युवा पलायनले कृषिमा श्रमिक समस्या

Mahilaभक्तपुर, १२ वैशाख । कामको खोजीमा युवाहरू विदेशिन थालेपछि कृषि, उद्योग, निर्माणलगायतका क्षेत्रमा काम गर्ने श्रमिकको समस्या चर्किएको छ ।

उपत्यकाकै सबैभन्दा धेरै तरकारी उत्पादन गर्ने जिल्ला भक्तपुरमा पढे लेखेका युवाहरू अध्ययनका लागि र अन्य युवाहरू श्रमका लागि विदेशिन थालेपछि विभिन्न क्षेत्रहरूमा समस्या देखिन थालेको हो । ०६८ को जनगणनाको तथ्यांक पूर्णरूपमा सार्वजनिक नभए पनि भक्तपुरमा हाल ३ लाख ४ हजार हाराहारीमा जनसंख्या रहेको एक तथ्यांकमा उल्लेख छ ।
जिल्लाका ६० प्रतिशतभन्दा बढी मानिसले कृषि पेसालाई आफ्नो मुख्य आय स्रोत बनाउँदै आएका छन् । उत्पादन भएका तरकारी बजारसम्म पुर्‍याउन यातायातको सुविधा र बजारको समस्या नभएकाले तरकारी खेती थालेको सुडालकी गंगा काफ्लेले बताइन् ।
उनले थोरै जमिनमा लगाएको तरकारीले परिवार चलाउन बच्चाहरू पढाउन निकै सहजसमेत भएकोमा जोड दिइन् । काम गर्ने मानिसको कमीले गर्दा गाउँमा नै आलोपालो पर्म गरेर खेतीपाती गर्नु सबैका लागि सहजसमेत भएको उनले बताइन् ।
सस्तो मूल्यमा अन्य क्षेत्रका तरकारीसँग प्रतिस्प्रर्धा गर्दै आएकोमा हाल श्रमिक, मल, बीउलगायतका समस्याले गर्दा अन्य ठाउँका तरकारीमा प्रतिस्पर्धा गर्न गाह्रो भएको किसानहरूले बताएका छन् । विगत दुई दशकदेखि कृषि पेसालाई अँगाल्दै आएका भक्तपुर नगरपालिकाका किसान कृष्णबहादुर कोजुले अहिले आएर कृषिपेसामा समस्याहरूको चाङ लागेको बताए । उनले सौर्यसँग कुरा गर्दै भने, ‘समयमै मल, बीउ मात्र नभएर पानीसमेत नपर्दा ठूलो समस्या देखिएको छ ।’
कृषिपेसालाई आधुनिकीकरण गर्ने भनेर सरकारले प्रचारप्रसार गरे पनि त्यही नाराको भरमा सरकारी र गैर सरकारी संस्थाले विदेशी सहयोग पचाउने गरेकोमा उनले दु:ख व्यक्त गरेका छन् । नेपालको मुख्य पेसा कृषि भए पनि सरकार र सम्बन्धित निकायले मतलव नर्गदा युवाशक्ती विदेश पलायन हुन बाध्य भएको समेत कोजुले बताए । जिल्ला प्रशासन कार्यालय भक्तपुरको तथ्यांकअनुसार हाल दैनिक २० भन्दा बढी व्यक्तीले कार्यालयबाट राहदानी लिने गरेको पाइएको छ ।
जिल्लाको बागेश्वरी, सुडाल, नंखेल, भक्तपुर नगरपालिकाको केही क्षेत्र, मध्यपुर नगरपालिकाको मनहरा फाँट र केही भू–भाग तरकारी खेतीका लागि परिचित ठाउँ हुन् । अन्य जिल्लाहरूको तुलानामा भक्तपुरको तरकारी कम विषादि प्रयोग र केही मात्रामा सस्तासमेत पाइने भएकाले उपभोक्ताबीच लोकप्रिय रहेको व्यापारीहरू बताउँछन् ।
काठमाडौंको कालिमाटी तरकारी बजारमा ठूलो हिस्सा ओगटेको भक्तपुरको तरकारीले हाल आएर भने घट्दै गएको स्थानीय व्यापारीहरूले बताएका छन् । तरकारीमा आपैँmमा आत्मनिर्भर भक्तपुर जिल्ला विगतका एक/दुई वर्षदेखि क्रमश: आयततिर बढेको देखिन्छ । भक्तपुरमा कृषिका लागि श्रमिकसँगै खेतीयोग्य जमिनमा आवास बनाइनु पनि एउटा समस्या भएको कृषि विज्ञको भनाइ छ । युवा पलायनले भक्तपुरको कृषि, इँटा उद्योग अन्य क्षेत्रसमेत दक्ष श्रमिक समस्या विकराल बन्दै गएको छ ।

प्रतिक्रिया