युवा पलायनले पार्ने प्रभाव

वैदेशिक रोजगारीका लागि युवापलायनका कारणले कृषिलगायत अन्य क्षेत्रमा श्रमिकको अभाव खड्किन थालेको छ । उद्योगधन्दा, कलकारखाना र निर्माण आयोजनामा भन्दा पनि युवापलायको पीडा कृषि क्षेत्रले बढी नै बेहोर्नुपरेको छ । अहिले दूरदराज, ग्रामीण क्षेत्रदेखि तराईमा समेत कृषि मजदुर पाइँदैनन् । जसले गर्दा उब्जाउ र खेतीयोग्य भूमिसमेत बाँझै रहन थालेका छन् । गाउँघरमा वृद्धवृद्धा, बालबालिका र महिलाहरू मात्र देखिन थालेका छन् । हाम्रो युवाशक्ति सबैभन्दा बढी कामको खोजीमा छिमेकी मुलुक भारत पलायन हुने गरेको छ । त्यसबाहेक खाडी मुलुक र मलेसिया जानेको संख्या अधिक देखिन्छ । इजरायल, कोरिया र अन्य मुलुकमा पनि नेपाली कामदारको संख्या उल्लेख्य रहेको छ । सरकारी डाटाअनुसार मलेसिया र खाडी मुलुक जाने युवाको संख्या मासिक ४५ हजारको हाराहारीमा छ । नेपाल जस्तो थोरै जनसंख्या भएको मुलुकका लागि यो सामान्य संख्या होइन । युवा श्रमलाई स्वदेशमै खपत गर्न सक्ने अवस्था नरहनु मुलुककै दुर्भाग्य हो । राष्ट्रलाई गतिशील, विकसित र उन्नत बनाउने शक्ति भनेको युवाशक्ति नै हो । हाम्रो त्यही शक्ति पलायन भइरहेको छ । त्यो श्रमशक्तिलाई रोक्ने कुनै आधार तयार नभएसम्म हाम्रो मुलुकले आर्थिक प्रगति गर्न सक्तैन । कृषि उत्पादनलगायत कुनै पनि क्षेत्रमा नेपाल आत्मनिर्भर बन्न सक्तैन । यो ऊर्जाशील शक्ति पलायनले राष्ट्रमा दूरगामी नकारात्मक प्रभाव पार्नेछ । र, सबै क्षेत्रमा श्रमको अभाव, उत्पादनमा कमी, समाज उत्थानमा बाधा, सामाजिक वातावरणमा दुष्प्रभाव साथै विभिन्नखाले समस्या मुलुकले बेहोर्नुपर्ने छ ।
राष्ट्र विकासका लागि मुख्यभूमिका निर्वाह गर्न सक्ने युवाशक्ति नै राज्यको पहुँचबाट बाहिर हुन्छ भने त्यो शक्ति अर्काका लागि तयार भएको मान्नुपर्छ । अहिले नेपाल विदेशी मुलुकका लागि अदक्ष कामदार निर्यात गर्ने राष्ट्र भनेर चिनिन थालेको छ । यहाँको श्रमशक्ति प्रयोग गरेर विभिन्न मुलुकले आर्थिक उन्नति गर्न थालेका छन् । नेपाल भने आफ्ना होनाहार युवा कामदार बेचेर जीविका चलाईरहेको छ । अब राज्यले सोच्नुपर्छ यो डरलाग्दो महामारीको रूपमा फैलिएको रोगको उपचार के हो ? कसरी आफ्नो युवा श्रमशक्ति स्वदेशमै प्रयोग गर्ने ? कस्ताखाले योजना ल्याउँदा श्रम क्षेत्रको विकास र विस्तारसँगै राष्ट्रको विकास गर्न सकिन्छ ? यदि यी प्रश्नहरूको उत्तर अब पनि नखोज्ने हो भने हाम्रो देश विकासको अर्थ कामदार उत्पादनमै सीमित रहनेछ । वास्तवमा नेपालमा कृषियोग्य भूमि प्रशस्त छ । पशुपालन, तरकारी उत्पादन र फलफूल उत्पादन हुने क्षेत्र पनि प्रशस्त छन् । प्राकृतिक स्रोत, साधन र सम्भावना पनि पुग्दो देखिन्छ । यहाँ उचित व्यवस्थापन र दृढ इच्छाशक्ति भएको नेतृत्वको मात्र अभाव छ । यदि यो मुलुकले आफ्नो युवा श्रमशक्ति स्वदेशमै खपत गरेर देश विकास गर्ने संकल्प गर्ने हो भने हामीसँग सबैखाले स्रोत र साधन छन् । तर, त्यसका लागि कानुनी राज्य, सुशासन, योजना, व्यवस्थापन र उच्चमनोबल भएको नेतृत्व आवश्यक पर्छ ।
राजनीतिक अस्थिरता, नालायक नेता, भ्रष्टाचार, घूस, चन्दा, अशान्ति, द्वन्द्व र अराजकताका कारण युवाशक्ति रोजगारीका खोजीमा पलायन भएको हो । राजनीतिक नेतृत्व साह्रै भ्रष्ट र नालायक भएपछि श्रमशक्ति खर्चिनुपर्ने क्षेत्रहरू सबै तहस–नहस भए । विकासमा लगाउनुपर्ने राज्यको ढुकुटी केही ठूला नेता र मुठ्ठीभर व्यक्तिको व्यतिmगत सम्पत्ति जस्तो बन्न पुग्यो । नेता पनि फटाहा भएकै कारण नभएका व्यक्तिका नाममा पनि अर्बाैं लुटे । महालेखा परीक्षकको प्रतिवेदनले राज्यको ढुकुटीबाट ४८ अर्ब हराएको समेत प्रमाणित गर्‍यो । त्यो रकम एउटै दलका नेताको पोल्टामा जम्मा भएको छ । यदि त्यसलाई विकास कार्यमा खर्च गरिएको भए धेरै युवालाई स्वदेशमै रोजगारी दिन सकिन्थ्यो । तर, दुर्भाग्य नेपालका केही अदूरदर्शी, स्वार्थी र नालायक व्यक्तिका कारण विकासका सम्भावनाहरू समाप्त पारियो । यही कारणले हाम्रो युवाशक्ति कामका खोजीमा पलायन भएको हो । यसलाई रोक्न निकै कठिन छ ।

प्रतिक्रिया