“स्पोर्टस् एकडेमी माओवादीका कारण बनेन”

काडमाडौं, ११ वैशाख । वरिष्ठ एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हेटौंडामा बन्न आँटेको गौरीटार खेलकुद प्रतिष्ठान खेलकुदको नेतृत्व एमाओवादीले गरेका कारण नै पूरा नभएको आरोप लगाएका छन् । नेपालले गौरीटार एकेडेमी निर्माण नेपालको खेलकुद विकासमा कोसेढुंगा सावित हुने भए पनि माओवादी नेतृत्वका कारण निर्माण कार्य पूरा नभएको बताए । उनले नेपालका सबै खेलकर्मीका लागि उपयुक्त राजनीतिक दल एमाले मात्र भएको दाबी गरे । नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ६५औँ वर्षगाँठका अवसरमा नेपाल खेलकुद महासंघ (नेकोस) ले आयोजना गरेको कार्यक्रममा नेता नेपालले उक्त कुरा बताएका हुन् । नेता नेपालले एमाले नेतृत्वमा २०५१ सालमा बनेको सरकारका कामकै कारण नेपालमा कम्युनिस्टका बारे गरिने सम्पूर्ण नकारात्मक चर्चाको अन्त्य भएको पनि बताए ।

स्मरणीय छ, माओवादी नेतृत्वको गठबन्धन सरकारमा आउनुअघिसम्म जीवराम श्रेष्ठ राखेप सदस्यसचिव भएकै बेला ‘भिजन २०­–२०’ अन्तर्गत हेटौंडामा नेपालकै नमुनाका रूपमा रहने किसिमको स्पोर्टस् एकेडेमी बनाउने भनेर स्वयं माधवकुमार नेपालबाटै शिलान्यास भएको थियो ।
कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य तथा खेलकुद इन्चार्ज कर्ण थापाले खेलकर्मीको निम्त समर्पित पार्टी एमाले नै भएको र यसले मात्र खेलकर्मीको भलाइ गर्नसक्ने बताए । कार्यक्रममा वैकल्पिक केन्द्रीय सदस्य तथा नेपाल ओलम्पिक कमिटीका महासचिव जीवनराम श्रेष्ठले घोषणापत्रमै खेलकुदका बारे सबैभन्दा प्रस्ट पार्ने एमाले भएको बताए । कार्यक्रममा महासंघका अध्यक्ष पुरुषोत्तम पौडेलले आगामी संविधानसभा चुनावबाट एमाले पहिलो पार्टी बने मात्र लोकतान्त्रिक संविधान बन्ने दाबी गर्दै सबै खेलकर्मी एमालेको पक्षमा रहेको जिकिर गरे । नेकोस सचिव उपेन्द्र पौडेलले सञ्चालन गरेको कार्यक्रममा एमाले प्रतिनिधि परिषद् सदस्य निर्मल भट्टराई र अनेरास्ववियुका पूर्वअध्यक्ष रामकुमारी झाँक्रीले पनि मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा खेलकुद महासंघका साथै एमालेसम्बद्ध विभिन्न युवा संगठनका नेता एवं कार्यकर्ताको उपस्थिति थियो ।

प्रतिक्रिया