साइपाल एकेडेमीको जित

काठमाडौं, १४ वैशाख । साइपाल एकेडेमीले प्रथम वीरेन्द्र पुस्तकालय सिक्स ए साइड फुटबल प्रतियोगितामा शुक्रबार सफलता हात पारेको छ । साइपालले दक्षिण ढोकालाई १–० गोलले पाखा लगायो । विजयी टिमका लागि जसबहादुर राईले गोल गरे ।

वीरेन्द्र पुस्तकालयद्वारा आयोजित प्रतियोगिताको अन्य खेलमा आईसीएसटी फाइनान्स, सिन्धु स्पोर्टस् क्लब र बौद्ध तामाङ गुठी विजयी भए । आईसीएसटीले टीएससीलाई १–० गोलले हरायो । राजन थापाले निर्णायक गोल गरे । सिन्धुले पाथीभारा स्पोर्टस् क्लबलाई २–० गोलले पराजित गर्‍यो । विजेताका लामाद्वय सुनील र बुद्धले गोल गरे । बौद्धले फ्रिडम क्लबलाई टाइब्रेकरमा ३–० गोलले हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

प्रतिक्रिया