पानी थाप्न कत्रो झन्झट

Lamahi-Paniदेउखुरी, १२ वैशाख । लमहीको बसपार्कछेउमा एउटा ‘सोता’ छ । सोतामा खानेपानीको ‘झरन’ फाल्न एउटा पलास्टिकको पाइप राखिएको छ । त्यो पाइपबाट बढी भएको पानी सोतामा खस्छ । त्यही बढी भएको पानी थाप्न पाइपवरपर चार/पाँचवटा डिब्बा चौबीसै घन्टा झुन्डिएकै हुन्छन् ।

बसपार्कमा एउटा पनि सार्वजनिक खानेपानीको धारा नभएकाले यस्तो कठिनाइ बेहोरेर बजारवासी तथा सर्वसाधारणले पानी थाप्ने गरेका छन् । ‘डोरी टाँगेर बस्न थालेको दुई घन्टा भइसक्यो, अझै भरिएको छैन,’ पानी थाप्दै गरेकी भगवता खड्काले भनिन्, ‘पानी थाप्दाथाप्दै आफैँ खस्ने डर हुन्छ ।’ भगवताले यसरी पानी थाप्न थालेको दुई वर्ष भइसक्यो । तर, अहिलेसम्म कसैले सार्वजनिक धारा बनाउने विषयमा चासो दिएका छैन । ‘सार्वजनिक धारा चाहियो भनेर आवाज उठाउन थालेको धेरै भयो तर सुनुवाइ भएको छैन,’ खड्काले भनिन् ।
सार्वजनिक धारा नभएकाले पानी खान यात्रुहरूलाई समस्या पर्ने गरेको छ । ‘बजारमा एउटा पनि सार्वजनिक धारा भेटिएन । नास्ता खाए मात्र यहाँका होटलवालाले पानी पिउन दिँदा रहेछन्, त्यसैले प्यास मेटाउन लागि नास्ता खानुपर्‍यो,’ बेला गाविसबाट लमही आएकी उर्मिला यादवले भनिन् ।
लमही नगर विकास समितिले बजार क्षेत्रमा दुईवटा सार्वजनिक धाराको व्यवस्था गर्न समितिलाई अनुरोध गरेको खानेपानी संस्थाका अध्यक्ष कर्णबहादुर बुढाथोकीले बताए । ‘लमही नगर विकास समितिले बसपार्क क्षेत्रमा रहेका स्टललाई मध्यनजर गर्दै धारा जडान गर्न अनुरोध गरेको छ,’ समितिका अध्यक्ष बुढाथोकीले भने, ‘त्यसबारेमा हामी सोच्दै छौँ ।’ दुईवटा धारा जडान गर्न कम्तीमा पनि ३२ हजार रुपियाँ आवश्यक पर्छ । पानीको महसुल पनि बुझाउनुपर्ने हुन्छ ।
लमही नगर विकास समितिका अध्यक्ष रामलाल खनालले बसपार्क क्षेत्रमा खानेपानीको धारा जडान गर्ने विषयमा स्थानीय बासिन्दा, खानेपानी संस्था र नगरविकास समितिबीच छलफल भइरहेको बताए । ‘स्थानीयले नियमित रूपमा पानीको महसुल बुझाए, धारा जडान गर्न लाग्ने शुल्क हामी मिलाउन तयार छौँ,’ समितिका अध्यक्ष खनालले भने, ‘स्थानीयले पानी प्रयोग गरेबापत नियमित महसुल बुझाउनुपर्छ ।’ स्थानीय बसपार्कवासीले भने आफूहरूले नगरविकास समितिलाई घरभाडा बुझाउने भएकाले समितिले नै पानीको व्यवस्था गर्नुपर्ने बताउँछन् ।

प्रतिक्रिया