६२ घन्टा १२ मिनेटको

Ravi-Lamichhaneकरिब डेढ वर्षअघि मलाई पनि गिनिज बुकमा नाम लेखाउने सोच पलायो । तर, के गरेर रेकर्ड राख्ने, विषय निक्र्योल गर्न सकिरहेको थिइनँ । एउटा कुरामा चाहिँ निश्चित थिएँ– जुन विषयमा गरे पनि बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश केन्द्रमा राखेर प्रचार गर्नेछु । कारण– मैले बच्चैदेखि गौतमबुद्ध नेपालमा जन्मिएका र नेपालीको सान रहेको पढेको थिएँ तर अरू देशमा यसबारे थुप्रै भ्रम रहेको देखँे । यो कुरा मनमा बिझिरहेको थियो ।
नेपालका पक्षमा सम्पूर्ण प्रमाणहरू रहेको कुरामा पनि यसरी शंका व्याप्त हुनु जायज लागेन, त्यसैले नेपाली मन चुप लागेर बस्न मानेन । सोचेँ– हाम्रो देश ‘हाइट’ र ‘लाइट’ को भूमि हो । र, यी दुवै कुराको बढीभन्दा बढी प्रचार गर्नु जरुरी छ । सर्वोच्च हाइट (सगरमाथा) ले हामीलाई जति चिनाएको छ, लाइट (बुद्ध) ले छैन । बुद्ध र बुद्धधर्म संसारप्रसिद्ध छँदा पनि यी दुईको नेपालसँग जोडिएको यथार्थ अझै ओझेलमै छ । अझ पछिल्लो समय त नेपाल बुद्धभूमि भएको यथार्थलाई नियोजित रूपमै ढाकछोप गरेर भ्रम फैलाउने प्रयत्न पनि भएको छ । म त्यसलाई अन्त्य गर्न चाहन्थेँ । आफ्ना तर्फबाट भ्याएसम्मको प्रयास गर्न चाहन्थेँ ।
नेपाल अथाह सम्भावना बोकेको मुलुक हो । यहाँ के छैन ? हामीले प्रयोग र प्रचार गर्न नजानेका मात्र हौँ । विश्वसमुदायले हामीलाई चिन्न बाँकी छ । मनोरम प्रकृति, भौगोलिक पृथकता, विविध जनजातिका फरक–फरक सांस्कृतिक सम्पदा अनि आत्मीयतापूर्ण संस्कारहरू । यति धेरै सम्पत्ति अरू देशले कहाँ पाएका छन् र ? विकसित मुलुकमा हामी जुन वैभव देख्छौँ, त्यो त खोक्रो छ । हो, उनीहरूसँग विकास छ, पैसा छ तर मौलिक संस्कार र संस्कृति दयनीय छ । तैपनि उनीहरू खुसी छन् । हामीसँग विकासबाहेक अरू सबै कुरा छन्, बस्नलायक मुलुक छ । तर, पनि दु:खी छौँ । कारण– हामीले आफूलाई चिनाएर त्यसबापतको लाभ उठाउन सकेनौँ ।
आफ्नो कुनै पनि चिज आफूबाट टाढा हुँदा त्यसको महत्त्व झन् बढ्दो रहेछ । विदेशमा छँदा मैले पनि मातृभूमिको महत्त्व राम्ररी बुझेँ । जन्मभूमिका लागि केही त गर्नैपर्छ भनिरहन्थ्यो मनले बारम्बार । सुरुमा आफ्नो लोकप्रियता बढाउनेबारे सोच्थेँ । फेरि मनले भन्थ्यो, ‘आफ्नो मात्र होइन, देशको पनि लोकप्रियता बढाउने काम गर्नुपर्छ । ताकि विश्वभरिका मान्छेले नेपाललाई पनि चिनुन् ।’ पछिल्लो समय मसँग एउटै स्वार्थ थियो, आफ्ना तर्फबाट जन्मभूमिप्रतिको दायित्व पूरा गर्नु । व्यक्तिगत स्वार्थ अनि अरू कुनै लोभलालच थिएन । आफ्नो प्रयासले मुलुकलाई चिनाउन मद्दत गरोस् भन्ने एउटै मात्र अभीष्ट थियो ।
आफैँले गर्दै आएको कामलाई विश्वरेकर्ड बनाउने आइडिया फुर्‍यो । सबैभन्दा लामो समय टेलिभिजन कार्यक्रम सञ्चालन गरेर रेकर्ड बनाएकाहरूबारे अध्ययन गरेँ । समयावधिका हिसाबले उनीहरूलाई पछि पार्नु मेरा लागि ठूलै चुनौती थियो । तर, पनि आँट गरँे । योजना बनाएर आफन्त, साथीभाइलाई सुनाएँ । उनीहरूले हौसला दिए । विश्वास गरे– रविले योजना बनाउने मात्र होइन, पूरा पनि गरेरै छाड्छ ।
पछिल्ला दिन भारतले बुद्ध आफ्नो देशमा जन्मेको गलत प्रचार गरिरहेको थियो । त्यो भ्रम चिर्नु थियो । यसमा न्युज ट्वान्टिफोर च्यानलले मलाई ठूलो सहयोग गरिदियो । अनि सुरु भयो, कार्यक्रम सञ्चालनमार्फत विश्वरेकर्ड राख्ने मेरो अग्निपरीक्षा । साथीहरूको सहयोगमा १ सय २ जना व्यक्तिलाई अतिथि डाकेँ । सबैको साथले मेरो उद्देश्य पूरा भयो । सबैभन्दा बढी समय कार्यक्रम सञ्चालनको विश्वरेकर्ड नेपालका नाममा लेखाएरै छाडेँ । विश्वभरिका बौद्धमार्गीबीच बुद्ध र नेपालको नाता चम्किलो बनाएँ । राष्ट्रिय गौरवलाई आफूसँग जोड्न पाएँ । यसबापत मुलुकसहित म आफैँलाई पनि फाइदा भयो ।
०००
कार्यक्रम सुरु गर्दा कति अतिथिले आउन गाह्रो माने । कतिलाई बिन्ती गर्नुपर्ने अवस्था आयो । दोस्रो दिन राति मान्छे पाउनै समस्या भयो । कसलाई बोलाउनु–बोलाउनु † तर, विस्तारै अतिथिको चाप बढ्न थाल्यो । सायद सुरुमा उहाँहरूलाई लागेको हुँदो हो– ‘यस्ता कार्यक्रमले के नै हुन्छ र ? ऊ आफैँले सके रेकर्ड राख्छ, नसके जान्छ, हामीलाई के र †’ फेरि थुप्रैलाई यो मेरो व्यक्तिगत लाभका लागि मात्र गरिएको हो भन्ने लागेको हुँदो हो । सोचाइ आआफ्नै हुन्छ । तर, म आफू गम्भीर थिएँ– उद्देश्यप्रति, जहाँ लुकेको थियो मातृभूमिको प्रतिष्ठा । मेरो गम्भीरता बुझेर आइदिनुहुनेलाई धन्यवाद दिन चाहन्छु । नआउनेहरूप्रति पनि कुनै गुनासोचाहिँ छैन ।
कार्यक्रमको बीचबीचमा केही गाह्रो भयो । एउटै विषयवस्तुमा केन्द्रित भइरहनु पनि कठिनै रहेछ । एउटै प्रश्न दोहोर्‍याइरहनुपर्ने अनि उपयुक्त प्रतिप्रश्न गर्न दिमाग पनि जतिखेरै चुस्त राखिरहनुपर्ने । कति अतिथसिँगचाहिँ अब के सोध्ने भन्ने अप्ठ्यारो आइपर्‍यो । दर्शकले थाहा पाउनुभयो/भएन, मैले राम्ररी महसुस गरेको छु । त्यसैले कुनै बेला बेअर्थको प्रश्न सोधेर समय बिताउने प्रयास गरेँ । अतिथिहरूबारे सकेसम्म जानकारी भने राखेकै थिएँ, निकै अध्ययन गरेको थिएँ । कसलाई के सोध्ने, दिमागमा सेट थियो । तर, लेखेर राखेको थिइनँ । म कहिले पनि प्रश्न लेखेर राख्दिनँ, दिमागमै सेट गरेर अन्तर्वार्ता लिन जान्छु । पहिलोपटक यही कार्यक्रममा हो, मैले टेबुलमा कलम र कागज राखेको । बेलाबेला कन्ट्रोल रुममा पनि सम्पर्क गर्नुपर्ने हुन्थ्यो, अब को आउँदै छन् भनेर । यस दौरान कहिल्यै नाम नसुनेका र कल्पनै नगरेका व्यक्तित्वहरूसँग पनि साक्षात्कार गर्ने मौका पाएँ ।
जति अतिथि आउनुभयो, सबैबाट राम्रै रेस्पोन्स पाएँ । प्रश्नहरूको सहज जवाफ दिनुभयो । कतिपयले चाहिँ प्रश्न गर्ने तर उहाँहरूलाई ध्यान दिएजस्तो देखिएन भन्ने धारणा पनि राख्नुभयो । लगातार बोल्नुपर्दा एकोहोरिएर त्यस्तो भएको होला । कार्यक्रम चलाउँदा पानी एकदमै कम खाएँ । कार्यक्रम अवधिभर जम्मा पाँचपटक ट्वाइलेट गएँ । समय बढी खर्च नहोस् भनेर दौडेर जान्थेँ, दौडेरै आउँथेँ । प्राय: सुक्खा खानेकुरा खान्थेँ । काजु, गेडागुडी, पाउरोटी, स्यान्डविच, मासु, चिया–कफी । व्यवस्थापनले नै उपलब्ध गराइदिएको थियो ।
पहिलो दिन कहिले बित्ला साठी घन्टा भनेर छटपटी भएको थियो । बिस्तारै सहज हुँदै गयो । अतिथिहरूले पनि त्यस्तो माहोल बनाइदिनुभयो । प्राय: सबै अतिथिको आआफ्नै महत्त्व थियो । बौद्धधर्म र पर्यटनसँग सम्बन्धित व्यक्तिहरूको सहयोग अझ लाभकारी रह्यो । भारतीय राजदूत जयन्तप्रसादले लुम्बिनी, मायादेवी मन्दिर, आशोक स्तम्भबारे थुप्रै धारणा राखे । सोधेको थिएँ– ‘बुद्ध नेपालमा जन्मेका हुन् भन्ने विषयमा भ्रम छ, तपाईंलाई के लाग्छ ?’ उनले भने– ‘यसमा कुनै भ्रम छैन, बुद्ध नेपालमै जन्मेका हुन् ।’ उनले ‘बुद्ध नेपालमा जन्मेका हुन्’ अभियानमा हस्ताक्षर पनि गरे ।
कार्यक्रमको अन्त्यतिर उत्साह अझ बढेको थियो । किनकि टार्गेट नजिकिँदै थियो । र, पनि कतिखेर सकिएला भनेर आत्तिएको थिइनँ । त्यसैले त साठी घन्टाको टार्गेट भए पनि बैसट्ठी घन्टा बाह्र मिनेट चल्यो कार्यक्रम । समय सकिएपछि पनि अतिथि बाँकी भएकाले निरन्तरता दिएँ । हरेक घन्टामा पाँच मिनेट ब्रेक पाउने नियम हुन्छ तर त्यो पनि लिइनँ । यो मेरो पहिलो उपलब्धि हो । अझै धेरै गर्न बाँकी नेपालका नाममा । अब छिट्टै ‘विश्वले चिन्नेछ नेपाल’ नामक कार्यक्रम गर्ने योजनामा छु ।
कार्यक्रम सफल भए पनि यति धेरै चर्चा र माया पाउँला भन्ने लागेको थिएन । कार्यक्रम सकिँदा धेरै मान्छे मलाई स्वागत गर्न स्टुडियोबाहिर बसेका रहेछन् । त्यो दृश्यले भावविह्वल बनायो । मान्छे राति पनि टिभी हेर्थे । स्टुडियोमा देशविदेशबाट फोन आउँथ्यो । शुभकामना दिनेहरू सयौँ थिए । जति पछि भयो, मलाई उति नै ठीक विषय छानेछु भन्ने लाग्यो । कार्यक्रम चलाएर विश्वरेकर्ड राख्नुभन्दा त्यसभित्र लुकेको उद्देश्य ठूलो हो । नत्र त अरू विषयमा पनि त कार्यक्रम चलाउन सक्थेँ नि † त्यसका लागि राष्ट्रिय गौरव बुद्धजन्मभूमिलाई विषय बनाएँ, यसमा अपार सन्तुष्टि मिलेको छ ।
राति १ बजेर ३० मिनेटमा कार्यक्रम सकियो । तैपनि ‘कतिखेर त्यहाँबाट निस्किऊँ’ भएको थिएन । कार्यक्रम सकिएपछि फोटो खिच्ने कार्यक्रम लामै समय चल्यो । यति बेलाचाहिँ केही थकान महसुस भयो, घर पुगेर ओछ्यानमा लडौँजस्तो भयो । त्यहीँ उपलब्ध सामान्य खाना खाएर केही बेर आराम गरेँ । घर आइपुग्दा तीन बज्यो ।
कार्यक्रम सोचेभन्दा बढी राम्रो भयो । मैले विश्वरेकर्ड बनाएँ । तर, मलाई साथ दिने र सहयोग गर्ने साथीहरू भन्दै थिए, ‘विश्वरेकर्ड राख्ने अभियानमा देशभित्रबाट जुन महत्त्वसाथ प्रचार गरिनुपर्ने हो, त्यो भएन । अन्तर्राष्ट्रिय माध्यमले जति प्रमुखता दिए, नेपाली सञ्चारमाध्यमले दिएनन् ।’ तर, मलाई कुनै गुनासो छैन । फेरि मैले त आफ्नो दायित्व पूरा गरेको हुँ, कुनै चमत्कार होइन । त्यसैले दम्भ पनि छैन । जसले जसरी बुझ्नुभयो, त्यसैगरी लिनुभयो होला । तर, अहिले म विदेशी सञ्चारमाध्यममा दिनहुँजसो अन्तर्वार्ता दिइरहेको छु । उनीहरू मेरो आवाजमार्फत नेपाललाई महत्त्व दिइरहेका छन् । बुद्धजन्मभूमिलाई महत्त्व दिइरहेका छन् । यसर्थ यो मेरो मात्र होइन, हामी सबैको साझा उपलब्धि हो । अहिले फोन रिसिभ र अन्तर्वार्ता दिँदैमा फुर्सद छैन । एउटै कुरा सबैसँग दोहोर्‍याइरहनुपरेको छ । त्यसैले अहिलेचाहिँ कार्यक्रम सञ्चालन गर्दाभन्दा बढी थकान महसुस हुँदै छ ।
प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया