एमाओवादीका कारण समस्या : ज्ञवाली

भैरहवा, १५ वैशाख । एकीकृत नेकपा माओवादीको वास्तविक पहिचान र अस्तित्व हराएको आरोप एमालेका पोलिटब्युरो सदस्य एवं प्रवक्ता प्रदीप ज्ञवालीले लगाएका छन् ।

नेकपा एमाले रुपन्देही क्षेत्र नं २ को दोस्रो क्षेत्रीय प्रतिनिधि सम्मेलनलाई भैरहवामा उद्घाटन गर्दै ज्ञवालीले भने, ‘राज्य सत्ताको प्राप्ति बन्दुकको नालबाट हुन्छ भनेर हिजो ०५२ सालमा हजारौँ मानिसलाई दिग्भ्रमित पार्दै आएको माओवादीले आज सबै एजेन्डा छाडेको छ । ०५७ सालमा प्रचण्ड पथ भन्दै भित्ता रंगाउने, बन्दुकको आडमा सत्ता कब्जा गर्ने माओवादीको पहिचान संकटमा छ । उसको टेक्ने डाली, समाउने हागो दुवै भाँचिएका छन् । वास्तवमा हिजो जुन मुद्दा उठाएर साह्रा नेपालीलाई सपना बाँडेर हिँडेको एमाओवादी आज घर न घाटको भएको छ । उसको अस्तित्व र पहिचान नै छैन ।’
नेता ज्ञवालीले एमाओवादी सिद्धान्त हराएको झुन्ड भएको आरोप पनि लगाए । उनले एमाओवादीकै कारण मुलुक संकटमा फसेको दाबी गरे । आगामी मंसिरमा चुनाव हुने र चुनावमा निर्वाचन क्षेत्र संशोधन हुने पनि बताए । नेता ज्ञवालीले आगामी निर्वाचनमा ‘मनी र मसल्स’ प्रयोग हुनसक्नेतर्फ संकेत गर्दै एमाले त्यसतर्फ सचेत भएको बताए । आगामी संविधानसभा निर्वाचनमा एमाले मुलुकको पहिलो शक्ति पनि बन्ने दाबी उनले गरे ।

प्रतिक्रिया