“संविधान निर्माणका लागि कांग्रेसको जित आवश्यक”

Sher Bd Deuba 1काठमाडौं, ११ वैशाख । कांग्रेस नेताहरूले संविधानसभा चुनावमा कांग्रेसले विजय हासिल गरे मात्र नयाँ संविधान निर्माण हुने बताएका छन् । हिंसा र विध्वंसबाट आएको एकीकृत माओवादी अघिल्लो चुनावबाट ठूलो दल बन्दा संविधान नलेखिएको वरिष्ठ नेता शेरबहादुर देउवाको भनाइ छ ।

‘माओवादीले हत्या र हिंसाबाहेक केही गरेन । दुई–दुईवटा सरकार बनाउँदा पनि उनीहरूले केही गर्न सकेनन्,’ राजधानीमा मंगलबार नेपाल विद्यार्थी संघको ४३औँ स्थापना दिवसमा आयोजित अन्तरक्रियामा देउवाले भने, ‘प्रजातान्त्रिक पार्टी कांग्रेसबाहेक अर्को नभएकाले पनि संविधान लेखनका निम्ति कांग्रेसको जित जरुरी छ ।’ कांग्रेस हार्दा संविधान नबने पनि तानाशाही संविधान बन्नबाट रोकेको उनले बताए । डर, त्रास र धम्कीका भरमा अघिल्लो चुनावबाट माओवादी ठूलो दल बन्न पुगेको जिकिर गर्दै उनले अब त्यस्तो अवस्था नरहेकाले कांग्रेसको जित निश्चित रहेको दाबी गरे ।
पार्टीका लागि भातृसंस्था महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनले कांग्रेसले संविधानसभा चुनाव जित्न स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा नेविसंघले जित्न आवश्यक रहेको धारणा व्यक्त गरे । नेविसंघमा विवाद बढ्नु र प्रभावकारी बन्न नसक्नुमा पार्टी नेतृत्वलाई मात्र दोष नदिन उनले आग्रह गरे । ‘हामीलाई मात्र दोष दिएर हुँदैन,’ उनले भने, ‘युवा नेता र विद्यार्थीलाई अवसर र चुनौती दुवै छ, त्यो तपाईंहरूले पनि बोध गर्नुपर्छ ।’
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले पनि विवाद अन्त्य गर्न नेविसंघ आपैँm तत्पर हुनुपर्ने बताए । भदौभित्र महाधिवेशन सकी मंसिरमा हुने संविधानसभा चुनावको पक्षमा वातावरण बनाउन पनि पौडेलले आग्रह गरे । लोकतन्त्र नै कांग्रेसको एजेन्डा भएको उल्लेख गर्दै उनले उग्र दक्षिणपन्थ र उग्र वामपन्थलाई रोक्न पनि कांग्रेसले चुनावमा जित्नुपर्ने बताए ।
नेविसंघका पूर्वअध्यक्षहरू विपिन कोइराला, गुरुराज घिमिरे, विश्वप्रकाश शर्मालगायत नेताले तत्काल संघको विवाद अन्त्य गरी महाधिवेशन गराउन माग गरेका थिए । गुटबन्दीका कारण संघको प्रभाव कमजोर भएको उल्लेख गर्दै उनीहरूले संघलाई सशक्त बनाउनका लागि एक ढिक्का हुन पार्टी नेतृत्वलाई आग्रह गरे ।
राधिकाले नचाइन् देउवालाई
क्याम्पस पढ्न आउनी…
चित्त बुझाउने ।
गायिका राधिका हमालले यो गीत गाउन थाल्दा नै नेता देउवालाई नाच्न आग्रह गरिन् । सुरुमा देउवाले नाच्न संकेत गरेनन् । दर्शकबाट निरन्तर आग्रह आएपछि भने देउवा नाच्न राजी भए । र, सुरु गरे कम्मर मर्काई–मकाई नाच्न । तालीले गुन्जिएको हलमा देउवाले हमालसँगै स्टेजमा उपस्थित नेताहरूसँग करिब दुई मिनेट नाँच देखाए ।

प्रतिक्रिया