चोरीमा संलग्न तीन लुटेरा सार्वजनिक

रोल्पा, १० वैशाख । जिल्ला प्रहरी कार्यालय रोल्पाले डकैतीका घटनामा संलग्न ३ जना लुटेरालाई सार्वजनिक गरेको छ ।
प्रहरीले खलङगामा आज पत्रकार सम्मेलन गरेर तीन जना लुटेरालाई हतियार सहित सार्वजनिक गरेको हो । उनीहरुले फागुन–११ गते राङकोट–२, सल्लाडाँडास्थित खर्कबहादुर बिकको घरमा झण्डै दुई लाख बराबरको धनमाल लुटपाट गरेर फरार भएका थिए ।
सार्वजनिक गरिएका लुटेरामा रोल्पा राङकोट–१ का २८ वर्षीय ‘छोटु’ भनिने राजकुमार दमाई, रुकुम महत–८ का ३२ वर्षीय रणबहादुर रोका र दाङ हापुर–१ निवासी ३० वर्षीय मेघबहादुर घर्तीमगर रहेका छन् । प्रहरीले उनीहरुलाई दाङ र रोल्पाबाट सोमवार पक्राउ गरेको थियो ।
लुटेराहरुले लुटपाटमा प्रयोग गरेको एक थान रिभल्वर र रिभल्वरमा प्रयोग हुने ४ राउण्ड गोली, एक थान चक्कु, ८ सय ९० रुपियाँसमेत प्रहरीले बरामद गरेको छ ।
पाँच जनाको समूहले बिकलाई धारिलो हतियार प्रहार गरी ९० हजार नगद लुटेका थिए भने उनकी पत्नी गौसरी बिकले कानमा लगाएको डेढ तोला १ आना सुनका माडवारी र मुन्द्री पनि लुटेर लगेका थिए ।
घटनामा संलग्न अन्य दुई जना रुकुम महत–२ का ३० वर्षीय सन्तबहादुर पुन र रुकुमकै चुनबाङ–१ का १९ वर्षीय मनोज परियार अझ फरार छन् ।

प्रतिक्रिया