बलात्कार गर्न खोज्ने पक्राउ

राजविराज, १४  वैशाख । जबरजस्ती करणी गर्न खोजेको आरोपमा सप्तरीको बैरवा–५ निवासी ४५ वर्षीय रामफल यादवलाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको छ । घाँस काट्न गएकी एक स्थानीय महिलामाथि जबर्जस्ती गर्न खोजेपछि स्थानीयको सहयोगमा यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

यादवले बिहान करिब ८ बजे भारदह–१ निवासी साह थरकी महिलालाई एक्लै भएको मौका छोपी जबर्जस्ती गरेको प्रहरीले जनाएको छ । केराको बगैँचामा घाँस काट्न गएकी उनीमाथि यादवले हातपात गरेपछि उनी चिच्याउँदा अरूले थाहा पाएका थिए । यसबारे स्थानीयले खबर गरेपछि यादवलाई पक्राउ गरिएको सप्तरीका डिएसपी श्यामसिंह चौधरीले जानकारी दिए ।
हातपात गर्न खोज्दा पीडित महिलाले प्रतिकार गरेपछि महिलाले बोकेको हसियाले लागेर यादव सामान्य घाइते भएको डिएसपी चौधरीले बताए । यादवविरुद्ध इलाका प्रहरी कार्यालय, कञ्चनपुरमा जबर्जस्ती करणीको मुद्दा दर्ता भइसकेको जानकारी दिँदै डिएसपी चौधरीले कारबाही प्रक्रिया अघि बढिसकेको उल्लेख गरे ।

प्रतिक्रिया