानविकी संकायतर्फको कुनै विषय अध्ययन गर्छन् र उच्च शिक्षा प्राप्त गरेपछि पनि जागिर नपाई भौँतारिन्छन् । यसले एकातिर शैक्षिक बेरोजगारको संख्या बढाउछ भने अर्कोतिर समाजलाई निराश बनाउने काम गर्छ । वास्तवमा हाम्रो शिक्षा नीति व्यवहारिक छैन । नेपालमा रहेको विद्यमान शिक्षापद्धतिलाई नै परिवर्तन नगर्ने हो भने नेपालमा शिक्षा हासिल गरेकालाई विश्वका कुनै पनि मुलुकले मान्यता नदिने समय आउन सक्छ । यसतर्फ सम्बन्धित निकायको ध्यान पुग्न जरुरी छ । अर्थात् उच्च शिक्षा हासिल गरेपछि विद्यार्थीले कुनै प्रकारको काम पाउन सक्नुपर्छ । यसले मात्र राष्ट्रको शिक्षा कामलाग्दो पुष्टि हुन्छ । अन्यथा शिक्षा लिनुको औचित्य रहने छैन ।

प्राविधिक शिक्षामा सबैभन्दा राम्रो, महँगो र पास भएपछि तुरुन्त काम पाउने शिक्षा नेपालका हकमा चिकित्सा शास्त्र नै हो । यसमा विद्यार्थीले निकै लामो समय र ठूलो धनरासी पनि खर्च गर्नुपर्छ । अहिले सञ्चारमाध्यममा आएअनुसार चिकित्साशास्त्र अध्ययन गर्ने ७२ प्रतिशत विद्यार्थी फेल भएका छन् । यो विद्यार्थी, अभिभावक र मुलुककै लागि घातक परिणाम हो । त्यति महँगो शुल्क तिरेर पाँच वर्ष मिहिनेत गरेको चिकित्साशास्त्र अध्ययन गर्ने विद्यार्थी किन त्यति धेरै अनुत्तीर्ण भए ? पाँच वर्षसम्म डाक्टरहरूले के पढाए ? अब ती अनुत्तीर्ण विद्यार्थीले तिरेको शुल्क कसले फिर्ता दिने ? यस्ता प्रश्नहरू उठेका छन् । यसबाहेक ७२ प्रतिशत विद्यार्थी फेल हुने गरी अध्ययन गराउने कलेजलाई किन स्वीकृति दिइयो ? अनुगमनको व्यवस्था किन गरिएन ? टड्कारो रूपमा यी प्रश्नहरू अब उब्जिएका छन् । सम्बन्धित निकायले चित्त बुझ्दोसँग यसको जवाफ दिन सक्नुपर्छ । डाक्टर पढ्ने विद्यार्थी फेल हुनु भनेको त्यहाँको शिक्षापद्धति, शैली, अध्ययन गराउने व्यक्ति र व्यवस्थापन पूर्णरूपमा असफल हुनु हो । अब यस्ता शैक्षिक संस्थाहरू राखिनुहुन्न । यसले राष्ट्रलाई नै नराम्रो असर पुर्‍याउने हँुदा यस्ता संस्थाहरू खारेज गरिनुपर्छ ।
अहिलेसम्म चिकित्साशास्त्र संकायको अध्ययन गर्ने विद्यार्थी यति धेरै फेल भएको रेकर्ड थिएन । ७२ प्रतिशत फेल हुनु भनेको मानविकी, व्यवस्थापन र शिक्षाशास्त्र संकाय जस्तै चिकित्साशास्त्रको पनि अब काम छैन भन्ने मान्यता स्थापित हुनु नै हो । यो गम्भीर, निराशाजनक, त्रुटिपूर्ण र हदैसम्म हेलचेक्राइको पराकाष्ट हो । विद्यार्थीको मात्र होइन अभिभावकको समेत जीवन बर्बाद गर्ने काम भएको छ । अनौठो त के छ भने पाँच वर्ष पढेको विद्यार्थी कसरी र किन फेल हुन्छ ? एक वर्षमै विद्यार्थीले पास गर्न सक्तैन भन्ने शिक्षकलाई थाहा हुनुपर्छ । उनीहरूको समय र सम्पत्ति जोगाइ दिने काम शिक्षकको पनि हो । अहिले चिकित्साशास्त्र, नर्सिङ, इन्जिनियरिङ र कृषि विषयका निजी शिक्षालयहरू व्यापारका दृष्टिले खोलिएका छन् । पूर्वाधार केही छैन, प्राक्टिस् गर्ने स्थान छैन र उचित साथै योग्य शिक्षा दिन सक्ने अध्यापक छैनन् भने विद्यार्थी पास हुँदैनन् । करोडौँ लेनदेन गरेर हचुवाका भरमा कमाउनका लागि खोलिएका यस्ता क्याम्पसहरू तुरुन्त बन्द गर्नुपर्छ । र, अहिले फेल भएका विद्यार्थीका हकमा सरकारले उचित व्यवस्था गरेर पास हुने वातावरण तयार गरिदिनु पर्छ ।

प्रतिक्रिया