परिवारनियोजनलाई बेलायतको २ अर्ब सहयोग

काठमाडौं, १५ वैशाख ।काठमाडौं, १४ वैशाख । बेलायत सरकारले परिवारनियोजन संघलाई करिब २ अर्ब रुपियाँ सहयोग दिने भएको छ ।

परिवारनियोजनका साधनको प्रयोग बढाउन बेलायतले स्वास्थ्य मन्त्रालयको कार्यक्रमलाई निरन्तरता दिन उक्त रकम सहयोग गरेको हो । अर्थ मन्त्रालयमा शुक्रबार भएको सहमतिअनुसार बेलायतले परिवार नियोजनसम्बन्धी चारवर्षे कार्यक्रमका लागि सो रकम दिने भएको हो । सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भइसकेको मन्त्रालयले जनाएको छ । नेपालका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव र बेलायतका तर्फबाट डोमिनिक ओ निल तथा नेपालका लागि बेलायती सहयोग नियोगका प्रतिनिधिको उपस्थितिमा समझदारी भएको हो ।
यो कार्यक्रम ०७० भदौदेखि ०७४ असोजसम्म कार्यान्वयन हुनेछ । कार्यक्रम तेह्रथुम, भोजपुर, उदयपुर, रामेछाप, पर्वत, अर्गखाँची, रुकुम, कालिकोट, जाजरकोट, बझाङ, अछाम र डोटीमा सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया