प्रचण्डलाई एमाले नदेख्ने मोतीबिन्दु लागेछ : बस्नेत

mahesh basnetकाठमाडौं, ११ वैशाख । एमालेको जनवर्गीय संगठन युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल मोतिबिन्दु रोगबाट ग्रसित भएको बताएका छन् ।

‘देशबाट एमाले सकियो, अबको चुनावमा कांग्रेससँग मात्र आफ्नो प्रतिस्पर्धा हुने’ भन्दै सोमबार बर्दियामा दाहालले दिएको अभिव्यक्तिप्रति लक्षित गरी बस्नेतले उनलाई मोतिबिन्दु भएकाले एमाले देख्न नसकेको टिप्पणी गरेका हुन् । ‘देश एमालेमय बनेको छ, यो पनि नदेख्ने प्रचण्डलाई मोतिबिन्दु भएको छ,’ बस्नेतले भने, ‘उहाँका आँखामा लागेको मोतिबिन्दुको अप्रेसन हामी गर्छौं । त्यसका लागि कमरेड प्रचण्ड आगामी चुनावसम्म पर्खिनोस् ।’
पार्टीको सभालाई सम्बोधन गर्न बर्दिया पुगेका दाहालले देशबाट एमाले सकिएको अभिव्यक्ति दिएका थिए । अखिल नेपाल महिला संघले मंगलबार प्रेस चौतारी र युवा संघको नयाँ नेतृत्वलाई गरेको सम्मान कार्यक्रममा बस्नेतले उक्त अभिव्यक्तिप्रति लक्षित गरी दाहाललाई एमाले नदेख्ने रोग लागेको बताए । ‘प्रचण्डजी अघिल्लो चुनावमा एमालेलाई मोतिबिन्दु लागेको थियो, यसपटक तपाईंलाई सरेछ, त्यसको उपचारका लागि हामी चन्दा संकलन गर्छौं,’ उनले भने ।
एमाले उपाध्यक्ष विद्या भण्डारीले यही वर्ष संविधानसभा, स्थानीय निकाय र स्ववियु चुनाव हुने सम्भावना रहेको उल्लेख गर्दै त्यसका लागि तयार हुन आग्रह गरेकी थिइन् । प्रेस चौतारी नेपालका अध्यक्ष राजेन्द्र अर्यालले लोकतान्त्रवादीलाई जिताउन अबको चुनावमा आफूहरूले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया