सन्दीपको जीवनसूत्र बेस्ट बन, फस्र्ट बन

Sandipकाठमाडौं, सपनाको सहर । दिनदिनै हजारौँ मानिस सपनाको पुन्तुरो बोकेर यसै नगरीमा छिर्छन् र त्यति नै वा त्योभन्दा बढी यो ठाउँसँग हारेर फर्कन्छन् । सपना पूरा गर्न त्यति सजिलो छैन, निराश अनुहारले चित्तबुझ्ने गरी जवाफ दिन सक्छन् । काठमाडौंमा सपनाको पछि लागेर हिँड्न गाह्रो छ । सपना सार्थक बनाउनेहरूको सफलताका किस्सा मात्र चर्चामा आउँछन्, त्यसका लागि उनीहरूले खेपेको दु:ख र संघर्ष आम व्यक्तिबीच गौण बनेर बस्छ ।

धेरै सपना साथ लगाएर विरगन्जका सन्दीप क्षत्री पनि १० वर्षअघि काठमाडौं छिरेका थिए । हुन त उपत्यका खाल्डो छिर्नुको उनको पहिलो बहाना स्नातकोत्तर अध्ययन थियो । तर, उनको प्राथमिकतामा अन्य धेरै लक्ष्य पनि थिए । बच्चैदेखि आफ्नो रुचि रहेका मिडिया र कलाकारितामा भविष्य पहिल्याउन चाहन्थे, तिनैका सहारामा काठमाडौंका कठिनतालाई परास्त गर्न चाहन्थे । त्यसैले काठमाडौं आगमनपछि पढाइ उनको ‘ब्याक अफ माइन्ड’का रूपमा मात्र रह्यो । लक्ष्यलाई काँधमा राखेर सहरी जीवनमा आइपरेका हरेक कुरालाई स्विकार्दै तिनलाई परिस्कृत पनि गर्दै लगे उनले । परिणाम– संघर्षका हरेक घुम्तीसँग पौठेजोरी खेल्दै संघर्षयात्राको एक दशकमा आज उनी लक्ष्यमा केही सफल भइसकेका छन्, परिचय कमाएका छन् ।
निजीस्तरमा रेडियो र टेलिभिजन खुल्ने क्रमसँगै सन्दीपको किशोर मस्तिष्कमा मिडियाको भूत चढिसकेको थियो । बुबाको क्लिनिक थियो तर उनमा डाक्टर बन्ने मोह कहिल्यै पलाएन । कारण– उनी बिरामी, दु:खीलाई हेरेर बसिरहन सक्दैनन्, चित्त कँुडिन थाल्छ । त्यसैले डाक्टर बन्ने पथमै लागेनन् । बरु बालवयदेखि नै मनमा गडेका कलाकारिता अनि सञ्चारकर्मतिर लागे ।
स्कुलमा हुने कार्यक्रममा राम्रो उद्घोषकका रूपमा परिचित थिए उनी । ०५७ सालमा हेटांैडाको मनकामना एफएममा काम गर्न ६० किलोमिटर दूरी यात्रातय गर्न तयार थिए । तर, दुर्भाग्य त्यो लक्ष्य पूरा हुन सकेन । मिडिया मालिकले उनलाई पत्याएनन् । उनले कलेज पढ्दासमेत स्टेजमा उत्रिएर आफूभित्रको मिडिया–जोस देखाइरहे । अन्तत: उनले विरगन्ज एफएममा काम पनि पाए । तर, विरगन्ज सानो क्षेत्र थियो । उनलाई लागिरहेको थियो– ‘मैले काठमाडौं जानुपर्छ ।’
वीरगन्जबाट ०६० सालमा उनी काठमाडौं हानिए– स्नातकोत्तर अध्ययनका लागी । ‘पढाइ ब्याक अफ माइन्ड’ का रूपमा थियो । तर, काठमाडौंमा मिडिया सपना पूरा गर्नु पनि थियो ।’ मिडिया उनको गजबको ‘प्यासन’ बनिसकेको थियो । काठमाडौंमा छिरेलगत्तै सञ्चारमाध्यमको ढोका घचघचाउन सुरु गरी हाले । टेलिभिजनका भिजे हन्ट प्रतियोगिताहरूमा काठमाडौं बसाइको पहिलो वर्षमै प्रतिस्पर्धामा उत्रिए तर सफल भएनन् । त्यही वर्ष कान्तिपुर एफएममा मागिएको उद्घोषकका लागि शीर्ष २० मा नाम निकाले तर अन्तिम छनोटमा अटाउन सकेनन् । उनी गलेनन्, थाकेनन् । ०६१ सालमा उनले रेडियो सिटीमा उद्घोषक मागिएको जानकारी फर्म बन्द भइसक्ने बेलामा थाहा पाए । संयोगले उनले कसैले नभरीकन फिर्ता गरिदिन आँटेको फर्म किन्न पाए, अनि आफूले भरेर बुझाए । पछि छनोट पनि भए । उनले त्यसअघिका सारा दु:ख बिर्सिए । अझ रेडियो सिटीमा आमाको जन्मदिनमा नियुक्तिपत्र पाउँदा उनलाई सफलताको लहर नै सुरु हुन लागेजस्तो भयो । यसले काठमाडौंमा उनको मिडिया यात्रा निकै स्मरणीय बनायो ।
उनले हरेक प्रकारका कार्यक्रम चलाए । अन्तर्वार्ता, माया/ प्रेम, दाम्पत्य जीवन आदिबारे । यसैकारण राष्ट्रियस्तरमा चर्चा कमाएका धेरै कलाकार तथा व्यक्तित्वसँग उनको भेटघाट र सम्बन्ध बढ्यो । ‘कार्यक्रम राम्रो छ, तपार्इंको प्रस्तुति पनि राम्रो छ’ भनेर फिडब्याक आउन थाले । उनको गन्तव्य यति मात्रै थिएन ।
यसैबीच एउटा बिग मिडिया हाउसमा गए, आफ्नो प्रतिभा लिएर । तर, उनको त्यहाँको अनुभव तीतो रहन पुग्यो– ‘मुस्कुराएर रिजेक्ट गर्थे, इज्जतले बेइज्जत गर्थे ।’ यसैबीच नयाँ टेलिभिजनका रूपमा आउन लागेको नेसनल टेलिभिजनले आवेदन माग्यो, उनले एप्लाई गरे । अन्तर्वार्तामा पनि उनलाई बोलाइयो । ख्यातिप्राप्त कलाकार नीर शाह अन्तर्वार्ता लिन बसेका रहेछन । त्यसअघि सुपर एक्टिङ कम्पिटिसन हुँदा नीर शाह नै निर्णायकमध्येका एक थिए, जहाँ उनले सन्दीपको क्षमता राम्रोसँग बुझ्ने अवसर पाएका थिए । उनी छानिए । न्युज च्यानल भएकाले न्युजसँग सम्बन्धित काम गर्नुपथ्र्यो तर उनले आफूलाई कहिल्यै पनि न्युज रिडरका रूपमा देखेका थिएनन् । त्यसैले न्युजमै आधारित भएर उनले हास्यव्यंग्यसहित अन्य कार्यक्रम चलाए । तर, नेसनल टेलिभिजन लामो समय चल्न सकेन । अब उनी मिडियाविहीन भए ।
०००
सन्दीपले मिडिया लाइनसँगै कलाकारिता पनि छोडेका थिएनन् । कलाकार बन्ने सपना अझै ज्यूँदै थियो । ५/६ कक्षा पढ्दादेखि नै उनी स्टेजमा अभिनय गर्न उत्रन्थे । चलचित्रको पोस्टरमा झैँ आफ्नो पनि ‘भित्ता–भित्तामा’ तस्बिर झुन्डिएको सपना देख्थे । नाटक खेले, गीत पनि गाए । अरूको व्यवहार सर्लक्कै उतार्न सक्ने क्षमता उनमा थियो । निकै रौसे थिए, जन्तीमा जाँदा निकै नाच्थे । फिल्म हेर्दा, गीत बजेको समयमा कलाकारलेझैँ त्यहीँ नाचिदिन थाल्थे, अरू कसैको परबाह थिएन । प्राय: हरेक हप्ता बुबाले फिल्म हेर्न लैजाने भएकाले उनलाई अभिनयले क्रमश: तान्न थालेको थियो । नानापाटेकरको डाइलग जस्ताको तस्तै बोल्ने प्रयास गरेर रेकर्डरमा सुन्थे । साथी कसरी बोल्छ, टिचर कसरी बोल्छ, याद गर्थे रे । काठमाडौं आएपछि ०६२ सालमा भएको सुपर एक्टिङ कम्पिटिसनमा सन्दीप पनि सहभागी थिए । हिरो बन्छु भन्ने अदम्य साहस उनमा थियो । यसै क्रममा त्यतिबेलाको चर्चित शृंखला हिजोआजका कुरामा खेल्न छायांकनस्थल ढुक्थे । अभिनय गर्न आउने अरू पनि थुप्रै नवप्रतिभा निर्देशकको अनुहार ताकेर लाइनमा बसिरहेका हुन्थे । भीडमा निर्देशकका आँखा सन्दीपमाथि नै कहाँ पर्थे र ? यद्यपि उनी हारेनन् । नेसनल टेलिभिजन बन्द भइसकेको केही समयपछि उनलाई तराई टेलिभिजनले बोलायो । जहाँ उनले समसामयिक विषयमा आधारित व्यग्यात्मक कार्यक्रम ‘द फ्लप सो’ चलाए । हास्य विधा नै रोज्छु भन्ने उनमा थिएन तर सेन्स अफ ह्युमर आफूमा गज्जब भएको आत्मपहिचान भने गरिसकेका थिए । यस कार्यक्रमले निकै चर्चा बटुल्यो । धेरै ठाउँबाट एप्रिसिएट भयो । यो कार्यक्रममा आफ्नो कलाकारितासमेत उनले पस्कने अवसर पाए । यसैकारण कान्तिपुर टेलिभिजनलगायत बिग मिडियाको नजर उनमा पर्‍यो ।
त्यसअघि पनि उनले कान्तिपुरमा प्रयास नगरेका होइनन् तर सफल हुन सकेका थिएनन् । कान्तिपुरमा उनले ‘ह्वाट द फ्लप’कार्यक्रम सुरु गरे । अब उनको पहिचान थप फराकिलो बन्यो । यस कार्यक्रममा उनी साताका चर्चित समाचारलाई लिएर प्रहसनात्मक व्यंग्य गर्छन् । कलाकारदेखि नेताहरूसम्मको क्यारिकेचर दुरुस्तै उतार्छन् ।
यसले उनको कलाकारिता पक्षलाई पनि थप उचाइ दिँदै लग्यो । रेडियो सिटीमै काम गर्दा उनले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको कार्यक्रम आमामार्फत सिरियलमा डेब्यु गरिसकेका थिए । उनले सुरुको भागदेखि नै यस सिरियलमा काम गरेका थिए र कलाकारितामा उनको सुरुआत पनि राम्रो रह्यो । आमामा उनले उनले वन टेकमै ‘ओके’ सट दिए । उनलाई अहिले पनि राम्रोसँग याद छ–मह जोडीले राम्रो गर्‍यौ भन्नुभयो । त्यसपछि मह जोडीकै कार्यक्रम मदनबहादुर र हरिबहादुरमा उनले खेले । आफ्नै कार्यक्रमसँगै उनी कलाकारितामा निखारिँदै गए । ‘हाइवे’ चलचित्रमा अभिनयको अवसर पनि पाए । उनका केही फिल्म रिलिजको पर्खाइमा छन् । इलम दिक्षीतको ‘पुलबाट हेर्दा’ नाटकमा उनले गरेको अभिनयले पनि कलाकारितामा प्रशस्त सम्भावना देखाएको छ ।
०००
सन्दीपलाई सञ्चारकर्मी भइरहँदा कलाकारितामै हराइरहेजस्तो लाग्छ । कारण– अचेल उनी सञ्चारकर्मीका रूपमा आफ्नो कलाकारिता देखाइरहेका छन् । यद्यपि मान्छेले हास्यकलाकारका रूपमा आफूलाई चिन्दा दु:ख लाग्ने उनी बताउँछन् । हास्य कलाकारभन्दा आफ्नो परिचय साँघुरिएजस्तो लाग्छ रे । यद्यपि यही विधामार्फत आफू धेरै चिनिएकोमा दुइमत राख्दैनन् । ‘हँसाएर कुरा बुझाउँदा मज्जा हुन्छ । कुरा काटिमाग्नेलाई पनि मज्जा हुन्छ जस्तो लाग्छ’, हास्यविधामै बढी केन्द्रित हुनुपछाडिको रहस्य । उनी अझै धेरै गर्न बाँकी रहेको बताउँछन् । बाटामा दुई जनाले हाँसेर बाँकी दुनियाँले नचिन्दा अझै धेरै गर्न बाँकी रहेको महसुस हुन्छ रे उनलाई । अभिभावकले जहिले पनि फस्ट बन, बेस्ट बन भनेर सुझाए सन्दीपलाई । उनलाई पनि लाग्थ्यो– जुत्ता सिलाउने काम भए पनि फस्ट हुनुपर्छ र बेस्ट बन्नुपर्छ । अहिले ३० वर्षको उमेर पुगेका सन्दीपका थुप्रै सपनामध्ये एउटा स्पष्ट सपना छ– जीवनभर अनवरत रूपमा मिडिया र कलाकारितामै समर्पित भइरहने । यसका लागि उनी विश्वासको हतियार थप तिखारेर संघर्ष मैदानमा उत्रिरहेका छन्– ‘कमिटमेन्ट भएमा नसकिने केही छैन ।’

प्रतिक्रिया