धर्मराउँदो लोकतन्त्र

नेपालमा लोकतन्त्र भित्रिएको आठ वर्ष लाग्यो । आठ वर्षको यस कालखण्डमा लोकतन्त्रलाई हामीले छाम्ने र सुमसुम्याउँने काम गर्‍यौँ चिन्न सकेनौँ । ब्युँतिएको संसद्ले गणतन्त्र घोषणा गर्‍यो र संविधानसभाको निर्वाचन गरायो तर त्यो कार्य लक्ष्यमा पुगेन । अर्थात् विश्वका मुलुकहरूमा उत्कृष्ट ठहरिएको लोकतान्त्रिकपद्धति हाम्रो मुलुकमा संस्थागत हुन सकेन । २००७ सालदेखि जनताले संविधान सभाद्वारा संविधान बनोस् भन्ने चाहना राखेका थिए त्यो पूरा भएन । अहिले त्यो उत्कृष्टपद्धति यो मुलुकमा किन असफल बन्दै गइरहेको छ भन्ने प्रश्न उठिरहेको छ । शासन व्यवस्थामा लोकतन्त्रले जनतलाई शक्ति सम्पन्न बनाउँछ । अर्थात् जनताले आफैँ शासन गर्ने पद्धति लोकतन्त्र हो । जब लोकतन्त्र भाँडतन्त्रमा परिणत हुन्छ तब लोकतन्त्रले जनतलाई राहत होइन आहत पुर्‍याउँछ । विश्वका मुलुकमा विभिन्नखाले शासन व्यवस्था अपनाइएका छन् । ती शासनपद्धतिका आ–आफ्नैखाले दोष र गुण छन् । त्यसमध्ये सबै विचार, सबै दर्शन र सबै मतलाई स्वीकार गर्न सक्ने पद्धति भनेको लोकतन्त्र नै हो । लोकतन्त्रमा जनता स्वतन्त्र हुन्छन् । तर, स्वतन्त्रतालाई छाडातन्त्रमा रूपान्तरण गरियो भने त्यो नैतिकता गुमाएको लोकतन्त्रमा परिणत हुन्छ । हाम्रो लोकतन्त्र आठ वर्षको भयो । जनताको विश्वास अहिले पनि लोकतन्त्रमै छ । यस शासनपद्धतिको विकल्पमा अन्य शासनपद्धतिको कल्पना नेपाली जनताले गरेका छैनन् । तर, लोकतन्त्र संस्थागत गर्न र लक्ष्यमा पुग्न नेतृत्व पनि सक्षम हुन जरुरी छ । नेपालमा देखापरेका दलका नेता लोकतन्त्रलाई संस्थागत गर्दै दिगो बनाउन अक्षम भएकै कारणले मुलुकमा यो हविगत भित्रिएको हो भन्न अब कन्जुस्याइँ गरिरहनु पर्दैन ।
सफल नेता भएका मुलुकमा लोकतन्त्र निकै राम्ररी फस्टाएका छन् । दक्षिण अफ्रिकामा नेल्सनमन्डेला, भारतमा महात्मागान्धी र अन्य मुलुका पनि त्यागी र दूरदर्शी नेताका कारण लोकतन्त्र त्यहाँका जनताको जीवनपद्धति बन्न सकेको हो । त्यहाँ सबैको अस्तित्व सबैले स्वीकार गर्ने गरिन्छ । फरक विचारलाई सम्मान गरिन्छ र सबै मिलेर शासन गर्ने पद्धतिको विकास गरिएको छ । नेपालका नेतामा अरूको अस्तित्व नस्वीकार्ने, लोकतन्त्रमा सबैको अधिकार हुन्छ र फरक विचार पनि समेटिन्छ भन्ने सोच पलाएन । लोकतान्त्रिक शासनपद्धतिमा उत्कृष्ट विचार, कार्यसम्पादन, क्षमता र लगनशीलतामा विश्वास गरिन्छ । नेपालको नेतृत्व यी सबै विषयमा चुकेको छ । जसले गर्दा लोकतन्त्रले स्थायी हुन पाएको छैन, संविधान बनाउने विषयमै विवाद चर्किएको छ । र, संविधान बन्छ भन्ने कुनै ग्यारेन्टी छैन । यसरी विश्लेषण गर्दा नेपाली लोकतन्त्र बडो धर्मराउँदो अवस्थामा छ । कतै असफल नेतृत्वकै कारण लोकतन्त्रलाई नै दाग लाग्ने हो कि भन्ने अवस्था विद्यमान छ । यी सबैखाले शंका उपशंकाबाट देशलाई मुक्त बनाउँदै लोकतन्त्रलाई दिगो र भरपर्दो बनाउन सक्नुपर्छ ।
लोकतन्त्रमा सुशासन, कानुनी राज्य, मानवअधिकार र समाजले अंगिकार गरेका असल मूल्य, मान्यता साथै पद्धतिको जगेर्ना गरिन्छ । नेपाल त्यमसा चुकेको छ । विभिन्नखाले विचार बोकेका दलीय तत्त्वहरू लोकतन्त्रको मर्म र उद्देश्यविपरीत आफ्नै सोचअनुरूपको शासन चलाउन उद्धत छन् ।
दलीयपद्धतिलाई आत्मासात गरेका नेताहरू आपसमा मिल्न नसकेकै कारण अहिले निर्दलीय सरकार क्रियाशील छ । आफू चुनाव गराउन नसक्नेहरूले अर्काले चुनाव गराइदिन्छ र आफूहरू शासन गर्छौं भन्ने सोचिरहेका छन् । जबकि यो प्रक्रिया लोकतन्त्रलाई उपयुक्त हुने प्रक्रिया हँुदै होइन । अहिले मुलुकमा कानुनी राज्य छैन, सुशासन हराएको छ । राजनीति फोहोरको थुप्रोमा परिणत भएको छ । नेताहरू अक्षम र नालायक सावित हँुदै गएका छन् । आफूभन्दा महान् र राज्य सञ्चालन गर्न सक्ने कोही छैन भन्ने घमन्डले प्रत्येक नेतालाई रछ्यानमा पुर्‍याएको छ । यति हुँदाहँुदै पनि शासनपद्धतिको सञ्चालन गर्ने सबभन्दा उत्तम माध्याम लोकतन्त्र नै हो । यसको विकल्प केही छैन । अब लोकतन्त्रलाई स्थायित्व दिन मुलुककको हितमा प्रयोग गर्न नेतृत्व पंक्तिको चिन्तनमा परिवर्तन आउन जरुरी छ । लोकतन्त्रमा सबै दल र जनताको पंक्तिलाई स्वीकार गर्न सक्नुपर्छ । यसले मात्र लोकतन्त्रको भविष्य सुनिश्चित गर्छ ।

प्रतिक्रिया