अन्योल राजनीतिले अर्थतन्त्र संकटमा

rajendra-lohaniकाठमाडौं,१३  वैशाख । अन्योल राजनीतिले अर्थतन्त्र संकटग्रस्त बन्दै गइरहेको नेकपा (एमाले)का नेता तथा राष्ट्रिय बिमा संस्थानका पूर्वअध्यक्ष राजेन्द्रप्रकाश लोहनीले बताएका छन् । उनले अन्योलपूर्ण राजनीतिको प्रभाव सबैभन्दा बढी अर्थतन्त्रमा परेको भन्दै जबसम्म राजनीतिक पार्टी कमजोर भइरहन्छ तबसम्म आर्थिक अवस्था पनि सोही गतिमा केन्द्रित हुने दाबी गरे ।

सौर्यसँगको कुराकानीमा लोहनीले अर्थतन्त्र मजबुत बनाउन लगानी बढाउनुपर्नेमा जोड दिँदै भने, ‘जबसम्म स्थिर र स्थायित्व दिने सरकार बन्दैन तबसम्म लगानीको वातावरण सिर्जना हुन सक्दैन ।’ राज्यले चाह्यो भने असम्भव भन्ने कुरा केही नभएको बताउँदै उनले सही व्यक्तिलाई सही जिम्मेवारी दिनसके मात्र देशमा परिवर्तन आउने बताए ।
लोहनीले सार्वजनिक संस्थानलाई राजनीतिबाट मुक्त राख्नुपर्नेमा जोड दिए । उनले भने, ‘जबसम्म संस्थाको उच्च तहमा बस्ने व्यक्ति इमानदार हुँुदैन तबसम्म त्यस संस्थाको विकास र सुधार भन्ने कुरा हुनै सक्दैन ।’ मुलुक यति लामो समयसम्म अन्तरिम संविधानको भरमा चलिरहनु एउटा ठूलो दुर्भाग्य भएको भन्दै संविधान बन्न नसक्दा मुलुकले अपेक्षा गरेको धेरै कुरा पूरा हुनसकेका छैनन् । यसको प्रत्यक्ष प्रभाव राजनीतिमा परेको भन्दै लोहनीले राजनीतिले अर्थतन्त्रलाई प्रभावित पार्दै आएको बताए । उनको बुझाइमा राजनीति पार्टी देशको अर्थव्यवस्थातर्फ चिन्तित नबनेसम्म यस्तो प्रक्रिया जारी रहन्छ ।
त्यसैगरी, उनले धेरैजसो संस्थानमा दलका भातृसंगठनले नै युनियनका रूपमा रहेकाले एउटै संस्थानमा विभिन्न दलका नाममा मात्रै ५०/५५ जना युनियनका रूपमा कामै नगर्ने कर्मचारी रहनु दु:खद पक्ष भएको बताए । ती कर्मचारीले युनियनको नाममा विभिन्न सेवासुविधा लिने गरेका र युनियनका नाममा सञ्चालन खर्चदेखि फर्निचरलगायत बिभिन्न सुविधाका कारण थप बोझिलो बन्दै गएको उनको तर्क छ । राजनीति परिवर्तनसँगै संस्थानका प्रमुख तथा अध्यक्षमा हुने फेरबदलले त्यस्ता संस्थाको प्रगति दिन प्रतिदिन ओझलमा पर्न थालेको पनि लोहनीले बताए । मन्त्रीमा हुने हेरफेरसँगै संस्थानमा आउने परिवर्तन नै अहिलेको मुख्य कारक तत्त्व रहेको पनि उनको बुझाइ छ ।
तर, पनि पछिल्लो समयमा आएर संस्थानले आफ्नो अवस्था सुधार्दै लान सक्नुलाई सकारात्मक पक्ष भएकोमा उनले जोड दिए । अहिले आएर संस्थानले लगानी विविधीकरणलाई आत्मसात् गर्न थालेकाले आगामी दिनमा सुधारको बाटोमा जानेमा उनी आश्वस्त छन् ।

प्रतिक्रिया