औलो नियन्त्रण गर्न २६ लाख झुल नि:शुल्क बाँडिने

काठमाडौं, ११ वैशाख । सरकारले औलो रोगको उच्च जोखिममा रहेका ३१ जिल्लामा करिब २६ लाख थान कीटनाशक औषधिसहितको झुल नि:शुल्क वितरण गर्ने भएको छ ।

स्वास्थ्य मन्त्रालयले पपुलेसन सर्भिस इन्टरनेसनल (पिएसआई)को सहयोगमा औलो अतिप्रभावित क्षेत्रमा दुई वर्षको अवधिमा २५ लाख ७४ हजार ९ सय ३२ थान सुपानेट नामक झुल वितरण गर्न लागेको हो । विश्व औलो दिवसका अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. जिडी ठाकुरले यस्तो जानकारी दिएका हुन् । औलो अतिप्रभावित जिल्लाका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई यो वर्ष १४ लाख र अर्को वर्ष १० लाख ७४ हजार ९ सय ३२ थान झुल बाडिने डा. ठाकुरले बताए । उनका अनुसार ती जिल्लामा रहेका व्यक्तिमध्ये सरकारी नियमअनुसार पाँच वर्षभन्दा माथिको उमेरका दुई व्यक्तिबराबर एक झुल र स्वास्थ्य संस्थामार्फत गर्भवती अवस्थामा परीक्षण गर्न आउने प्रत्येक महिलालाई १/१ वटा झुल प्रदान गरिनेछ ।
सरकारले दुई वर्षअघिसम्म भारतीय सिमानासँग जोडिएका तराईका १३ जिल्लामा मात्र यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको थियो । औलोको प्रभाव हिमालका १० बाहेक ६५ जिल्लासम्म रहेको पाइएपछि महाशाखाले उच्च जोखिममा रहेका १३ जिल्लासहित मध्यजोखिममा रहेका १८ जिल्लामा पनि कार्यक्रम थपेर झुल वितरण गर्न थालेको हो । कम जोखिममा रहेका अन्य जिल्लामा भने विषादीयुक्त औषधि छर्कने, औषधि वितरण गर्नेलगायत कार्यक्रम गर्दै आइरहेको डा. ठाकुरले बताए ।
महाशाखाका अनुसार तराईका झापा, इलाम, मोरङ, महोत्तरी, धनकुटा, सिन्धुली, काभ्रे, नवलपरासी, बदिर्या, कैलाली, कञ्चनपुर, डडेलधुरा र बाँके जिल्लामा औलो नियन्त्रण कार्यक्रम सञ्चालन गरिँदै आएको थियो । थप १८ जिल्लामा डोटी, सुर्खेत, दाङ, कपिलवस्तु, रूपन्देही, चितवन, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही, सिन्धुपाल्चोक, उदयपुर, सप्तरी, सुनसरी, धनकुटा, पाँचथर र सिरहा छन् । यी जिल्लासहित देशका ६५ जिल्लामा ग्लोबल फन्डको सहयोगमा औलो नियन्त्रणका विशेष कार्यक्रम सन् २०१६ सम्म सञ्चालन हुनेछन् । महाशाखाका अनुसार ६५ जिल्लाका झन्डै २ करोड ५० लाख जनसंख्या औलोको जोखिममा छन् ।
सरकारले ग्लोबल फन्डको सहयोगमा औलो प्रभावित ३१ जिल्लामा २१ लाख ८६ हजार २२ थान झुल नि:शुल्क वितरण गरिसकेको छ । नेपालमा सन् २००५ मा झुल वितरण गर्न थालिएको थियो ।
डा. ठाकुरका अनुसार नेपालले सन् २०१६ सम्म अति औलोग्रसित क्षेत्रका कम्तीमा ९० प्रतिशत स्थानमा लामखुट्टे नियन्त्रणका उपाय अवलम्बन गर्ने नीति लिएको छ । त्यसैगरी, ९० प्रतिशत शंकास्पद औलो रोगीको प्रयोगशालाबाट यकिन निदान गरी ती सबैलाई प्रभावकारी उपचार गरिनेछ । सन् २०२६ मा नेपालले औलो रोग मुक्त हुने लक्ष्य लिएको उनले बताए ।
औलोको संक्रमण देखा नपरेका १० वटा जिल्लामा हुम्ला, मुगु, डोल्पा, मुस्ताङ, मनाङ, बाजुरा, रसुवा, सोलुखुम्बु, भक्तपुर र काठमाडौं छन् । तर, बढ्दो तपक्रम वृद्धिका कारण भक्तपुर र काठमाडौंमा केही रोगी देखिसकेका छन् भने बाँकी ८ हिमाली जिल्लाका पनि तल्लो भेगमा फाट्टफुट्ट रोगका संक्रमित देखिन थालेको महाशाखाले जनाएको छ ।
औलो पोथी एनोफिलिस जातको लामखुट्टेको टोकाइका कारण हुने गर्छ । यो रोग लागेपछि एक्कासि कामज्वरो आउने, अगाडि टाउको दुख्ने, हातखुट्टा तथा जोर्नी दुख्ने, अल्छी लाग्ने, मांसपेशी दुख्ने, ओठमा फोका देखिने, भोक नलाग्ने, जाडो भएर कम्प हुने र नरम वा मन्द ज्वरो आउने, टाउको असाध्यै दुख्ने, जाडो लागेर कम्प हुने, हाडजोर्नी दुख्ने, दिन बिराएर ज्वरो आउने, वाकवाकी लाग्नेजस्ता समस्या उत्पन्न हुने डा. ठाकुरले जानकारी दिए ।

प्रतिक्रिया